अंशबन्डा विवादमा भाउजुलाई खुकुरी प्रहार गर्ने देवर पक्राउ



रुकुम पश्चिम । रुकुम पश्चिममा देवरले भाउजुमाथि खुकुरी प्रहार गरेका छन् । जग्गाको अंशबन्डामा विवाद हुँदा त्रिवेणी गाउँपालिका १ रुँघाका ३६ वर्षीय देउकुमार खड्काले ३७ वर्षीय भाउजु दिलसरा बोहरा खड्कामाथि खुकुरी प्रहार गरेका हुन् ।

भाउजुमाथि खुकुरी प्रहार गर्ने देवरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले आइतवार राति जग्गाको अंशबन्डाको विषयमा झगडा हुँदा देउकुमारले दिलसरालाई खुकरी प्रहार गरेको बताएका छन । घटनालगत्तै स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी सिम्रुतु र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी पठाएर खड्कालाई पक्राउ गरिएको थियो ।

घाइते दिलसराको अवस्था गम्भीर भएपछि थप उपचारका लागि आज सोमवार नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर रेफर गरिएको छ । उहाँको टाउको र हातमा गहिरो चोट लागेको प्रहरी नायब उपरीक्षक सोतीले जानकारी दिए।

खुकुरी प्रहार गर्ने देवरमाथि जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्