फुटबलर : यो सिजनमा को कहाँ कतिमा गए ?



इडन हेजार्ड चेल्सीबाट रियल म्याड्रिड

रकम : १० करोड पाउन्ड

यस सिजनको सुरुवाती हाई प्रोफाइल अनुबन्धमा चेल्सीका हेजार्ड रहे । स्पेनिस महारथी क्लब रियल म्याड्रिड क्रिस्टियानो रोनाल्डो गएपछि एक विश्वस्तरीय स्ट्राइकरको खोजीमा थियो । रियलले हजार्डअघि केलियन एम्बाप्पे, पाउलो पोग्बा तथा नेमार जुनियरमा नजर राखेको थियो । तर, अचानक रियलले चेल्सीलाई लोभलाग्दो प्रस्ताव राखेपछि बेल्जियमका हजार्ड सहजै सान्टिएगो बेर्नाबेउमा अनुबन्धित भए । १५ करोड पाउन्ड मार्केट भ्यालु भएका हजार्डले रियलका लागि प्रिसिजनमा एक मात्र गोल गरेका छन् । 

जाओ फेलिक्स

बेनिफिकाबाट एट्लेटिको म्याड्रिड

रकम : १२ करोड ६० लाख पाउन्ड

प्रशिक्षक डिएगो सिमोनीले लगभग डेट एक्सपायर भएका खेलाडीलाई धमाधम बेच्दै क्लबको बजेट बढाए । खेलाडी बिक्रीबाट एट्लेटिको म्याड्रिडले लगभग २८ करोड पाउन्ड जम्मा पार्‍यो । त्यही रकमबाट प्रशिक्षक सिमोनी बेनिफिकाका राइट विंगर जोआलाई भित्र्याउन सफल भए । उनको बजार मूल्य सात करोड पाउन्ड मात्र हो । सन् २०१९/२० को प्रिसिजनमा जाओ नै सर्वाधिक मूल्यमा अनुबन्धित हुने खेलाडीमा परेका छन् । 

एन्टोनियो ग्रिजम्यान

एट्लेटिकोबाट बार्सिलोना

रकम : १२ करोड पाउन्ड

लामो समयदेखि फ्रेन्च स्ट्राइकर ग्रिजम्यानले एट्लेटिको छाड्न चाहेका थिए । तर, प्रशिक्षक सिमोनीले आफ्ना मुख्य हतियार बेच्न चाहेका थिएनन् । तर, यसपटक किन हो, खेलाडी ट्रान्सफर विन्डोमा ग्रिजम्यान पनि समावेश गरिए । उता नेमारको कमी परिपूर्ति गर्न बार्सिलोना ग्रिजम्यानलाई १२ करोड पाउन्डमा भित्र्याउन सफल भयो । यससँगै बार्सिलोनाको सेन्टर फर्वार्ड बलियो मानिएको छ । ग्रिजम्यानको मार्केट भ्यालु १३ करोड पाउन्ड हो । 

ह्यारी मुगुएरे 

लेस्टरबाट म्या. युनाइटेड

रकम : ८ करोड ७० लाख पाउन्ड

प्रशिक्षक ओले सोल्सायरले यो सिजनमा राम्रा खेलाडी भित्र्याउनेक्रममा लेस्टरका सेन्टर ब्याक ह्यारीका लागि आठ करोड ७० लाख पाउन्ड खर्चिए । यो एक डिफेन्डरका लागि अहिलेसम्मको सर्वाधिक मूल्यको सम्झौता हो । ह्यारीको मार्केट भ्यालु सात करोड पाउन्ड मात्र हो । 

म्याथिज डे लिगट

एज्याक्सबाट युभेन्टस

रकम : आठ करोड ५५ लाख पाउन्ड

नेदरल्यान्डका सेन्टर ब्याक डी लिगटको पहिलो रोजाइ म्यानचेस्टर युनाइटेड थिएन । उनी सुरुमा रियल म्याड्रिड वा युभेन्टस जान चाहन्थे । तर, रियल र युभेन्टसले अन्तिम समयमा उनीमाथि चासो नदेखाउँदा त्यसको फाइदा युनाइटेडले लियो । युनाइटेडले एकैपटक युवा खेलाडीलाई आठ करोड ५५ लाख पाउन्ड खर्चिंदै क्लबमा ल्यायो । उनको मार्केट भ्यालु सात करोड ५० लाख पाउन्ड हो । 

निकोलास पेपे

लास्क लिलेबाट आर्सनल

रकम : आठ करोड पाउन्ड

आर्सन वेंगरको समयमा आर्सनलले खासै खेलाडी सम्झौतामा रकम खर्चिएन । तर, उनले क्लब छाडेपछि अब आर्सनलले पनि खेलाडीमाथि रकम खर्चेको अवस्था छ । यस सिजनमा आर्सनलले फ्रेन्च क्लब लिलेबाट राइट विंगर पेपेलाई आठ करोड पाउन्ड खर्चंदै क्लबमा एक स्टार खेलाडीका रूपमा भित्र्याएको छ । उनको मार्केट भ्यालु ६ करोड ५० लाख पाउन्ड हो । 

