शेखर पक्षले भ्रातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रर्दशन गर्ने



काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला पक्षधरले भ्रातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रर्दशन गर्ने भएको छ ।

नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाका शेखर पक्षका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शनको तयारी गरेका हुन् ।

कांग्रेस केन्द्रीय समितिको वैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । उक्त वैठकको समयमा पार्टी कार्यालय बाहिर शेखर पक्षका विद्यार्थी, युवा लगायतले प्रदर्शनको तयारी गरेका हुन् ।

अवधि समाप्त भएपछि केन्द्रीय कार्यसमिति भंग गरिएका भ्रातृ संस्था वैधानिक विधिबाट पूर्णताको माग गर्दै प्रदर्शन गर्न लागिएको शेखर निकट विद्यार्थी संघकी नेता प्रेमिका रानामगरले जानकारी दिइन् ।

यस विषयमा छलफल गर्न आइतबार दिउँसो ३ बजे भ्रातृ संस्थाको संयुक्त बैठक बोलाइएको सोही पक्षका विद्यार्थी नेता भुवन भट्टले बताएका छन । बैठक बागबजारस्थित पद्मकन्या क्याम्पसमा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्