निर्दोषलाई किन फसायो प्रहरीले ?



काठमाडौं । नेपाल प्रहरीमाथि रिसिईबी साँध्न अरुको इसारामा निर्दोष व्यक्तिलाई फसाएको आरोप लागेको छ । कस्तुरीको बिनासहित पक्राउ परेका पाँचधर तुमबिया गाउँपालिका–५ स्थायी ठेगाना भएका ४२ वर्षका शिव लिम्बुलाई प्रहरीले नै फसाएको आरोप लागेको हो ।

गत बिहीबार काठमाडौंको चाबहिलबाट महानगरीय प्रहरी वृत्त गौशालाले लिम्बुलाई कस्तुरीको बिनासहित पक्राउ गरेको थियो । प्रहरीले लिम्बुलाई पक्राउ गरी बा ८२ प ५७९ नम्बरको मोटरसाइकल खानतलासी गर्ने क्रममा कस्तुरीको बिना बरामद गरेको हो ।

प्रहरी नियन्त्रणमा रहेका उनका परिवारले प्रहरीको मिलेमतोमा लिम्बुलाई फसाएको दाबी गरेका छन् । यस घटनाको सीसीटीभी फुटेज पनि बाहिर आएको छ । घटनालाई सुनियोजित हिसाबले लिम्बुलाई फसाउन प्रहरी परिचालित भएको भन्न सकिने फुटेज सार्वजनिक भएको हो ।

उक्त सीसीटीभी फुटेजमा एक व्यक्तिले लिम्बुको मोटरसाइकलमा रातो झोला राखेको देखिन्छ । झोलाभित्र राखिएको सामान त्यहि कस्तुरी बिना हो । रातो झोला राखेर उनी अगाडिको रेष्टुरेन्टमा पसेको पनि देखिएको छ ।

केहीबेरपछि सादा पोशाकमा आएका प्रहरी समेत लिम्बु पसेको होटलमा पसेको फुटेजमा देख्न सकिन्छ । त्यस्तै प्रहरी मध्येकै एक जनाले मोटरसाइकलमा झोला राख्ने व्यक्तिलाई बोलाएको पनि सीसीटीभी फुटेजमा देखिन्छ । जसले गर्दा यस घटनामा प्रहरीकै संलग्नता छ कि भन्ने शंका उब्जिएको हो ।

के थियो घटना?

कपनमा परिवारसहित बस्दै आएका लिम्बु गत बिहीबार दिउँसो १ बजेर ३५ मिनेटमा चावहिलको एक रेष्टुरेन्टमा आफ्नो मोटरसाइलमा पुग्छन् । रेष्टुरेन्ट अगाडि मोटरसाइकल पार्किङ गर्छन्, रेष्टुरेन्ट भित्र पस्छन् । जुन दृश्य सीसीटिभी फुटेजमा प्रष्ट देखिएको छ ।

सोही क्रममा भिडियो फुटेजमा लिम्बुको मोटरसाइकलमा अरु नै कसैले कस्तुरी बिना राखिदिन्छन् । प्रहरी र त्यो काम गर्ने व्यक्तिबीच हिमचिम देखिन्छ । दुवै पक्षको योजनामा लिम्बुलाई फसाउनेअनुसार काम भएकोमा शंका छैन ।

साँझसम्म लिम्बु त्यहि रेष्टुरेन्टमा हुन्छन् । साँझ ५ बजेर ४० मिनेटमा लिम्बुले पार्क गरेको बुलेट मोटरसाइकलतिर कालो पाइन्ट–निलो कालो विन्ड चिटर–कालो क्याप–सेतो कालो जुत्ता लगाएका एक युवक क्यामेराको फ्रेममा देखा पर्छन् । युवक लिम्बुको मोटरसाइकल पार्क गरिएको स्थानमा पुग्छन् ।

आफ्नो विन्ड चिटरको गोजीबाट रातो कपडामा बेरिएको केही वस्तु निकाल्छन् र त्यहि बुलेट मोटरसाइकलको सिट मुनी राखिदिन्छन् । रातो कपडामा बेरिएको वस्तु सिट मुनी घुसारेपछि ती व्यक्ति अगाडि रहेको एक रेष्टुरेन्टभित्र छिर्छन् ।

यसपछि ६ बजेर ४ मिनेटमा शिव लिम्बु आफैं पनि रेष्टुरेन्टबाट बाहिर निस्किन्छन्न् । आफ्नो मोटरसाइकलमा रातो वस्तु राखेकै ठाउँमा हेर्छन् । तर, चलाउँदैनन् । फेरी रेष्टुरेन्टभित्र जान्छन् ।
६ बजेर ५ मिनेटमा पहेंलो ज्याकेट लगाउने व्यक्तिको पछि लागेर तीनजना मानिसहरु शिव लिम्बु रहेकै रेष्टुरेन्टमा लहरै प्रवेश गर्छन् । यी तीनै जना गौशाला वृत्तबाट खटिएका सादा पोशाकका प्रहरीहरु रहेको खुलेको छ ।

