उपत्यकाको ट्राफिक भद्रगोल पारेर बिदा भए प्रमुख



काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व सम्हालेका उमेशराज जोशी प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएपछि उनको अन्यत्रै पदस्थापना भएको छ । उनले ट्राफिक कार्यालयको नेतृत्व करिब ६ महिना गरे ।

जोशीको ठाउँमा डीआईजी मीरा चौधरीलाई जिम्मेवारी दिइएको छ । यसअघि जोशीले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हुँदा ट्राफिक कार्यालयको नेतृत्व सम्हाले पनि अब डीआईजी चौधरीले ट्राफिक कार्यालयको नेतृत्व सम्हाल्नेछन् ।

६ महिनाको बीचमा जोशीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा भन्दा बढी समय आफ्नो बढुवाका लागि खर्चिए । एसएसपीबाट डिआईजीमा बढुवा भएका जोशीको अपराध अनुसन्धान विभागमा पदस्थापना भएको छ ।

ट्राफिक कार्यालय स्रोतका अनुसार जोशीको केही दिनमा बिदाइ कार्यक्रम राखिएको छ । ट्राफिकबाट बिदा हुँदै गर्दा जोशीले उपत्यकाको ट्राफिक व्यवस्थापन झनै भद्रगोल बनाएको आरोप छ । अहिले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त नै छ ।

गाडीको अत्यधिक चापका कारण सवारी चालकहरूले ट्राफिक नियमहरू पालना गर्दैनन् । जताततै अव्यवस्थित रूपमा पार्किङ गरिन्छ । एक ठाउँको बत्ती बल्यो भने अर्को ठाउँको बल्यो कि बलेन, मतलब हुँदैन । यस्ता कुराहरूमा ट्राफिक प्रमुखले चासो राख्नुपर्ने होइन ? तर, जोशीले यस्ता कुराहरूमा कहिले पनि चासो नदिएका बताइन्छ ।

२३ पुस २०७८ मा ट्राफिक कार्यालयको नेतृत्व सम्हालेका जोशीले ६ महिनाको समयमा केही पनि राम्रो काम गर्न नसकेको ट्राफिकका कर्मचारीहरू नै बताउँछन् । ६ महिनाको समय जोशीले आफ्नो बढुवाका लागि मात्र खर्चिएको आरोप ट्राफिक प्रहरीहरूले नै लगाएका छन् ।

स्रोतका अनुसार त्यतिबेला जोशीको ध्याउन्न उपत्यकाको ट्राफिक व्यवस्थापनमा भन्दा पनि आफू कसरी १ नम्बरमा डीआईजी बन्ने भन्नेमा केन्द्रित थियो । ‘१ नम्बरमा डीआईजी हुन्छु, अहिलेको सरकारले मलाई नै बढुवा गर्छ’ भन्दै जोशी हिँड्ने गरेका समेत थिए । तर, जोशी ११औँ नम्बरमा परेका छन् ।

त्यति मात्र होइन, जोशीले ट्राफिकको नेतृत्व गर्दा कार्यालयमा विभेदसमेत गर्ने गरेको स्रोत बताउँछ । आफ्नो क्षेत्रको ट्राफिक प्रहरीलाई मागेको ठाउँमा पठाउने र अन्यलाई थर्काउनेसमेत गर्थे उनी । २–३ वर्षदेखि एकै ठाउँमा काम गरेकालाई चाहिँ जोशीले नसक्ने भन्दै विभेद गर्ने गर्थे ।

यसरी गर्दा जोशीका कारण ट्राफिक कार्यालयमा धेरै कर्मचारीहरू असन्तुष्ट मात्र भएनन्, खुलेर काम पनि गरेनन् । तल्लो तहका प्रहरी कर्मचारीहरूलाई फकाएर काम अह्राउनुपर्नेमा जोशी उल्टै गाली गर्दै हिँड्ने गरेको समेत स्रोत बताउँछ ।

हुन पनि अहिले काठमाडौंमा सवारी जाम ‘अति’ नै छ– बिहान होस् वा साँझ । ट्राफिक जाम नभएको दिन हुँदैन । घरको कामले होस् या अफिसको कामले कतै जानुपर्दा जामकै कारण १ घन्टाअघि यात्रा तय गर्नुपर्ने बाध्यता छ ।

