बीआरआई सम्झौताको कार्यान्वयनमा ढिलाइ गर्नुहुन्न : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले चिनियाँ बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई परियोजना)मा नेपालसँग भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभाग प्रमुख लिउ जियान्चाओसँगको भेटमा कांग्रेस पदाधिकारीले चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको विकास सहायता र सहयोगको उच्च कदर गरेका थिए । भविष्यमा अझै प्रभावशाली सहयोगको सदैव अपेक्षा राख्दै बीआरआई परियोजना कार्यान्वयनमा जोड दिइएको महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।

बीआरआईबाट नेपालले लाभ लिनुपर्छ भन्ने कांग्रेसको धारणा रहेको जानकारी गराउँदै चिनियाँ प्रतिनिधिमण्डललाई नेपालले विगतमा गरेका विभिन्न सहमति तथा सम्झौताको कार्यान्वयनमा ढिलाइ गर्नु नहुनेमा जोड दिएको थापाले बताए ।

नेपालमा विद्यमान विकासको आवश्यकता, उत्कट चाहना र त्यसका लागि आवश्यक स्रोतको अभाव र अन्तरलाई परिपूर्ति गर्न सबै छिमेकी तथा मित्र राष्ट्रहरूबाट नेपालको राष्ट्रिय हित अनुकूल सहयोग र सहायता लिनुपर्छ भन्ने कांग्रेसको धारणा रहेको चिनियाँ प्रतिनिधिमण्डललाई जानकारी गराइएको थियो ।

‘राष्ट्रिय हितमा हुनेगरी सबै मित्र राष्ट्रहरूबाट विकास सहायता लिन्छौं । नेपालको विद्यमान आर्थिक अवस्था र विकासको जुन चरणमा नेपाल आज उभिएको छ त्यस चरणबाट अघि बढ्न सबै मित्र राष्ट्रहरूबाट प्राप्त हुने स्रोतको व्यवस्थापन आवश्यक रहेको छ,’ कांग्रेस पदाधिकारीले चिनियाँ प्रतिनिधिमण्डललाई भनेका थिए ।

कांग्रेसले आफ्नो पार्टी एक चीन नीतिमा प्रतिबद्ध रहेको पनि जानकारी गराएको थियो। नेपाली भूभाग छिमेकी तथा मित्र राष्ट्रका विरुद्धमा प्रयोग हुन नदिने कुरामा प्रस्ट, संवेदनशील र सचेत रहेको थापाले बताए।

शक्ति राष्ट्रहरूबीच हुने कुनै पनि रणनीतिक, सामरिक, सैन्य गठबन्धन वा अन्य प्रकारका प्रतिस्पर्धामा नेपाल सहभागी हुँदैन र हुनुहुँदैन भन्नेमा आफूहरु स्पष्ट रहेको कांग्रेसले जानकारी गराएको थियो ।

चीनप्रतिको कांग्रेसको धारणा र दृष्टिकोण चुनावी परिणाम वा सरकारमा नेपाली कांग्रेसको उपस्थितिको बनोटबाट निर्देशित नहुने पनि प्रस्ट पारिएको थियो।

प्रतिक्रिया दिनुहोस्