चिनीको मूल्यमा व्यापारीको मनपरी



काठमाडौं । चिनीमा व्यापारीले मनपरी मूल्य लिने गरेका पाइएको छ। पेट्रोलियम पदार्थको मूल्य बढेको बहानामा व्यापारीले ९५ रूपैयाँ किलो सहजै रूपमा पाउने चिनी ११० देखि १२० सम्म बिक्री गर्ने गरेका छन् । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार १ जेठसम्म प्रतिकिलो चिनीमा व्यापारीले १०० रुपैयाँ लिने गरेका थिए।

इन्धनको मूल्य बढेको बहानामा १५ दिनमै १०० प्रतिकिलो चिनीमा ५ रुपैयाँ बढाएर १०५ रुपैयाँ बनाइयो। फेरि इन्धनको मूल्य बढेको बहाना बनाएर १५ दिन नपुग्दै प्रतिकिलो चिनीमा ५ रुपैयाँ बढाएर ११० रुपैयाँ लिन थालेका छन्। इन्धनको मूल्य बढ्दा ढुवानी भाडा बढी हुँदा चिनीको मूल्य बढेको व्यापारीले बहाना बनाएका थिए। तर, अहिले इन्धनको भूल्य घट्दा पनि व्यापारीले चिनीमा ढुवानी लागत बढेको बहाना बनाउँदै आफूखुसी उपभोक्ता मनपरी पैसा असुल्ने काम गरेका छन् । प्रतिकिलो चिनी १०५, ११०, ११५ र १२० रुपैयाँसम्म लिने गरेको पाइन्छ।

खुद्रा व्यापार सङ्घका अनुसार खुद्रा मूल्य लिने व्यापारीले उपभोक्ताबाट ११० रुपैयाँभन्दा बढी दिने गरेका छन्। खुद्रा व्यवसायी सङ्घ नेपालका महसचिव अमूल तुलाधरले थोक व्यापारीले मूल्य बढेको भन्दै ९५ रुपैयाँ लिने गरेकाले खुद्रा पसलमा १०० देखि १०५ रुपैयाँसम्म चिनीको मूल्य लिने गरेका बताए। उनले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि ठूला थोक व्यवसायीले बढी मूल्य लिने हुँदा खुद्रा पसलेले बाध्य भएर थोक मूल्यका आधारमा मूल्य बढाउनुपरेको बताए ।

सरकारको कमजोर बजार अनुगमनका कारण ठूला व्यापारीले चिनीमा आफूखुसी मूल्य लिने गरेको सङ्घका महासचिव तुलाधरको आरोप छ । सरकारले बजार अनुगमन गर्दा साना खुद्रा पसलमा मात्र अनुगमन गर्ने तर ठूलो मूल स्रोतमा अनुगमन नगर्दा सधैँ कारबाहीको भागिदारी साना खुद्रा व्यापारी हुने गरेका उनको भनाइ छ । साल्ट ट्रेडिङ कर्पोरेसनसँग मौज्दात चिनी नहुँदा निजी व्यापारीले मनपरी मूल्य लिने गरेको उपभोक्ता अधिकारकर्मी बताउँछन् । साल्ट ट्रेडिङ मौज्दात चिनी हुँदा निजी व्यापारीले प्रतिकिलो ८५ रुपैयाँमा उपभोक्तालाई चिनी बिक्री गर्ने गरेका थिए ।

मौज्दात चिनी हुँदा साल्ट ट्रेडिङले पछिल्लो पटक उपभोक्तालाई प्रतिकिलो ७९ रुपैयाँ ५० पैसामा बिक्री गरेको थियो । साल्ट ट्रेडिङसँग चिनी हुँदा व्यापारीले प्रतिकिलो ८५ रुपैयाँदेखि ९० रुपैयाँसम्ममा बिक्री गर्ने गरेका थिए । हाल साल्ट ट्रेडिङमा मौज्दात नहुँदा मनपरी १०५ देखि ११० रुपैयाँसम्म लिने गरेका हुन् । नेपाल चिनी उद्योग सङ्घका अनुसार प्रतिकिलो चिनी ९५ रुपैयाँमा उपभोक्ताले पाउनुपर्ने हो।उद्योग, वाणिज्य उपभोक्ता संरक्षण विभागका निर्देशक लीलाप्रसाद शर्माले विभागले बजार अनुगमन गर्दा र उद्योगी व्यापारीलाई चिनीको मूल्यका बारेमा छलफल गर्दा चिनीमा लागत बढ्दा मूल्य बढेको जानकारी गराएको बताएका छन्।

उनले बजार मूल्य अध्ययन गरी विभागले बजार अनुगमन गरिरहेको बताए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चिनीको मासिक माग २५ हजार मेट्रिक टन हो । मासिक २५ हजार मेट्रिक टनले वार्षिक ३ लाख मेट्रिक टन चिनीको माग छ।
चिनी उद्योग सङ्घका अनुसार यस आर्थिक वर्षको स्वदेशी चिनीको उत्पादन करिब २ लाख मेट्रिक टन चिनी उत्पादन भएको छ। सङ्घको तथ्याङ्कअनुसार नेपाललाई करिब १ लाख मेट्रिक टन अपुग छ।

प्रतिक्रिया दिनुहोस्