काठमाडौं हैजाको जोखिममा



  • डा. केदार कार्की

काठमाडौं । मनसुन सुरु भएपछि बर्सेनि झाडा–पखाला, आउँ, हैजा, टाइफाइड, स्क्रबटाइफस, पेटसम्बन्धी र अन्य सरुवा रोगको समस्या देखिने गरेको छ। अधिकांश व्यक्तिहरू झाडा–पखाला लाग्दा फार्मेसीबाट औषधि किनेर खाने र निको नभएपछि मात्र अस्पताल आउने गरेका छन् । काठमाडौंमा थुप्रिएको फोहोर समयमै नउठ्दा पनि झाडा–पखाला, हैजालगायत सरुवा रोगको जोखिम बढाउने गरेको स्वास्थ्य विज्ञहरू बताउँछन् ।

यसअघि अव्यवस्थित फोहोरका कारण हैजालगायत सरुवा रोग फैलाउने चेतावनीसमेत उनीहरूले दिँदै आएका थिए। काठमाडौंमा २ जनामा हैजा पुष्टि भएको छ। केही दिनअघि बागबजारस्थित २ दिदी–बहिनीमा हैजा पुष्टि भएको हो। स्वास्थ्य अवस्था जटिल भएपछि उनीहरू उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आईसीयूमा बिहीबार भर्ना भएका थिए। र्‍यापिड टेस्टमा पोजिटिभ आए पनि उनीहरू दुवै जनाको दिसाको कल्चर गरिएको थियो। दिसाको कल्चर गरेपछि आउने नतिजालाई आधिकारिक र स्तरीय मानिन्छ ।

हाल उनीहरूको अवस्था सामान्य रहेको जानकारी दिइएको छ। काठमाडौंमा झाडा–पखाला र हैजाका बिरामी देखिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तयारी अघि बढाएको छ। हैजा पुष्टि भएपछि महाशाखा, काठमाडौं महानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र विश्व स्वास्थ्य सङ्गठनको आकस्मिक बैठकसमेत बसेको थियो। सोमबारदेखि नै हैजासम्बन्धी जनचेतना बढाउने, पानीको गुणस्तरको अनुगमन गर्ने, अस्पतालहरूमा झाडा–पखाला तथा हैजाको अनुगमन अघि बढाएको छ।

हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियाको कारणले हुने सानो आन्द्राको सङ्क्रमण भन्ने बुझिन्छ। नेपाली बृहत् शब्दकोशमा यसलाई तारन्तार दिसा र वमन भइरहने एक सङ्क्रामक रोग भनेर लेखिएको छ। यसका लक्षणहरू कुनै पनि नदेखिनेदेखि मध्यम हुँदै गम्भीरसम्मका हुन्छन् । केही दिनसम्म निरन्तर तथा ठूलो मात्रामा पातलो दिसा लाग्नु यस रोगको प्रमुख लक्षण हो। बान्ता हुने तथा मांसपेसी बाउँडिने समस्या पनि देखिन सक्छ। हैजाका कारण लाग्ने पखालाले केही घन्टाभित्रै गम्भीर जलवियोजन तथा इलेक्ट्रोलाइटको असन्तुलन गराउँछ।

यसका कारण आँखा गढ्ने, छाला चिसो हुने, छालाको लचकतामा कमी आउने तथा हात–गोडा चाउरी परेर जाने पनि हुन सक्छ । शरीरमा भएको जलवियोजनका कारण छाला नीलो भएर जान सक्छ । हैजाको कीटाणु शरीरमा प्रवेश गरेको २ घन्टादेखि ५ दिनसम्ममा लक्षणहरू देखिने गर्छन् । हैजा विभिन्न प्रकारका भिब्रियो कलेरा ब्याक्टेरियाका कारण हुने रोग हो । केही ब्याक्टेरियाले अत्यन्तै कडा खालका रोग लगाउने गर्छन् । यो रोग प्रायः भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिसाको सम्पर्कमा आएको पानी तथा खानाका कारण सर्ने गर्छ।

राम्रोसँग नपाकेको समुद्री खाना यस ब्याक्टेरियाको मुख्य स्रोत हो । हैजाले मानिसहरूलाई मात्र असर पुर्‍याउँछ। सरसफाइको अभाव, सफा पिउने पानीको अभाव तथा गरिबीले यसको जोखिमलाई बढाउने गर्छन् । समुद्री सतह बढ्यो भने पनि हैजाको सङ्क्रमण दर बढ्छ भन्ने विश्वास गरिन्छ। दिसाको परीक्षण गरेर हैजाको पहिचान गर्न सकिन्छ। दिसामा एक विशेष किसिमको छडी डुबाएर परीक्षण गरिने र्‍यापिड डिपस्टिक टेस्ट पनि उपलब्ध छ तर यसले भरपर्दा नतिजा दिँदैन ।

