पूर्वसभासद् साहको बच्चा पाँच महिनादेखि अस्पतालमै



ललितपुर :  तत्कालीन सभासद् गायत्री साहले फागुन २८ गते मेडिसिटी अस्पताल भैंसेपाटीमा छोरो जन्माएकी थिइन् । जन्मिएपछि डाउन सिन्ड्रोम (जीउ नचल्ने) समस्या देखिएको भन्दै साह दम्पतीले बच्चा जिम्मा लिन अस्वीकार गरे ।

अस्पतालमा शिशु छाडेको पाँच महिना भयो । बच्चा परित्याग गरेको घोषणा पनि गरेका छैनन् । अभिभाकत्व कसले ग्रहण गर्ने भन्ने अन्योल भएको छ । मेडिसिटी अस्पतालका महाप्रबन्धक डा. विजय रिमालले बच्चाको अवस्थामा सुधार भई घर लैजान मिल्ने रहेको बताए ।

‘बच्चाको अवस्था एकदमै राम्रो छ तर आमाबुवाले बेवास्ता गर्दा समस्या भएको छ’, उनले भने, ‘उसको शारीरिक परिवर्तन अन्य बच्चाको जस्तै देखिएको छ । शरीरको तौल पनि सामान्य बच्चाको जस्तै बढेको छ ।’

घर जान नपाएका कारण बच्चाको मानवअधिकार हनन् भएको उनले बताए । उनका अनुसार आमाले बेवास्ता गरेपछि बच्चाले नर्सलाई आमाजस्तो मान्न थालेको प्रतिक्रिया देखाउन थालेको छ । बच्चामा कुनै जटिलता नभएको भन्दै अस्पतालले पटक–पटक घर लैजान आग्रह गर्दै आएको छ । ‘बालबालिकाले घरपरिवारमा बस्न पाउने, आमाको दूध खान पाउने नैसर्गिक अधिकार भए पनि यी कुराबाट वञ्चित भएको अवस्था छ’, उनले भने । अन्नपूर्णबाट ।

प्रतिक्रिया दिनुहोस्