छानबिन समितिले पूर्वअर्थमन्त्री शर्मासँग कागजात र विवरण माग्ने



काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले भोलि बुधवार अर्थ मन्त्रालयसँग शर्मासँग सम्बन्धित कागजात र विवरण माग्ने निर्णय गरेको छ ।

आज मङ्गलवार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको पहिलो बैठकले समितिको कार्यविधि पास गर्दै पूर्व अर्थमन्त्री शर्मासँग सम्बन्धित कागजात र विवरणका लागि मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको समिति सचिव सुरेन्द्र अर्यालले बताएका छन। उनले आजको बैठकले छानबिन समितिको सभापति सर्वसम्मतिबाट छान्ने निर्णय भएको पनि जानकारी दिए।

सचिव अर्यालले आजको बैठकको सभापतित्व ज्येष्ठ सदस्यका हैसियतमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले गर्नुभएको बताएका छन । अर्को बैठक भोलि दिउँसो बस्ने उनले जानकारी दिए ।

शर्माले अर्थमन्त्री हुँदा २०७९-०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय छिराएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

संसदीय छानबिन समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य रहेका छन भने समितिमा नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेत रहेका छन । यस्तै नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छानबिन समितिमा छन । छानबिन समितिले पहिलो बैठक बसेको १० दिनभित्र प्रतिवेदन तयार पारिसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्