पेट्रोलियम पर्दाथकाे मूल्य, कर घटाएको कि डर हटाएको ?



काठमाडौं । चौतर्फी दबाबमा सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । प्रतिलिटर पेट्रोलमा २० र डिजलमा २९ रुपैयाँ घटाएको हो । नेपाल आयल निगमले गत ५ असारको मध्यरातमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

निगमले एकैचोटि पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेलमा २७ रुपैयाँले बढाएको थियो । एकै पटक पेट्रोलियम पदार्थमा धेरै मूल्य बढाएर जनतालाई महँगीको मारमा पारेको भन्दै सरकारलाई चौतर्फी दबाब आएपछि सरकारले पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा लगाइरहेको करलाई कम गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी दिएका छन् । शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री बडूले सो जानकारी गराएका हुन् । मन्त्री बडूले पेट्रोलियम पदार्थमा लिँदै आएको कर कम गरी पेट्रोल र डिजेलको मूल्य घटाएको बताए । तर, उनले कुन शीर्षकमा कति कर कम गरेको हो भन्ने प्रष्ट पारेनन् ।

मन्त्री बडूले पेट्रोलियम पदार्थको सरकारले लिने कर घटाएर अहिलेको पेट्रोलको बिक्री मूल्य १९९ बाट २० रुपैयाँ घटाएर १७९ रुपैयाँ र डिजेलको बिक्री मूल्य १९२ बाट २९ घटाएर १६३ रुपैयाँ पु¥याएको जानकारी दिए । उनले सो मूल्य शनिबार राति १२ बजेदेखि कार्यान्वयनमा आउने बताए । मन्त्री बडूले शनिबार बसेको मन्त्रिपरिषद्को बैठकबाट पेट्रोलियम पदार्थमा लिने गरेको कर घटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय भएको जानकारी दिए ।

शुक्रबार संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको ५० प्रतिशतले कर घटाउन निर्देशन दिएको थियो । निगमका अनुसार सरकारले अहिले पेट्रोलियम पदार्थबाट विभिन्न ७ वटा शीर्षकमा कर लिँदै आएको छ ।

भन्सार कर, सडक मर्मत सम्भार कर, प्रदूषण कर, पूर्वाधार कर, मूल्य अभिवृद्धि कर र मूल्य स्थिरीकरण कोष शुल्क गरी ७ वटा शीर्षकमा कर लिने गरेको छ । विभिन्न ७ वटा शीर्षकबाट प्रतिलिटर पेट्रोलमा ६५ रुपैयाँ ६१ पैसा कर लिने गरेको छ भने डिजेलबाट ४९ रुपैयाँ ५३ पैसा कर लिने गरेको छ ।

यसैगरी मट्टीतेलमा प्रतिलिटर १३ रुपैयाँ ९५ पैसा, आन्तरिक हवाई इन्धनमा २५ रुपैयाँ ७५ पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धनमा २ रुपैयाँ ३९ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर ३२० रुपैयाँ ८४ पैसा कर लिने गरेको छ ।
पेट्रोलमा प्रतिलिटर भन्सार शुल्क २५ रुपैयाँ २३ पैसा, सडक मर्मत कर ४ रुपैयाँ, पूर्वाधार कर १० रुपैयाँ, मूल्य अभिवृद्धि कर २२ रुपैयाँ ८९ पैसा र मूल्य स्थिरीकरण कोष कर १ रुपैयाँ ९९ पैसा गरी जम्मा ६५ रुपैयाँ ६१ पैसा लिने गरेको छ ।

यस्तै, डिजेलबाट प्रतिलिटर भन्सार कर १२ रुपैयाँ ३ पैसा, सडक मर्मत सम्भार शुल्क २ रुपैयाँ, प्रदूषण शुल्क १ रुपैयाँ ५० पैसा, पूर्वाधार कर १० रुपैयाँ, मूल्य अभिवृद्धि कर २० रुपैयाँ ०९ पैसा र मूल्य स्थिरीकरण कोष शुल्क १ रुपैयाँ ९२ पैसा गरी जम्मा ४९ रुपैयाँ ५३ पैसा कर लिन्छ ।

सरकारले आर्थिक वर्ष २०६५\०६६ देखि आर्थिक ऐनबमोजिम वातावरण प्रदूषण नियन्त्रण तथा रोकथामका नाममा पेट्रोल र डिजेलमा शुल्क उठाउन थालेको हो । सरकारले आर्थिक वर्ष २०६५-०६६ देखि आर्थिक ऐनबमोजिम वातावरण प्रदूषण नियन्त्रण तथा रोकथामका नाममा पेट्रोल र डिजेलमा शुल्क उठाउन थालेको हो । सुरुमा सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर ५० पैसा मात्र उठाउने गरेको थियो ।

सरकारले आर्थिक वर्ष २०६५\०६६ मा काठमाडौं उपत्यकाभित्र बिक्री वितरण हुने पेट्रोल र डिजेलमा प्रतिलिटर ५० पैसा प्रदूषण नियन्त्रण शुल्क उठाउन सुरु गरेको थियो ।

त्यसको १ वर्षपछि आर्थिक वर्ष २०६६\०६७ देखि देशभरि नै बिक्री वितरण हुने पेट्रोल र डिजेलमा प्रतिलिटर ५० पैसा शुल्क प्रदूषण नियन्त्रण तथा रोकथामका नाममा उठाउन थालियो । आर्थिक वर्ष २०७४\०७५ मा सरकारले डिजेल र पेट्रोलमा उठाउँदै आएको प्रतिलिटर ५० पैसाबाट १ रुपैयाँ बढाएर १ रुपैयाँ ५० पैसा पुर्‍याएको हो ।

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि पेट्रोल र डिजेलमा ५ रुपैयाँ पूर्वाधार विकास कर लिन थालेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७२\०७३ को बजेटमा पूर्वाधार विकास कर दिने व्यवस्था मिलाएका थिए । पछि सो शीर्षक परिर्वतन गरेर आर्थिक वर्ष २०७४\०७५ देखि पूर्वाधार विकास कर लिन थालिएको थियो ।

आर्थिक वर्ष २०७७\०७८ को बजेट वक्तव्यमार्फत सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर भन्सार शुल्कमा ५ रुपैयाँबाट वृद्धि गरी पूर्वाधार विकास करमा १० रुपैयाँ बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्