खराब ब्याटिङसँगै नामिबियासँग हार्‍यो नेपाल



काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत पहिलो खेलमा खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ। सोमबार राति स्कटल्याण्डको न्यु  काम्बसडनमा सम्पन्न खेलमा पराजित भएसँगै नेपालले त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा हारबाट सुरुवात गरेको हो।

२२१ रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १८० रनमा समेटियो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ५० रन बनाए। यस्तै, देव खनालले ३४, कुशल भुर्तेलले २७, करण केसी १९, आसिफ शेख १४,  आदील आलम र सोमपाल कामी समान १० रन जोडे।

यस्तै, दिपेन्द्र सिंह ऐरी ४ र बसिर अहमेद ३ रनमा आउट हुँदा  उपकप्तान रोहित पौडेल र कप्तान सन्दीप लामिछाने सुन्यमा पेभेलियन फर्किए।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २२० रन बनायो ।

नामिबियाका जान निकोल लोफ्टीले सर्वाधिक  ६० रन बनाए। यस्तै, डिभान ला ककले ४१,  गेर्हार्ड एरास्मुसले २२ रन, क्रेग विलियम्सले २१ जोडे। नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले ५४ रन खर्चिए। यस्तै, सोमपाल कामीले २,  करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए।

हारसँगै नेपाल डिभिजन लिग २ को अङ्क तालिकाको छैटौँ स्थानमा झरेको छ। नेपालले १७ खेलमा १५ अङ्क जोडेको छ। नामिबिया १६ खेलमा १६ अङ्क जोडेर पाँचौं स्थानमा छ।

 

प्रतिक्रिया दिनुहोस्