वित्तीय संस्थाका अध्यक्ष र सीईओको उमेरहद सम्बन्धमा राष्ट्र बैंक सञ्चालक समितिभित्र विवाद



काठमाडौं : बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र सीईओको उमेरहद सम्बन्धमा जारी गरेको परिपत्रका विषयमा नेपाल राष्ट्र बैंक सञ्चालक समितिभित्र बिवाद उत्पन्न भएको छ । राष्ट्र बैंकले गत आइतबार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत कार्य्विधि, २०७५ लाई संशोधन गर्दै नयाँ उमेर हद तोकेको थियो  ।

राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाअनुसार अब ६५ वर्ष उमेर नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त वा पुनर्नियुक्त हुन पाउने छैन । यसअघि नै सीईओ नियुक्त भइसकेको भए ६९ वर्षसम्म मात्रै काम गर्न पाउनेछ ।

६९ वर्ष नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको सीईओ पदमा बहाल रहन नसक्ने राष्ट्र बैंकले व्यवस्था गरेको हो ।यसैगरी राष्ट्र बैंकले बैंक सञ्चालकका लागि पनि उमेर हद तोकेको छ । जसअनुसार सञ्चालक पदमा निर्वा्चित हुनका लागि अधिकतम उमेर ७० वर्ष हुनुपर्छ ।

यसअघि नै सञ्चालक भइसकेको भए ७४ वर्ष पुगेपछि पद त्याग्नु  पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने उमेर हदका विषयमा कुनै बिवाद नरहेको दावी गरे । उमेर हद तोकेर जारी गरिएको परिपत्र कार्यान्वयन समेत भइसकेको भन्दै उनले तत्कालै परिपत्र फिर्ता हुने सम्भावना नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्