नाराले जिस्काउँदै राज्यलाई, ११ महिनामा साढे ३० अर्बको चामल आयात



काठमाडौं । ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’, यो सरकारको नारा हो । कति सुन्दर र आशालाग्दो छ नारा ! कृषि नै मुख्य स्रोत भएको नेपालका लागि यति सुन्दर नाराले कृषकलाई उसै पनि उत्साहित बनाउने नै भयो । अझ धान बालीमा यहीँका जैविक विविधताको उपयोग गरेर उत्पादनमा वृद्धि गर्ने लक्ष्य पनि यस नाराबाट प्रष्ट हुन्छ । उत्पादनमा वृद्धि हुनुले बढी धान निर्यात गर्ने अवस्था अवश्य हुन्छ, जसले हाल आयातमा भरपर्नुपर्ने हाम्रो बाध्यता हट्छ ।

तर, दुर्भाग्य ! हरेक वर्ष यस्तै चोटिला, पोटिला, आशालाग्दा नारा ल्याउँछ सरकार अनि त्यसको कार्यान्वयन गर्ने बेलामा सबै भुल्छ । नारा के थियो, नीति तथा कार्यक्रममा के भनिएको थियो, बजेटमा कसरी विनियोजन गरिएको छ, यी आदि कुराहरूलाई फर्किएर हेर्ने फुर्सद सरकारलाई हुँदैन ।

सरकारले हरेक वर्ष १५ असारमा राष्ट्रिय धान दिवस मनाउँदै आएको छ । हरेक वर्ष सरकारले राष्ट्रिय धान दिवसमा एउटा नयाँ नारासहित तामझामका साथ धान दिवस मनाउने गरेको छ । २०६१ साल अर्थात् सन् २००४ मा संयुक्त राष्ट्रसङ्घले ‘धान नै जीवन हो’ भन्ने नारासहित सो वर्षलाई धान वर्ष घोषणा गरेको थियो ।

राष्ट्र सङ्घले धान वर्ष घोषणा गरेपछि २९ मंसिर २०६१ मा मन्त्रीस्तरीय निर्णय गरी पहिलो पटक १५ असार २०६२ मा नेपालमा धान दिवस मनाइयो । तत्कालीन कृषिमन्त्री होमनाथ दाहाल थिए ।

यस पटक सरकारले राष्ट्रिय धान दिवसको मूल नारा ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ तयार पारेको छ । अघिल्लो वर्ष सरकारले धान दिवसको नारा ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ राखेको थियो ।

सरकारले हरेक १५ असार अर्थात् धान दिवसमा आकर्षक नारा तयार पारी धुमधामका साथ धान दिवस मनाइरहेको छ । सोअनुसार धान उत्पादन र धान आयातमा परिर्वतन आएको भने देखिँदैन ।

१५ असारमा नारासहित १९औँ राष्ट्रिय धान दिवस मनाउँदै गर्दा पनि राज्यले कृषकलाई धान बाली लगाउँँदा अत्यावश्यक साधन, स्रोत उपलब्ध गराउन सकेको छैन । राज्यले तयार पारको नारालाई साकार गर्न कृषकका लागि आवश्यक आधारभूत सेवासमेत दिन नसक्ने सरकारले धान दिवसमा आकर्षित नारा तयार पारी राष्ट्रिय धान दिवस मनाउनुको कुनै अर्थ नभएको कृषिविद् भैरवराज कैनी बताउँछन् ।

कैनी भन्छन्, ‘सरकारले राष्ट्रिय धान दिवसका नारा बनाएर होइन, किसानको समस्यालाई समाधान गर्नु आवश्यक छ । किसानका समस्यालाई समाधान नगरेसम्म धान दिवसमा जति आकर्षक नारा लगाए पनि केही हुनेवाला छैन ।’
उनले अहिले किसानलाई चाहिने भनेको गुणस्तरीय बिउ–बीजन, रासायनिक मल, सिँचाइ र उपयुक्त प्रविधि भएको बताए । राज्यले कृषकलाई उत्पादन बढाउन अहिलेसम्म दिन सकेको छैन । त्यस कारण गुणस्तरीय बिउ–बीजन, रासायनिक मल र सिँचाइ तथा उपयुक्त प्रविधि कृषकलाई उपलब्ध नगराएसम्म सरकारका आकर्षक नाराको औचित्य नभएको कृषिविद् कैनीको भनाइ छ ।

कृषक समूह महासङ्घ नेपालका पूर्वअध्यक्ष उद्धव अधिकारी भन्छन्, ‘कृषकलाई सामान्य स्रोत, साधन उपलब्ध गराउन नसक्ने सरकारले आकर्षक नारा तयार गरी राष्ट्रिय धान दिवस मनाउनु औचित्यहीन हो । अहिले कृषकले धान बाली लगाइरहँदा रासायनिक मल, बिउ नपाइरहेको अवस्था छ ।’

सरकारको नाराले कृषकलाई मात्र नभई सरकारलाई नै गिज्याइरहेको अधिकारीको भनाइ छ । नारा बनाउँदै गर्दा राज्यले नाराप्रति जबाफदेही हुनुपर्नेमा सरकार स्वयं लाचार हुँदा सरकारले तयार गरेका नारा नै अर्थहीन भएका उनले बताए ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पछिल्लो समय धान उत्पादन बढेको दाबी गर्दै आए पनि बाहिरबाट आयात हुने चामल भने कम हुन सकेको छैन । झन् बर्सेनि बढ्दै गएको छ । भन्सार विभागको पछिल्लो ११ महिनाको तथ्याङ्कअनुसार धानको बिउ र चामल गरी ३० अर्ब ६३ करोड ८८ लाख ६४ हजार रुपैयाँको चामल आयात भएको छ ।

यसैगरी बिउ–बीजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार चालू आर्थिक वर्ष २०७८÷०७९ मा धानको बिउ मात्र १ अर्ब १७ करोड ११ लाख २ हजार ६८८ रुपैयाँको आयात भएको छ । कृषि मन्त्रालयका अनुसार धान बालीका लागि रासायनिक मल १ लाख मेट्रिक टन आवश्यक पर्छ तर अहिले राज्यसँग कृषकलाई रासायनिक मल दिन मल भण्डारण नै छैन ।

प्रतिक्रिया दिनुहोस्