सब-इन्जीनियरमाथि १ लाख रकम घुस नपाएपछि अधुरो भुक्तानी दिएको आरोप



बैतडी । डिभिजन वन कार्यालय बैतडीका सब–इन्जीनियर महानन्द पन्तले सेवाग्राहीबाट माग गरेको १ लाख रकम घुस नपाएपछि अधुरो भुक्तानी गरेको आरोप लागेको छ।

जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर–४ स्थित मठैराज मन्दिरमा आवासगृह निर्माणमा लागि प्रदेश सरकारबाट आएको १० लाख रकममा १ लाख घुस दिन नसकेपछि अधुरो भुक्तानी भएको उपभोक्ता समिति अध्यक्ष पन्तले बताए।

उनले भने, ‘मन्दिरको भएको र देउताको कसम खाँदै एक रुपैयाँ पनि हिनामिना नगर्ने सोचले काम गरेका हौं। सोही अनुसार स्टिमेटमा भएका सबै काम पुरा गरेका छौं। काम सम्पन्न भए पश्चात् डिभिजन प्रमुख र प्राविधिक आएर जाँच गर्दा ९ लाख ७० हजारको काम भएको भन्दै सोही अनुसारको कागजात तयार गरे । भुक्तानीका लागि आउनु भनियो र डिभिजन वन कार्यालयमा जाँदा हामीलाई प्राविधिकले विभिन्न बाहानमा ३ दिन अलमल्याए। अन्ततः १ लाख रकम दिए मात्रै भुक्तानी गर्ने बताएपछि ८० हजारको चेक र ५ हजार नगद दिएर घर फर्कियौं। मैले चेक दिए पनि त्यस खातामा पैसा छैन भने।’

सम्झौताका बखत पहिलो किस्ता ३ लाख २० हजार र अन्तिममा ४ लाख ५२ हजार ८ सय ८० रुपैयाँ गरी ७ लाख ७२ हजार ८ सय ८० रुपैयाँ मात्रै खातामा प्राप्त भएको बताए।

उपभोक्ता समिति अध्यक्ष पन्तले भने, ‘घुस माग्ने प्राविधिकले आफूलाई दिएको ८० हजारको चेक नसाटिएमा पुरा भुक्तानी नगर्ने चेतावनी दिएका थिए। सोही अनुसार झन्डै २ लाख रकम कम दिएकै छाडे।’

स्टमेट अनुसार काम नभएका योजनामा रकम घट्न सक्ने डिभिजन वन अधिकृत भीमप्रसाद कँडेलले बताए। डिलाशैनीसहित केही आयोजनामा कम रकम भुक्तानी भएको उनको भनाई छ। उनले भने,‘फिल्डमा गएको बेला भीडमा बढी मूल्यांकन गरिए पनि पछि फोटो हेर्दा कम काम भएको पाइयो। त्यसैले रकम घटेको हो,’ उनले भने।

कर्मचारीले घुस मागेको विषय प्रमाणित भएमा सम्बन्धित व्यक्तिलाई तत्काल कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए।

प्रतिक्रिया दिनुहोस्