विधि र मान्यतालाई अस्वीकार गरेर ल्याएको बजेट मान्न सकिन्न : पौडेल



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधि र मान्यतालाई अस्वीकार गरेर ल्याएको बजेट मान्न नसकिने बताएका छन् ।

सोमवार अनेरास्ववियु केन्द्रिय कमिटीद्वारा आयोजित ‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तरास्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उाले गठबन्धन सरकारले ल्याएको बजेट विवादमा परेकाले अहिले मुलुक बजेट बिहीन रहेको दाबी गरेक छन् । पौडेलले गठबन्धन सरकारका अर्थमन्त्रीले बजेट गलत विधिबाट ल्याएको बताए । उनले संविधानले गरेको व्यवस्था, कानून ,बजेट निर्माणका मूल्य मान्यताहरुलाई अस्वीकार गरेर निर्माण गरी ल्याएको बजेट जनताले स्वीकार नगर्ने भन्दै बजेटको कुनै अर्थ नभएको बताएका छन् ।

पौडेलले बजेट आफैँ विवाद रहेकाले बजेट बजेटको रुपमा नभएको भन्दै बजेट कार्यान्वयन गर्न नसकिने जिकिर गरेका छन् । उनले अर्थमन्त्रीलाई छानबिन गर्न संसदीय समिति बनेकाले छानबिन समितिको प्रतिवेदन नआएसम्म बजेटको रुपमा मान्न नसकिने बताए ।

पूर्व अर्थमन्त्री पौडेलले प्रधानमन्त्री शेरबहादर देउवा नेतृत्वको सरकारको बहिर्गमन नै अर्थतन्त्रको निकास भएको दाबी गरेका छन् । उनले अब फेरि जनताको जनादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने दाबी गरे ।

उनले नेकपा एमाले निर्वाचनका माध्यमबाट यो सरकारलाई बिस्थापित गरेर र एमालेको नेतृत्वमा जनादेशको आधारमा नयाँ सरकार निर्माण गर्ने बताएका छन् ।

पूर्व अर्थमन्त्री पौडेलले निर्वाचनमार्फत आउने सरकारले अर्थतन्त्रका समस्या,समाजिक जीवन,आर्थिक जीवनका समस्या र लगानीको समस्या समाधान गर्दै देशलाई फेरि पनि आर्थिक समृद्धि बनाएर सामाजिक न्याय र समानताको दिशामा देशलाई लैजाने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्