हैजाबाट बच्न सरसफाइ तथा सफा पिउने पानीको व्यवस्था गर्नु आवश्यक छ। बच्चा ६ महिनाको भएपछि हैजाविरुद्धको खोप मुखबाट खुवाइन्छ। यस्तो खोपले ई कोलाई नामको ब्याक्टेरियाका कारणले हुने झाडा–पखालाबाट समेत बचाउँछ। हैजाको प्राथमिक उपचारका लागि पानी वा तरल पदार्थ खुवाएर ओरल रिहाइड्रेसन थेरापी गरिन्छ। यस्तो उपचारमा हल्का गुलिया तथा नुनिला घोलहरू, जस्तैः नुन–चिनी–पानी, जीवन जल खुवाएर दिसामा खेर जाने तरल पदार्थको सट्टाभर्ना गरिन्छ।

यस्तो बेलामा चामलबाट बनेका झोल खानेकुराहरू राम्रा मानिन्छन्। जटिल अवस्थाहरूमा रिन्जर्स ल्याक्टेट जस्ता नसाबाट दिइने तरल पदार्थहरू प्रभावकारी हुन्छन् भने एन्टिबायोटिक औषधिको प्रयोग पनि लाभदायक हुन सक्छ । बालबालिकाहरूलाई जिंक चक्की खुवाउँदा लाभदायक हुन्छ। बिरामीको शरीरमा भएका ब्याक्टेरियालाई कुन एन्टिबायोटिकले मार्न सक्छ भन्ने जाँचेर कुन औषधि दिने भन्ने निर्णय गर्नु प्रभावकारी हुन्छ । सन २०१० को एक तथ्याङ्कअनुसार प्रत्येक वर्ष विश्वभर ३० देखि ५० लाख मानिसहरू हैजाबाट प्रभावित हुन्छन् भने यसका कारण ५८ हजारदेखि १ लाख ३० हजार मानिसको मृत्यु हुने गर्छ ।

हाल यसलाई विश्वभर फैलिएको रोगको रूपमा वर्गीकरण गरिएको भए पनि विकसित देशहरूमा हैजाका बिरामीहरू बिरलै भेटिन्छन् । यस रोगबाट प्रायजसो बालबालिकाहरू प्रभावित हुने गर्छन् । हैजा महामारीको रूपमा अचानक देखिने तथा कुनै निश्चित स्थानमा लामो अवधिसम्म रहिरहने खालको पनि हुन्छ। हाल अफ्रिका तथा दक्षिणपूर्वी एसियाका केही क्षेत्रहरू हैजाको जोखिममा छन्। प्रायः यस रोगबाट प्रभावितमध्ये ५५ प्रतिशतभन्दा कम मानिसको मृत्यु हुने भए पनि उपचारको पहुँच नभएका मानिसहरूको समुदायमा यस्तो मृत्युदर ५० प्रतिशतसम्म पुगेको पाइन्छ ।

हैजाको इतिहास हेर्दा इसापूर्वको पाँचौँ शताब्दीमै संस्कृतमा यसको वर्णन गरिएको पाइन्छ। सन् १८४९ देखि १८५४ का बीचमा जोन स्नोले गरेको हैजासम्बन्धी अध्ययनले यस्ता रोगको सङ्क्रमण, वितरण तथा रोगबाट बच्ने उपायहरूका बारेमा गरिने अध्ययनको क्षेत्रमा नयाँ आयाम थप्यो। हैजा मुख्यतया सरसफाइको अभावका कारण हैजा लागेको मानिसको दिसा मिसिएर प्रदूषित भएको खाना वा पानीबाट मानिसमा सर्ने गर्छ । साधारणतया एक वयस्क मानिसलाई हैजा लाग्न करिब १० करोड ब्याक्टेरिया खाना, पानी वा अन्य माध्यमबाट शरीरमा प्रवेश गर्नु आवश्यक छ।

