मलाई प्रभाव पार्ने पुरुष जन्मिएकै छैन : गायिका अञ्जु पन्त



काठमाडौँ : गायिका अञ्जु पन्तले नेपालको संगीतमा दर्जनौं सुमधुर गीत गाएकी छिन् । उनका आवाजमा अहिलेसम्म लगभग ६ हजार बढी गीत रेकर्ड भइसके । गायिका पन्त अहिले पनि चर्चित र व्यस्त गायिकामा गनिन्छिन् । उनको व्यक्तिगत जीवनमा निकै उतारचढाव आयो । तर, सांगीतिक करिअरमा भने कहिल्यै असफलताको स्वाद चाख्नुपरेको छैन । रेकर्डिङमा व्यस्त रहने अन्जुसँग यसपटकको ‘पुरुषवार्ता’ ।

तपाईंको जीवनमा प्रभाव पारेको पुरुष?

मलाई प्रभाव पार्ने पुरुष जन्मिएकै छैन।

अहिलेसम्म भेटिएका पुरुषहरु मध्ये सबैभन्दा सहयोगी पुरुष?

विश्वास गर्न लायक पुरुष त मेरो बुबा नै हो।

सबैभन्दा धेरै माया कुन पुरुषको लाग्छ?

दाई, भाइ र छोराहरुकै लाग्छ।

जहिलेपनि घृणा लाग्ने केटामान्छे को छ?

नाम नभनौं है।

आजभोलीका युवाहरुको विषयमा केहि भन्नुहुन्छ कि?

वास्तवमा मैले दिनहुँजसो दुई जिव्रे पुरुष भेट्छु। एक जिव्रे, जसलाई विश्वास गर्न सकियोस्, त्यस्तो किसिमको पुरुष भेट्न सकेकी छैन। महिलालाई रेस्पेक्ट गर्ने पुरुष भेट्टाउनै मुस्किल छ।

सपनामा आइरहने कोही पुरुष छ?

छैन। बिहे अघि कसैसँग प्रेम भएन। बिहेको एउटा यात्रा रोकिएपछि कोही पुरुष कल्पनामा आएन।

पहिलोपटक डेटकोसँग जानुभयो?

श्रीमानसँग त हो। बिहे हुने बेलासम्म मलाई डेटिङ भन्ने कुरा थाहा थिएन।

तपाईंको सबैभन्दा धेरै पिछा गरेको पुरुष?

टिनएजमा हुँदा एकजना पुरुष एकदमै पछि लागेर हैरान पारेका थिए। मान्छे सानी सानी, केही भन्न नसक्ने स्वभावकी थिएँ। तर, उनी त पछि घरसम्म नै आउन थाले। संगीत सिक्न जाने बेलामा उहीँ जाने, घर आउने बेलामा घरै आउन थालेपछि हैरान भएँ। मैले यो कुरा घरमा समेत भनें। अन्ततः घरपरिवारको सल्लाह अनुसार प्रहरीमा उजुरी गरेर जेलसम्म पुर्‍याउन बाध्य भएँ। पछि सहमतिमा उनी छुटे।

प्रेममा धोका दिएको पहिलो पुरुष?

त्यही मनोज त हो। मलाई दुःख दिने पनि उही, पीडा दिनेपनि उही।

पहिलो पटक लभ लेटर कस्ले लेख्यो?

धेरै बर्षअघिको कुरा हो। प्रेम के हो भन्ने समेत थाहा थिएन। टिनएजमा हुँदाको समय थियो। स्कुल हुँदाको समयमा हो उहाँले लभ लेटर लेखेको। तर, उहाँ केही समयअघि बित्नुभएछ। हालै मात्र थाहा पाएँ। निकै नरमाइलो लागेको छ।

पहिलोपटक बिहेको प्रस्ताव गर्ने पुरुष?

१७ वर्षको हुँदाको समयमा हो। पुरुषको नाम नभनुँ।

बिहे गर्नुपरे कस्तो केटा पाइयोस् भनेर सोच्नुभएको छ?

बिहे नगर्ने। बिहे भएपछि निकै तड्पिएँ। केटा मान्छेले निकै अधिनमा राख्न खोज्छन्। मेरो मन भाँचिएको छ। फेरी बिहे हुन्छ जस्तो लागेकै छैन।

अहिले कोही पछि लागेका छैनन्?

४–५ वर्षदेखि पछि लागेका धेरै छन्। बिहे गरौं भन्नेहरु पनि आउनुभएको छ।

जीवनमा सबैभन्दा धेरै मन दुःखाएको पुरुष?

त्यही मनोज हो।

सबैभन्दा मनपर्ने चलचित्रको हिरो?

अमिताभ बच्चन। अमिताभ मेरो आफ्नो बा जस्तै हुनुहुन्छ।

सबैभन्दा मन परेको पुरुष निर्देशक?

संजय लिला भन्साली। स्क्रिप्ट देखि निर्देशन देखि सबै कुरामामा उहाँले गर्ने मिहेनतको म फ्यान हो।

सबैभन्दा धेरै फोनमा कुन पुरुषसँग कुरा हुन्छ?

ठ्याक्कै यहि भन्ने छैन। म बिरामी हुने बेलामा राजकुमार घिमिरे २४ सै घण्टा गफ गर्नुहुन्थ्यो। अहिले निको भएँ, ठिक छु। अहिले धेरैसँग कुरा भैरहेको हुन्छ।

सबैभन्दा मन पर्ने पुरुष नेता?

मदन भण्डारी। तर, अहिले उहाँ हुनुहुन्न। उहाँ भएको भए नेपाल यत्तिको भद्रगोल हुँदैन थियो कि।

ड्रेस सेन्स भएको हृयाण्डसम पुरुष?

भुवन दाइ।

कोही पुरुषले तपाईंको हातको झापड खाएका छन्?

हान्या छु। राम्रैसँग कुट्या छु। यसरी मेरो हातबाट कुटाइ खाने पुरुष धेरै छन्।

कान्तिपुर दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्