जसपा सकस : फुट्नुअघि एकता आह्वान



काठमाडौं । अध्यक्ष उपेन्द्र यादवसँग असहमत भएर पार्टीबाट अलग हुने घोषणा गरेका जनता समाजवादी पार्टी नेपाल (जसपा)का सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी एकताका लागि आह्वान गरेका छन् ।

काठमाडौंको जडिबुटीमा मङ्गलबार २ दिने आफू पक्षीय केन्द्रीय समितिको बैठक बोलाएर भट्टराईले वीरगंजको बैठक स्थगित गरेर उपेन्द्र यादव पक्षलाई वार्ता गर्न आह्वान गरेका हुन् ।

भट्टराईले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको बताउँदै अब पार्टी विभाजन हुने÷नहुने टुङ्गो अध्यक्ष यादवको हातमा रहेको बताएका हुन् ।

अध्यक्ष यादवले पनि आफू पक्षीय नेताहरूको बैठक वीरगंजमा बोलाएका छन् । यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबारदेखि सुरु हुँदै छ । जसपा नेपाललाई देशमा वैकल्पिक शक्तिको रूपमा निर्माण गर्न लागेको बताउँदै भट्टराईले सङ्ख्या र बहुमत आफूसँग रहेको दाबी गरे ।

उनले आफूहरूको बैठक नै वैधानिक रहेको पनि दाबी गर्दै अध्यक्ष यादवलाई वार्ता गरी पार्टी जोगाउन आग्रह गरेको बैठकमा सहभागी एक नेताले बताए ।

अध्यक्ष यादवले पार्टीमा कसैलाई जानकारी नदिई एकलौटी रूपमा वीरगंजमा बैठक बोलाइएको पनि भट्टराईले बताए । बैठकमा भट्टराईले ‘पार्टी रूपान्तरण-पुनर्गठनको औचित्य र कार्यभार’ शीर्षकमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

प्रतिवेदन प्रस्तुत गर्दै भट्टराईले भने, ‘जसपाको वैधानिक बहुमत आफूहरूसँग रहने वा नरहने निर्वाचन आयोगको प्रक्रियाले टुङ्गिनेछ । तर, दुवै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ ।’

पार्टी पुनर्गठन के कसरी गर्ने भन्ने ठोस निर्णय विस्तारित बैठकले गर्ने भन्दै उनले २ वटा विकल्प अघि सारेका छन् । पहिलो, नयाँ ढङ्गले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने र दोस्रो, विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, एकीकरण गर्दै जाने भनिएको छ ।

फुटको अन्तिम सङ्घारमा

यादव र भट्टराई दुवैले आफ्ना पक्षको छुट्टछुट्टै बैठक गरेपछि जसपा विभाजनको अन्तिम विन्दुमा पुगेको छ । तर, पार्टी विभाजन यादव पक्षले वीरगंजमा बोलाएको बैठकमा भर परेको छ ।

भट्टराईले वीरगंजको बैठक स्थगित गरेर छलफलका लागि आउन यादवलाई आह्वान गरे पनि यादव पक्षबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

भट्टराई पक्षका नेता महिन्द्रराय यादवले आफूहरू कुनै पनि हालतमा पार्टी विभाजन नहोस् भन्ने पक्षमा रहेको बताए । ‘तर, हामीले भनेर मात्र हुँदैन । यसका लागि उपेन्द्र यादव पनि तयार हुनुपर्छ’, उनले भने ।

आफूहरूलाई कुनै जानकारी नै नदिई वीरगंजमा बैठक बोलाइएको भट्टराई पक्षीय नेताहरूको गुनासो छ । यादवले उक्त बैठक पार्टी विभाजनका लागि नभई कार्यकर्तालाई यथार्थ बताउन बोलाइएको पनि दाबी गरे ।

‘हामी एकताकै पक्षमा छौँ तर यादव पक्षको बैठकले के निर्णय गर्छ, पार्टी एकता त्यसैमा निर्भर छ’, उनले भने । वीरगंजको बैठकले पनि छलफल र सम्वाद गरेर पार्टीको समस्या समाधान गर्ने लाइन लियो भने त्यसले पार्टीलाई जोगाउन सकिने उनले बताए । यादवले उक्त बैठक पार्टी पुनर्गठनको अभियान रहेको पनि दाबी गरे ।

लोकतन्त्र ‘ठिमाहा र खच्चड’

भट्टराईले नेपाली कांग्रेसले मान्ने गरेको लोकतन्त्र ‘ठिमाहा र खच्चड खालको’ भएको टिप्पणी गरेका छन् ।

भट्टराईले राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई लोकतन्त्रलाई ‘पर्फेक्ट एन्ड पियोर’ बनाउन कुनै रुचि नभएको उल्लेख गरेका छन् ।

‘दस्तावेजमा कांग्रेसले प्रजातान्त्रिक समाजवाद लेख्ने गर्छ तर उसको नीति, कार्यक्रम र व्यवहारमा समाजवाद अहिलेसम्म कहीँ कतै देखिएको छैन’, भट्टराईको प्रतिवेदनमा छ, ‘कांग्रेसले भन्ने गरेको प्रजातन्त्र पनि पुरानो, ठिमाहा, खच्चड, संसदीय र औपचारिक लोकतन्त्र मात्र हो ।’

डा. भट्टराईले लोकतन्त्रका विश्वव्यापी मूल्य, मान्यताको रक्षाको प्रश्नमा कांग्रेससँग सहकार्य हुने र बाँकी प्रश्नमा प्रतिस्पर्धा र सङ्घर्ष हुने खुलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्