यद्यपि, आमाशयको अम्लीयपन घटाइएका मानिसहरूमा, जस्तैः प्रोटोन पम्प इनहिबिटर प्रयोग गरिरहेका मानिसहरूमा, भने यो मात्रा कम भए पनि रोग लाग्न सक्छ। बालबालिकाहरूमा पनि यो रोग सजिलै लाग्न सक्छ । विशेषगरी २ देखि ४ वर्षका बालबालिकाहरूमा अत्यधिक सङ्क्रमण भएको पाइन्छ। मानिसको हैजा रोग लाग्ने क्षमता उसको रगतको समूहबाट पनि प्रभावित हुन्छ। रगत समूह ओ भएका मानिसहरूलाई यो रोग लाग्ने सम्भावना धेरै हुन्छ। एड्स लागेका मानिसहरू वा कुपोषणको सिकार भएका बालबालिकाहरूमा यस रोगको सङ्क्रमण भयो भने यसले कडा रूप लिन सक्छ।

हैजाको कीटाणु मानिसबाहेक अन्य २ जीव सेलफिस (शङ्खेकीरा) तथा प्लाङ्कटनमा पाइएको छ। हैजा साधारणतया किटाणुयुक्त खाना वा पानीबाट मानिसमा सर्ने गर्छ । विकसित देशहरूमा हैजा प्रदूषित खानाका कारणले लाग्ने गर्छ भने विकासोन्मुख देशहरूमा प्रायः पानीका कारणले यो रोग सर्ने गरेको पाइन्छ । खानेकुराबाट हैजा सर्नुमा ढलको पानी मिसिएको ठाउँबाट निकालिएका शङ्खेकीराहरूको मुख्य भूमिका रहन्छ।

हैजाका किटाणुहरू जुप्लाङ्टनमा थुप्रिने गर्छन्, जुन शङ्खेकीराहरूको मुख्य आहार हो। यस्ता कीराहरू काँचै खाइने हुनाले सङ्क्रमणको सम्भावना अत्यधिक रहन्छ । हैजा लागेका मानिसहरूलाई प्रायः पखाला लाग्ने गर्छ । पानीजतिकै पातलो झोल दिसा यदि अरूले प्रयोग गर्ने पानीमा मिसियो भने यो रोग सर्ने सम्भावना हुन्छ । साधारणतया यस रोगको स्रोत हैजा लागेका बिरामी नै हुने गर्छन् । यदि रोगीको दिसा सिधै जमिनमुनिको पानी वा खानेपानीको स्रोतमा मिसियो भने हैजा फैलिन सक्छ ।

प्रदूषित पानी, यस्तो पानीमा पखालिएको खानेकुरा वा प्रदूषित पानीबाट निकालिएका शङ्खेकीराहरू खानाले मानिसलाई हैजाको सङ्क्रमण हुन सक्छ। यो रोग मानिसबाट मानिसमा सिधा सरेको बिरलै पाइन्छ । हैजाका मुख्य लक्षणहरू ठूलो मात्रामा पानी जस्तै पातलो पखाला लाग्नु तथा वान्ता हुनु हुन् । प्रायजसो यी लक्षणहरू शरीरमा ब्याक्टेरिया छिरेको आधा दिनदेखि ५ दिनभित्र अचानक देखापर्छन् । हैजाका कारणले हुने पखाला चौलानी जस्तै सेतो हुने हुनाले यसलाई अंग्रेजीमा ‘राइस वाटर’ भनिन्छ। यस्तो पखालाको गन्ध माछाको गन्ध जस्तै हुन्छ ।

उपचार नगरिएको बिरामीले दिनभरमा १० देखि २० लिटरसम्म पखाला गर्न सक्छ। यदि गम्भीर खालको हैजाको उपचार गरिएन भने यसले मानिसको मृत्यु नै हुने गरी जलवियोजन तथा इलेक्ट्रोलाइटको असन्तुलन गराउँछ । उपचार नगरिएको कडा खालको हैजाले सङ्क्रमितमध्ये करिब आधाजति मानिसलाई मृत्युको मुखमा पुर्‍याउँछ । हैजा लागेका सय मानिसहरूमध्ये लगभग ३ जनालाई लक्षण नदेखाउने खालको सङ्क्रमण हुने सम्भावना हुन्छ । यो रोग लागेको बेलामा तरल पदार्थको अत्यधिक अभावका कारण बिरामीको शरीर नीलो हुँदै जाने भएकाले यसलाई ‘नीलो काल’ (ब्लु डेथ) पनि भन्ने गरिन्छ। प्रायजसो हैजाको कारणले ज्वरो आउँदैन ।

