अरुणा दोस्रो पटक वर्ष उत्कृष्ट खेलाडी



पोखरा । राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही दोस्रो पटक वर्ष उत्कृष्ट खेलाडीको रूपमा सम्मानित भएकी छिन्। दोस्रो स्पोर्टस अवार्डमा पनि उत्कृष्ट बनेकी शाही अहिले पुनः उत्कृष्ट खेलाडी बन्दै पुरस्कृत भइन्। शाहीसँगै पुरुषतर्फ टेनिसका प्रदीप खड्का वर्ष उत्कृष्ट खेलाडी छनोट भएका छन्।

खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्दै आएको पोखरा स्पोर्टस अवार्ड अन्तर्गत शाही र खड्कालाई उत्कृष्ट घोषित गर्दै १–१ थान इलेकट्रोनिक स्कुटर दिइएको हो। दुबैतर्फ ३–३ जनाको मनोनयन थियो। महिलामा शाहीसँगै क्रिकेटकी मनीषा उपाध्याय र कराँतेकी सरगम कुमाल तथा पुरुषतर्फ खड्कासँगै ब्याडमिन्टनका विधान अधिकारी र कराँतेका बुद्ध लामा मनोनयनमा परेका थिए।

पूर्वबक्सिङ खेलाडी गणेशबहादुर भट्टराईले लाइफटाइम अचिभमेन्ट अवार्ड पाएका छन्। उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो। उनी सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एसियाली खेलकुदमा सिल्भर पदक विजेता हुन्।

यस्तै, टेनिसका दर्शिल श्रेष्ठले उदीयमान खेलाडी र टेनिसकै नीरज थापाले उत्कृष्ट प्रशिक्षकको अवार्ड पाएका छन्। नेपाल तेक्वान्दो संघ, गण्डकीले उत्कृष्ट खेल संघको अवार्ड पाएको छ भने कान्तिपुर पब्लिकेसनका दीपक परियार वर्ष उत्कृष्ट खेल पत्रकार बनेका छन्। उनीहरू सबैलाई जनही ३५ हजार नगद र ट्रफी सहित सम्मान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्