धनुषाका किसानका दुःख : सधैँ मलकै धपेडी



  • जयन्त ठाकुर

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका– २४ बसहियाका ५२ वर्षीय महेश सहनीको करिब ३ बिघा जग्गा छ । उनी प्रत्येक वर्ष मौसमअनुसारको खेती गर्छन् । खेतबाट उब्जनी भएको अन्नबालीले नै वर्षभरि घरपरिवारको धान्ने गर्छन् ।

धानबालीको सिजनमा उनको १ कठ्ठाको एउटा खेतमा करिब २ देखि ३ क्विन्टलसम्म धान उब्जिने गर्छ । अहिले धान फलाउने मौसम रहेकाले उनको खेतमा धानबाली लगाइएको छ । तर, यसपालि भने उनले लगाएको धानबालीबाट कतिसम्म धान उत्पादन हुन्छ भन्नेमा चिन्तित छन् ।

महेशले भने यसपालि अहिलेसम्म जसोतसो ५ बोरासम्म युरिया मल जुटाउन सकेका छन् । ‘हाम्रालागि प्रत्येक वर्ष मलको अभाव एउटा ठूलो समस्याको रूपमा रहँदै आएको छ’, महेशले भने, ‘कृषि सामग्रीका कर्मचारीहरूले कहिले भोलि आउनू भन्छन् कहिले आज भएन १० दिनपछि आउनू, यसरी दौडधुप गर्दागर्दै महिनौँ बित्छ ।’

धानको राम्रो उत्पादनका लागि रोपाइँ सकिएको १५ देखि २० दिनमै मल छर्किनुपर्ने भए पनि आफूहरूले आजसम्म कहिल्यै समयमै मल नपाएको बसहियाकै अर्का किसान सुरेश महतो बताउँछन् ।

‘अन्य वर्षहरूमा हामीले जसोतसो मलको व्यवस्था गरिहाल्थ्यौँ, यसपालि त झन् समस्या थपिएको छ’, सुरेशले भने, ‘सरकारी मल पाइएन भने सीमापारि गएर पनि २ रुपैयाँ महँगो नै भए सहजै पाइन्थ्यो, विगत केही वर्षदेखि त्यो पनि सहज छैन ।’

३९ वर्षीय किसान रामबाबु सहनीले पनि १० कठ्ठा खेतमा धानबाली लगाएका छन् । उक्त खेतीपातीबाट उनले वर्षमा करिब २० क्विन्टलसम्म धान उत्पादन गर्ने गरेका छन् । उत्पादित धानले उनलाई १ वर्ष चामल किन्नुपर्दैन बरु बाँकी रहेको धान उनले बेचेर आम्दानीसमेत गर्ने गर्छन् ।

यसपालि भने उनको खेतले घरलाई वर्षभरि चलाउनका लागि पनि धान उत्पादन गर्छ वा गर्दैन भन्नेमा उनलाई पिर छ ।

‘अन्य वर्षहरूमा सरकारी मल जसोतसो पाइहाल्थ्यौँ, नभए भारतबाट भए पनि मल ल्याएर खेतमा छर्किने गथ्र्यौं तर केही वर्षयतादेखि पारिबाट मल ल्याउन पनि समस्या भइरहेको छ । पारिबाट मल ल्यायो कि प्रहरी लखेट्छ’, रामबाबुले भने, ‘घरमा खानका लागि पनि धान उत्पादन हुन्छ वा हुँदैन, त्यो पनि गाह्रो नै छ ।’

मलका लागि प्रत्येक वर्ष साताको २ देखि ३ पटकसम्म उनी कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालय र साल्ट ट्रेडिङको कार्यालय चहार्ने गर्छन् तापनि रित्तै हात फर्किन बाध्य हुन्छन् ।

खेतमा धान रोपेलगत्तै डीएपी मलको आवश्यकता हुन्छ । ‘डीएपी पाउने आशामा साल्ट्र ट्रेडिङ र कृषि सामग्रीमा धाउने गरेका छाँै । हेरक वर्ष त्यही हालत हुन्छ’, रामबाबुले भने ।