लुकास हर्नान्डेज

ए. म्याड्रिडबाट बा. म्युनिख (रकम : आठ करोड पाउन्ड)

बुन्डेस लिग च्याम्पियन्स बायर्नको मुख्य लक्ष्य नै यसपटक च्याम्पियन्स लिगमा राम्रो नतिजा निकाल्ने हो । गत सिजनमा खराब नतिजा बेहोरेको बायर्नले दुई स्टार खेलाडी गुमायो । आर्जेन रोबिन तथा प्mयाक रिबेरीजस्ता विश्वासिला खेलाडीले सन्न्यास लिएपछि बायर्नलाई राम्रा खेलाडीको खाँचो थियो । विशेषतः सेन्टर ब्याकको कमी पूरा गर्न एट्लेटिको म्याड्रिडका लुकासलाई आठ करोड पाउन्ड खर्चंदै अनुबन्ध गर्न बायर्न सफल भयो । 

फ्रेन्किए डे जोङ

एज्याक्सबाट बार्सिलोना (रकम : सात करोड ५० लाख पाउन्ड)

बार्सिलोना निरन्तर रूपमा युरोपियन च्याम्पियन्स लिगमा खराब प्रदर्शनको सिकार भइरहेको छ । च्याम्पियन्स लिग नजित्दा समर्थक र व्यवस्थापन पक्षबाट प्रशिक्षक र खेलाडीमाथि उत्तिकै दबाब छ । यसपटक च्याम्पियन्स लिग जित्ने योजनाका साथ अगाडि बढेको बार्सिलोनाले एज्याक्सका सेन्टर मिडफिल्डर डे जोङलाई भित्र्याएको छ । 

रामेलु लुकाकु

म्या. युनाइटेडबाट युभेन्टस (रकम : सात करोड ३३ लाख पाउन्ड)

यस सिजनको हाई प्रोफाइल ट्रान्सफरमा म्यानचेस्टर युनाइटेडका रामेलु लुकाकु पनि सामेल छन् । स्पेनिस तथा सिरिए क्लबको नजरमा रहेका लुकाकु र प्रशिक्षक सोल्सायरको सम्बन्ध राम्रो नहुँदा उनी क्लब छाड्ने निर्णयमा पुगे । युभेन्टसले प्रतिसाता चार लाख पाउन्डसँगै वार्षिक एक करोड २० लाख पाउन्ड बोनस दिने सर्तमा लुकाकुलाई सेन्टर फर्वार्डको जिम्मेवारी दिँदै क्लबमा भित्र्याएको छ । लुकाकुको मार्केट भ्यालु सात करोड ३३ लाख पाउन्ड छ । 

 रोड्री

ए. म्याड्रिडबाट म्या. सिटी (रकम : सात करोड पाउन्ड)

इंग्लिस लिग विजेता म्यानचेस्टर सिटीले केही खेलाडी बिक्री गर्‍यो भने केही युवा खेलाडीलाई भित्र्यायो । एट्लेटिको म्याड्रिडका डिफेन्सिभ मिडफिल्डर रोड्रीलाई सिटी सात करोड पाउन्डमा अनुबन्ध गर्न सफल भएको छ । यस सिजनमा रोड्री नै सिटीका महँगा खेलाडीमा परेका छन् । उनको मार्केट भ्यालु आठ करोड पाउन्ड छ । 

डेभिड लुइस 

चेल्सीबाट आर्सनल (रकम : सात करोड पाउन्ड)

केही समयदेखि ब्राजिलियन डेभिड लुइस चेल्सीका भरपर्दा खेलाडी थिए । लुइसले आफ्ना एजेन्टमार्फत आर्सनलमा कुरा चलाए । आर्सनलले लुइसलाई भित्र्याउन चेल्सीसमक्ष सात करोड पाउन्ड प्रस्ताव राख्यो । सो प्रस्ताव चेल्सीले स्वीकार गर्दा आर्सनलले नयाँ सिजनमा अर्को एक स्टार खेलाडी भित्र्यायो । 

लुका जोभिक

फ्याकफर्टबाट रि. म्याड्रिड (रकम : सात करोड पाउन्ड)

जर्मन क्लबहरू खेलाडी भित्र्याउनमा त्यति धेरै रकम खर्च गर्न तयार हुँदैनन् । अति आवश्यक अवस्थामा मात्र जर्मन क्लब खेलाडी भित्र्याउन रकम खर्चन तयार हुन्छन् । यसपटक फ्याकफर्टले बेनिफिकाका सेन्टर फवार्ड लुका लोभिकसित सम्झौता गर्‍यो । लुकालाई भित्र्याउन जर्मन क्लबले सात करोड पाउन्ड खर्चियो । तर, त्यसको केही समयपछि नै रियल म्याड्रिडले ६ करोड पाउन्डमा फ्याकफर्टबाट लुकालाई अनुबन्ध गर्‍यो । 

 एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्