लमजुङका उत्कृष्ट सामुदायिक र कवुलियती वन समूह पुरस्कृत



लमजुङ । डिभिजन वन कार्यालय लमजुङले जिल्लाका उत्कृष्ट सामुदायिक र कवुलियती वन समूहलाई पुरस्कृत गरेको छ।

कार्यालयले आर्थिक वर्ष ०७८–७९ को कार्यक्रम अन्तर्गत जिल्ला भित्र रहेका तिन वटा सामुदायिक र तिन वटा कवुलियती वन गरी ६ वटा उपभोक्ता समिति तथा समूहलाई सम्मान सहित पुरस्कृत गरेको हो। उत्कृष्ट वन संरक्षण र व्यवस्थापन कार्य गर्ने समूहलाई छनौट गरी सम्मान गरेको हो। पुरस्कृत हुने सामुदायिक वनहरूमा राईनास नगरपालिका–८, स्थित कालिका सामुदायिक बन उपभोक्ता समिति प्रथम भएको छ। त्यसैगरी सामुदायिक बन तर्फ मायादु सामुदायिक बन उपभोक्ता समिति, मर्स्याङ्दी–५ दोस्रो र चिप्लेटी देवी सामुदायिक बन उपभोक्ता समिति दोर्दी–२, तेस्रो भएको छ।

यसैगरी कवुलियती बनतर्फ दोर्दी गाउँपालिका–६, अन्तर्गत थुम्की खर्क कबुलियती बन समूह प्रथम भएको छ। कबुलियती बन तर्फ राईनास–५ को सिमखोला कबुलियती बन समूह दोस्रो र दुधपोखरी–६ अन्तर्गतको सुनिता कबुलियती बन समूह तेस्रो भएको छ।

सामुदायिक वन तर्फका उत्कृष्ट समूहहरूले क्रमशः नगद १२ हजार, ९ हजार र ६ हजार सहित प्रमाण पत्र पाएका छन्। त्यस्तै कवुलियती बन तर्फका उत्कृष्ट समूहहरूले क्रमशः १२ हजार, ९ हजार र ६ हजार रुपैयाँ नगद सहित प्रमाण पत्र प्राप्त गरेका हुन्।

उत्कृष्ट भएका उपभोक्ता समूहलाई एक कार्यक्रमबीच नगदसहित प्रमाणपत्रले सम्मान गरिएको डिभिजन बन कार्यालय लमजुङले जनाएको छ। कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारीशुसिल वैद्य, र डिभिजन बन कार्यालय लमजुङका प्रमुख पूणेश्वर सुवेदीले नगद सहित टिका खादा र प्रमाण पत्र दिएर सम्मान गर्नुभएको थियो।

सोही कार्यक्रमको अवसरमा डिभिजन बन कार्यालयले वर्षका उत्कृष्ट कर्मचारीहरूलाई पनि सम्मान गरेको छ। डिभिजन वन कार्यालयका अनुसार जिल्लाको कुल भूभाग मध्ये ५५ प्रतिशत क्षेत्र बनले ढाकेको छ। जसमध्ये ३६ प्रतिशत बन क्षेत्र व्यवस्थापन सामुदायिक वन उपभोक्ता समितिहरूले गर्दै आएका छन् भने १ प्रतिशत वन कवुलियती बन क्षेत्र अन्तर्गत रहेको छ। जिल्लामा हाल ३ सय ३९ सामुदायिक तथा १ सय ७२ कवुलियती वन समूह रहेका छन्।

प्रतिक्रिया दिनुहोस्