राम्रोसँग ट्राफिक व्यवस्थापन हुन नसक्दा काठमाडौं उपत्यका अस्तव्यस्त बन्न थालेको वनस्थली बस्दै आएका मोटरसाइकल चालक कृष्णप्रसाद देवकोटा बताउँछन् । अव्यवस्थित रूपमा सवारी साधन पार्किङ र ट्राफिक लाइटका कारण उपत्यका अस्तव्यस्त बनेको हो ।

बजार क्षेत्रमा खुला पार्किङ गर्ने स्थानको अभावमा र कहीँ बल्ने कहीँ नबल्ने ट्राफिक लाइटका कारण ट्राफिक व्यवस्थापन हुन नसक्दा समस्या भएको देवकोटाको भनाइ छ । देवकोटा थप्छन्, ‘कि त सबै ठाउँको बत्ती बलिरहनुप¥यो, होइन भने कहीँको बल्ने कहीँको नबल्ने गरेका कारण पनि ट्राफिक जाम भइरहनेछ ।’

आफ्नो कार्यकालमा यति ठाउँमा बत्ती जोडेँ भनेर मिडियामा प्रचारबाजी गर्नुभन्दा त्यसअघि नै जडान गरिएको बत्ती सधैँ बलिरहने बनाउनु ट्राफिक कार्यालयका हाकिमहरूको जिम्मेवारी हो । तर, उनीहरू काममा भन्दा बढी प्रचारमा रमाएका प्रष्ट छ ।

पार्किङ र ट्राफिक लाइट मात्र नभएर सडकको स्तरोन्नती गर्न नसकिँदा पनि राजधानीको सडकमा ट्राफिक जाम बढ्दो छ । तर, सडककै कारण ट्राफिक जाम बढेको मान्न यातायात व्यवस्था विभाग तयार छैन । ट्राफिक व्यवस्थापनका कारण समस्या बढेको विभागको दाबी छ ।

आफ्नो निर्णयमा अडिग हुन नसक्ने यातायात व्यवस्था विभागको कारण पनि काठमाडौं उपत्यकाको जामले निरन्तरता पाइरहेको हो । सवारी जामको समस्या समाधानका लागि ट्राफिक प्रहरीको जनशक्ति परिचालन मात्र पर्याप्त नहुने स्पष्ट भइसक्दा पनि यातायात व्यवस्था विभाग ट्राफिककै मुख ताकेर बस्ने गरेको छ ।

लगनखेल–रत्नपार्क चल्ने माइक्रोका चालक श्याम महर्जनले नागरिकमा कर्तव्यबोधको समस्याले पनि अनावश्यक सवारी जाम हुने गरेको बताए । सवारी चालकले सामान्य नैतिक पक्षलाई मात्र ध्यान दिन सक्दा पनि कतिपय अवस्थामा यस्ता समस्या कम गर्न सकिने उनको बुझाइ छ ।

यसको जिम्मेवारी नागरिकले पनि लिनुपर्ने उनी बताउँछन् । सडकको अनधिकृत प्रयोग, अतिक्रमण, निर्माण सामग्री थुपारेर आफैँले दुःख पाउने काममा नागरिक लाग्न नहुने उनको तर्क छ । ‘यस्ता समस्याको समाधानमा सबै पक्षको समन्वयात्मक सहकार्य हुनु आवश्यक छ’, उनले भने, ‘सत्यलाई नागरिक समाजले पनि बुझिदिनुपर्छ ।’

यता, ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक क्षमताभन्दा दोब्बर सवारी साधन गुडेकै कारण ट्राफिक जामको समस्याले निरन्तरता पाएको बताउँछ । ट्राफिक कार्यालय सडकको स्तरोन्नति र आधुनिकीकरणमा ध्यान दिन नसकेमा काठमाडौंको जामको समस्या थप बढ्ने दाबी गर्छ ।

काठमाडौं उपत्यकामा मात्र दैनिक करिब १३ लाखभन्दा बढी सवारी साधन गुड्छन्, जुन सडकको क्षमताभन्दा बढी हो ।

प्रतिक्रिया दिनुहोस्