एमाले अध्यक्ष ओली र चिनियाँ नेता लिउबीच भेट, के भयो कुराकानी ?



काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

मङ्गलवार भक्तपुरको बालकोटमा भएको भेटवार्ताका क्रममा दुई पक्षीय सम्बन्धका बारेमा चर्चा भएको थियो । लिउ जियनचाओले नेपाल चीनको अत्यन्त नजिकको मित्र राष्ट्र भएको र नेपालको विकासको साझेदार रहेको भन्दै यसलाई निरन्तरता दिन चाहेको बताएको एमाले नेता डा। राजन भट्टराईले जानकारी दिएका छन।

एमाले अध्यक्ष ओलीले आफूहरू एक चीन नीतिप्रति प्रतिबद्ध बताएका थिए । नेपालबाट चीन विरोधी कुनै पनि गतिविधि नहुने समेत ओलीले बताएका छन् ।

ध्यक्ष ओलीले लिउलाई राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय परिवर्तन आउँदासमेत एमालेको चीन नीति उही रहने प्रस्ट पारेका थिए । ‘हामी पारस्परिक समानता र लाभको आधारमा सम्बन्ध राख्छौं,’ ओलीले भनेका थिए ।

ओलीले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)लाई इंगित गर्दै नेपाल र चीनबीच भएको सहमतिहरुलाई अघि बढाउन पर्नेमा जोड दिएका थिए । ‘हिजो दुवै मुलुकको हितको लागि हामीले जे–जे सहमति गरेका थियौं, त्यसलाई अघि बढाउन जरुरी छ,’ ओलीको भनाइ थियो ।

नेपालले आफ्नो नीति र निर्णय स्वतन्त्र रूपमा गर्ने र चीनले पनि स्वतन्त्र रूपमा आफ्नो नीति बनाउने भएकाले यसअघि जस्तो सम्बन्ध थियो, त्यही रूपमा नै अघि बढ्ने विषयमा सघन कुराकानी भएको भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्