सिल प्याक पानीको बोतलमा माकुरो भेटिएपछि…



कैलाली कैलालीको टीकापुरमा एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानीको बोतलमा माकुरो भेटिएको छ । आकाश गङ्गा वाटर एण्ड वेभरेज इन्ड्रस्टिज बर्दगोरिया कैलालीले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएको हो ।

टीकापुरमा रहेको बिभोर मेडिकलमा ग्राहकले पानीको बोतल मागेपछि बोतलमा माकुरो देखिएको मेडिकलका सञ्चालक सञ्जय भण्डारीले जानकारी दिए ।

उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका अध्यक्ष एकेन्द्र तिमिल्सिनाले सिल प्याक पानीभित्र माकुरो देखिनु उपभोक्तामाथिको गम्भीर लापर्बाही भएको बताए । उनले खानेपानी संस्थाको पानी नखाएर शुद्ध पानीका लागि प्रशोधित पानी पिउने गरेको भए पनि आँखाले देखिने खालको प्रमाणले खानेपानी कम्पनीमाथि प्रश्न उब्जाएको बताए ।

आकाश गङ्गा वाटर एण्ड वेभरेज इन्ड्रस्टिजका सञ्चालक ओमनारायण महतोले आफूले उत्पादन गरेको पानीमा त्यस्तो हुन नसक्ने बताए । उनले कसैले आफूमाथि रचेको प्रोपोगान्डा मात्रै भएको भन्दै आफ्नो व्यवसायलाई कमजोर बनाउन खेलिएको खेल भएको बताए ।

मेडिकल सञ्चालक भण्डारीले उपभोक्ता हित संरक्षण मञ्चलाई हस्तान्तरण गरेको उक्त पानीको गुणस्तर जाँच र आवश्यक कारबाहीका लागि इलाका प्रशासन कार्यालय टीकापुरमार्फत जिल्ला प्रशासन कार्यालय धनगढी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्