केही समयमा तिनीहरु रेष्टुरेन्टबाट बाहिर निस्किन्छन् । र ‘यता आउनु’ भन्दै मोटरासइकलमा रातो कपडा राख्ने व्यक्तिलाई बोलाउछन् । ती व्यक्ति आउँछन् र सादा पोसाकका प्रहरीसँग कुराकानी हुन्छ ।

ती अपरिचित व्यक्ति फर्किसकेपछि सादा पोशाकका प्रहरीहरुले मोबाइल झिकेर मोटरसाइललाई फोकस बनाएर फोटो खिच्न थाल्छन् । रातो कपडा भित्र के छ भन्ने कुरा खोलेर हेर्नुअघि नै उनीहरु फोटो खिच्न थालेको फुटेजमा देख्न सकिन्छ ।

त्यसपछि सादा पोशाकका प्रहरीहरुले बर्दीका प्रहरीलाई खबर गर्छ । लिम्बुको मोटरसाइकलमा राखिएको वस्तु कस्तुरी बिना हो होइन भन्ने जाँच गर्नुअघि नै रेष्टुरेन्टभित्र उनलाई हत्कडी लगाएर बाहिर निकालिन्छ । बर्दीका प्रहरीहरु घटना मुचुल्का गर्न कागज बोकेर आइपुग्छन् ।

यस्तो सीसीटिभी फुटेजको दृश्यले शिव लिम्बुको मोटरसाइकलमा कालो क्याप, मास्क लगाएको व्यक्तिले नै रातो कपडामा कस्तुरीको बिना राखिदिएको स्पष्ट हुन्छ । तर, ती प्रहरी र अपरिचित व्यक्तिको नाम प्रहरीले खुलाएको छैन ।
यहिँबाट बुझ्न सक्न्छि– मोटरसाइकलमा कस्तुरी बिना राखिदिने र प्रहरीबीच पहिले नै व्यवस्थित रुपमासेटिङ भएको हो ।

‘मोस्ट वान्टेड’ अपराधीलाई जस्तो व्यवहार !

त्यतिमात्र होइन, ती सादा पोसाकका प्रहरीहरु शिवलाई हत्कडी लगाएरै कपनस्थित डेरामा पनि पुगे । खानतलासी गरे । डेरामा खानतलासीका नाममा सिरक डस्ना उथलपुथल पारे । कुनै मोस्ट वान्टेड अपराधीलाई पक्राउ गरिसकेपछि प्रहरीमा देखिने जस्तो व्यवहार डेरामा देखाएको उनका पत्नी प्रतिमा बताउँछिन् ।

पारिवारिक स्रोतका अनुसार शिव अपराधिक पृष्ठभूमिका व्यक्ति होइनन् । हालसम्म कुनै पनि प्रकारको अपराधमा उनी जोडिएका पनि छैनन् । शिवकी पत्नी प्रतिमाका अनुसार तीन महिनाअघि शिवको स्थानीय एक व्यक्तिसँग सामान्य झैझगडा परेको थियो ।

ती व्यक्तिले घरमै आएर कुटपिट गर्छु भन्ने धम्की पनि दिएका थिए । धम्की दिए पनि उनी आएका भने थिएनन् । त्यो बाहेक शिव कुनै पनि प्रकारका विवादमा नमुछिएको श्रीमती प्रतिमाको दाबी छ ।

छानबिन समिति गठन

कस्तुरीको बिनासहित पक्राउ परेका लिम्बुलाई प्रहरीले नै फसाएको आरोप लागेपछि प्रहरी प्रधान कार्यालय, नक्सालले छानबिन समिति गठन गर्न निर्देशन दिएको छ । निर्देशनपछि छानबिन समिति गठन भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले जानकारी दिए । कार्यालयका एसपी दीलिप घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायक उपरीक्षक (डिएसपी) कृष्ण चन्द र प्रहरी निरीक्षक (इन्स्पेक्टर) गणेशचन्द्र कोइराला पनि छन् ।

समितिलाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । ‘यस घटनामा प्रहरीको संलग्नता भनेर सञ्चारमाध्यममा आयो’, राठौरले भने, ‘त्यसपछि छानबिन गर्न लागिएको हो । तीन दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।’

प्रतिक्रिया दिनुहोस्