इन्धन अभाव हुँदा श्रीलंकामा विद्यालय बन्दको घोषणा



एजेन्सी । इन्धन अभावका कारण श्रीलंकामा विद्यालय बन्दको घोषणा गरिएको छ। पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता बन्द गर्ने घोषणा गरिएको हो ।

शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ।

विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ विद्यालय बन्द गर्ने निर्णय गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्।

देशका ऊर्जामन्त्रीले आइतबार एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको बताएका थिए ।

देशमा आर्थिक संकट थप जटिल बन्दै जाँदा सरकारले इन्धन आयात गर्न नसकेकाले सार्वजनिक यातायात ठप्प जस्तै भएको छ।

श्रीलंकाका अधिकांश पेट्रोल पम्पहरू धेरै दिनदेखि इन्धनविहीन रहँदा पेट्रोल र डिजेलको खोजीमा राजधानीका धेरै स्थानमा सर्वसाधारणको लाइन निकै लामो देखिने गरेको छ ।

गत हप्ता, नगद अभावका कारण श्रीलंकाले पेट्रोल र डिजेल बचत गर्न आवश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई हप्ता रोक्ने घोषणा गरेको थियो।

सोमबार बैंक तथा कार्यालयहरू पुनः खोलिँदा स्थिति खराब हुने अनुमानसहित देशभरका अधिकांश पेट्रोल पम्पहरू आइतबारदेखि बन्द भएका छन्।

निराश मानिसहरूले केही गाडीहरूसँग लिफ्ट माग्दै आफ्नो गन्तव्यमा पुग्न खोजेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल बन्ने गरेका छन्।

देशको दुई तिहाइभन्दा बढी व्यक्तिलाई यातायात सेवा दिइरहेका निजी स्वामित्वमा रहेको बसले इन्धन अभावका कारण नराम्ररी प्रभावित भएकाले आइतबारदेखि अत्यन्त नै न्यून रूपमा सेवा सञ्चालन गरेको बताए। रासस

प्रतिक्रिया दिनुहोस्