यदि ज्वरो आइहाल्यो भने थप सङ्क्रमण भएको हुन सक्छ । बिरामीहरू अत्यन्तै कमजोर हुन्छन् । त्यस्तै, आँखा गढ्ने, मुख सुक्ने, छाला चिसो र ओसिलो हुने, छालाको लचकतामा कमी आउने वा हातगोडा चाउरी पर्ने जस्ता लक्षणहरू पनि देखिन्छन् । दिसामा बाइकार्बोनेट बाहिरिने हुनाले एसिडोसिस भएर लामोलामो सास फेर्ने तथा सास फेर्न गाह्रो हुने समस्या पनि देखापर्न सक्छ। तरल पदार्थको अभावका कारण आन्तरिक बहाव प्रभावित भई ल्याक्टिक एसिडोसिस हुन सक्छ । जलवियोजनका कारण रक्तचाप घट्छ, नाडी छिटोछिटो चल्छ तर महसुस गर्न गाह्रो हुन्छ। समयसँगै पिसाबको मात्रा घट्दै जान्छ । शरीरमा इलेक्ट्रोलाइटको अभाव तथा आयोन सिफ्टका कारण विशेषगरी बालबालिकाहरूमा मांसपेसी बाउँडिने तथा कमजोरी हुने, बेहोस हुने, सिजर वा कोमामा जानेजस्ता लक्षणहरू देखिन्छन्।

मानिसको दिसामा भिब्रियो कलेराको उपस्थिति जाँच गर्न र्‍यापिड डिपस्टिक टेस्ट पनि उपलब्ध छ । यदि दिसामा ब्याक्टेरिया पाइयो भने ती ब्याक्टेरियामा एन्टिबायोटिक प्रतिरोध क्षमता भए/नभएको पत्ता लगाउन थप परीक्षणहरू गरिन्छ । महामारीको समयमा बिरामीको इतिहास तथा सामान्य स्वास्थ्य परीक्षणबाट नै रोग पहिचान गरिन्छ । साधारणतया प्रयोगशाला परीक्षण नगरी वा गरे पनि नतिजा नआउँदै उपचार सुरु गरिन्छ। प्रयोगशाला परीक्षणका लागि दिसाको नमुना सङ्कलन गर्दा रोग कडा स्थितिमा पुगेको बेलामा एन्टिबायोटिक औषधि खुवाउनुभन्दा पहिला गरेमा उपयुक्त हुन्छ । हैजाको महामारी भएको शङ्का लागेको अवस्थामा मुख्य कारक एजेन्ट भिब्रियो कलेरी ओ–वान हुने गर्छ ।

यदि भिब्रियो कलेरी ओ–वान छुट्टिएन भने उक्त नमुनालाई भिब्रियो कलेरी ओ–वान–थ्री–नाइनका लागि परीक्षण गरिनुपर्छ । त्यस्तै, यदि यी दुवै किटाणुहरू छुट्टिएनन् भने दिसाको नमुनालाई रिफरेन्स प्रयोगशालामा पठाउनुपर्छ । भिब्रियो कलेरी ओ–वान–थ्री–नाइनको सङ्क्रमणलाई पनि भिब्रियो कलेरी ओ–वानबाट हुने सङ्क्रमणलाई जस्तै सावधानी तथा उपचार गरिनुपर्छ। संयुक्त राज्य अमेरिकामा यससँग सम्बन्धित पखालालाई पनि हैजाको रूपमा लिने गरिन्छ र सङ्क्रणणको जानकारी दर्ता गराइन्छ। विश्व स्वास्थ्य सङ्गठनले हैजा फैलन नदिन बचाउ तथा सुरक्षा, तयारी र प्रतिक्रियामा केन्द्रित हुन सिफारिस गरेको छ।

सङ्गठनले हैजामाथि निगरानी राख्ने प्रणालीको व्यवस्था गर्न जोड दिएको छ । हैजाले मानिसलाई मृत्युको मुखमा पुर्‍याउन सक्ने भए पनि उपयुक्त सरसफाइका विधि अपनाउन सकेमा यसबाट सजिलै बच्न सकिन्छ । विकसित देशहरूमा साधारणतया सरसफाइ तथा विश्वव्यापी सुधारिएको पानी उपचार विधि अपनाइने हुनाले हाल हैजा मुख्य स्वास्थ्य समस्याको रूपमा रहेको छैन ।

प्रतिक्रिया दिनुहोस्