‘माटो जोगाऔं’ अभियान लिएर दौड सुरु गरेका पुन खोटाङ पुगे



खोटाङ । ‘माटो जोगाऔं’ अभियान लिएर देशव्यापी दौड सुरु गरेका यमबहादुर चोचाङ्खी पुन ९नवीन पुन०को यात्रा खोटाङ पुगेको छ । बिग्रँदै गएको माटोको अवस्थालाई जोगाउनका लागि नागरिकलाई शिक्षित गर्ने लक्ष्यकासाथ नेपालका ७७ जिल्ला पुग्नेगरी ३ हजार ५ सय किलोमिटर दौड सुरु गरेका पुनको यात्रा सोमबार दिक्तेल पुगेको हो ।

नेपालभर जनचेतनामूलक र सामुदायिक चेतनामूलक कार्यक्रम गर्ने लक्ष्यका साथ धावक पुनले गत ३० जेठमा काठमाडौं टुँडिखेलबाट अभियानमूलक दौड सुरु गरेका थिए । भोजपुरको सिमाना चख्वाभञ्ज्याङबाट सुरु भएको पुनको खोटाङ यात्रा ओखलढुंगाको सिमाना जयरामघाट पुगेर टुंगिने छ । पुनको यात्रा काठमाडौंबाट तराई हुँदै पूर्वी सिमाना पुगेर माथिल्लो पहाडी क्षेत्रका जिल्ला हुँदै खोटाङ पुगेको हो ।

करिब ७५ दिनमा पुरा हुने पुनको दौडको क्रममा सोमबार दिक्तेलमा जिल्ला समन्वय समितिको सभाहलमा ‘माटो जोगाऔं’ सचेतनामूलक कार्यक्रम गरिएको छ । शिक्षिका सीता थुलुङ राई, सामाजिक अभियन्ता इन्द्र कसजु लगायतको समन्वयमा सचेतनामूलक ‘माटो जोगाऔं’ कार्यक्रम गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले ‘सेभ सोइल’ लेखिएको सेतो ब्यानरमा हातले हिलो माटोको छाप लगाएर कार्यक्रम उद्घाटन गरेका थिए ।

जिल्ला समन्वय समिति, नगरपालिका, शुभम् फाउन्डेसन र नेपाल सितोरियो कराँते संघको सहयोगमा दिक्तेलमा सचेतनामूलक कार्यक्रम गरिएको हो । कार्यक्रममा दलका नेता, जनप्रतिनिधि, सरकारी कार्यालय र सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, बुद्धिजीवी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । नागरिकलाई माटोको बिग्रँदो अवस्थाका बारेमा जानकारी दिएर समस्या हल गर्दै माटो जोगाउने विश्वव्यापी अभियानमा लाग्न उत्प्रेरित गर्न दौड अभियान थालिएको पुनले बताए । कार्यक्रममा विश्वको ५२ प्रतिशत खेतीयोग्य माटो विनाश भइसकेको, संसारभरिको माटोले अबको ६० वर्षसम्म मात्र बाली उब्जाउन सक्ने लगायतका विषयमा चर्चा गरिएको छ ।

संयुक्त राष्ट्र संघको मरुभुमीकरण र खडेरी विरुद्ध संघर्ष अधिवेशन संस्थाको तथ्यांक अनुसार हरेक सेकेण्ड एक एडक खेतीयोग्य माटो मरुभूमि बनिरहेको अवस्थामा पुनले दौडमार्फत ‘माटो जोगाऔं’ अभियान सुरु गरेका हुन् । दौडेर यात्रा गरिरहेका पुनलाई ‘माटो जोगाऔं’का अभियानकर्मी निर्मल श्रेष्ठ, सनम लिम्बु र अजय भण्डारीले साथ दिइरहेका छन् । श्रेष्ठ, लिम्बु र भण्डारी गाडीमा यात्रा गरिरहँदा पुन भने पैदल कुदिरहेका छन् । दौडको दौरान विभिन्न जिल्लामा जनचेतना र सामुदायिक सचेतनाका कार्यक्रम सञ्चालन गर्नेगरिएको अभियानकर्मी श्रेष्ठले बताए ।

‘माटो जोगाऔं’ अभियान भारतका सद्गुरु जग्गीबासुदेवले सुरु गरेका हुन् । हाल विश्वका विभिन्न देशमा सञ्चालन भइरहेको अभियान नेपालमा पनि स्वयंसेवी रूपमा सञ्चालन भइरहेको छ । ‘माटो जोगाऔं’ अभियान काठमाडौं केन्द्रित भइरहेको अवस्थामा पर्वत घर भएका पुनले भने ३ हजार ५ सय किलोमिटर दौड सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्