सुपर कप फुटबल : चेल्सीलाई हराउँदै लिभरपुल च्याम्पियन



काठमाडौं : लिभपुलले सुपर कप फुटबलको उपाधि जितेको छ। टर्कीस्थित भोडाफोन रंगशालामा बुधबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्द्वी चेल्सीलाई पेनाल्टी सुटआउटमा हराउँदै लिभरपुलले सुपर कप फुटबलको उपाधि जितेको हो।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। जसमा, लिभरपुलले चेल्सीलाई ५–४ गोलले हरायो। निकै प्रतिस्पर्धात्मक खेलमा अग्रता भने चेल्सीले लिएको थियो।

३६ औं मिनेटमा ओलिभर जिराउडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको लिभरपुलका लागि ४८ औ मिनेटमा साडियो मानेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यस्तै ९५औँ मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए।

तर, खेलको १०१ मिनेटमा जोर्गिन्होले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए। जोर्गिन्होले पेनाल्टीमार्फत गोल गरेका थिए। त्यसपछि खेल टाइब्रेकरमा धकेलियो, जहाँ लिभरपुलले खेल ५–४ ले जित्यो।

टाइब्रेकरमा लिभरपुलका गोलकिपर एड्रियनले टमी अब्राहमको पेनाल्टी रोकेपछि च्याम्पियन्स लिग विजेता लिभरपुलले सिजनको पहिलो उपाधि उचालेको हो। मुख्य गोलकिपर एलिसन घाइते भएपछि एड्रियनलाई गोलकिपरको जिम्मेवारी दिइएको थियो। 

प्रतिक्रिया दिनुहोस्