यसका लागि आफूहरूले आफ्ना वडाका अध्यक्षलाई पहल गरिदिन आग्रह गरे पनि कुनै वास्ता नगरेको उनको गुनासो छ ।

‘उहाँहरूले हाम्रो अधिकारको विषय नै होइन, हामीले कहाँबाट कसरी पहल गरिदिने भन्ने जबाफ फर्काउनुहुन्छ’, अर्का किसान लक्ष्मण साहले भने, ‘त्यसैले अब हामीले कसैलाई भन्दै भन्दैनौँ । जे जसरी चलिरहेको छ, त्यसमै व्यवस्थापन गरी काम चलाइरहेका छौँ ।’

गत वर्ष धानको सिजनमा डीएपी नपाएका किसानहरू यस वर्ष पनि आवश्यक परेका बेला जिल्लामा मल पाउने वा भारतीय बजारबाटै ल्याउनुपर्ने हो भन्ने दोधारमा छन् ।

कृषि सामग्रीमै छैन मल

मलखादको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले गर्दै आएको छ ।

आपूर्तिको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनीको र ३० प्रतिशत साल्ट ट्रेडिङको रहे पनि सहज रूपमा कुनै वर्ष मल नपाउने गरेको किसानहरूको गुनासो छ ।

सरकारले अनुदानमा उपलब्ध गराउने मलको अभाव भएपछि बजारमा कालोबजारी गरी बिक्री गरिँदै आएको गुणस्तरहीन मल किन्न किसानहरू बाध्य छन् ।

धान रोपेलगत्तै आवश्यक पर्ने डीएपी मलको मधेस प्रदेशमा चरम अभाव छ । कृषि सामाग्री केन्द्र लिमिटेड जनकपुरका अनुसार धनुषा र महोत्तरीमा मात्र यतिबेला ५ हजार मेट्रिक टन मलको आवश्यकता छ । तर, कृषि सामग्रीसँग १ बोरासम्म मल नरहेको कार्यालयका निमित्त प्रमुख बेचनकुमार साहले जानकारी दिए ।

१ बोरा युरिया मल खरिद गर्नकै लागि अहिले ८०२ रुपैयाँ, डीएपी मलका लागि बोराको २ हजार २५१ रुपैयाँ खर्चेर सहकारीहरूले लैजाने गरेको कृषि सामग्री केन्द्र लिमिटेडले जनाएको छ । तर, अहिलेसम्म वीरगंजबाट मलको एक खेप पनि जनकपुर नआएकाले सहकारीलाई अझै पनि कुर्नुपरिरहेको निमित्त प्रमुख साहले बताए ।

कृषि सामग्री केन्द्र लिमिटेडको मधेस प्रदेशको प्रादेशिक कार्यालय वीरगंजका प्रमुख चन्द्र चौलागाईंले मधेस प्रदेशका लागि मल आए पनि ठेकेदारले मल पु¥याउन नमानेपछि धनुषा र महोत्तरीमा मलको अभाव देखिएको बताए । सहकारीहरू आफैँले यहाँबाट मल लैजानुपर्ने निर्णय भएकाले उनीहरूले आफैँ लैजाने जानकारी दिए ।

धनुषा र महोत्तरीका गरी कुल २०५ वटा सहकारी संस्थाले वीरगंजबाट आफैँले मल नलैजाने भन्दै सामूहिक निर्णय नै गरेका छन् । त्यसको अन्य विकल्प खोज्नका लागि उनीहरूले दबाब सिर्जना गरिरहेका छन् ।

कृषि सामग्री केन्द्र लिमिटेडको प्रादेशिक कार्यालयका प्रमुख चौलागाईंले मधेस प्रदेशका लागि ५ हजार मेट्रिक टन मल मात्र आएको जानकारी दिए, जसमध्ये ४ हजार मेट्रिक टन मल वितरण भइसकेको उनले बताए । बाँकी मल ल्याउन केही दिन अझै कुर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्