ला लिगाको उद्घाटन खेलमा बार्सिलोना र एथ्लेटिको बिल्बाओ भिड्दै



काठमाडौं : स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन शुक्रबार (आज) बाट सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा बार्सिलोना र एथ्लेटिको बिल्बाओबीच नेपाली समयअनुसार राति १२ः४५ बजेबाट प्रतिस्पर्धा हुनेछ। यो खेल बिल्बाओकै घरेलु मैदानमा हुनेछ।

यस खेलमा दुवै टोली एक–अर्कालाई हराउँदै नयाँ सिजनको ला लिगाको सुखद सुरुवात गर्ने दाउमा छन्। सन् २०१८–१९ को उपाधि विजेता टोली बार्सिलोना बिल्बाओलाई उसैको मैदानमा हराउँदै उपाधि रक्षामा अब्बल बन्ने दाउमा छ।

तर, बार्सिलोनालाई आजको खेलमा बिल्बाओ चुनौती बन्न सक्छ। किनकी, आजको खेलमा बार्सिलोनासँग आफ्ना स्टार खेलाडी तथा कप्तान लियोनल मेस्सी हुने छैनन्। अघिल्लो साता अभ्यासका क्रममा घाइते भएका मेस्सीले आजको खेल गुमाउने पक्का भइसकेको छ।

बार्सिलोनाका मुख्य प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले मेस्सी आजको खेलमा नहुने प्रष्ट पारिसकेका छन्। मेस्सी नभएता पनि बार्सिलोनाको अग्रपंक्ति डेब्यू खेलाडी एन्टोइन ग्रिजम्यान, लुइस स्वारेज र ओस्मान डेम्बेलेले सम्हाल्ने छन्। प्रशिक्षक भाल्भर्डेले यसै सिजन क्लबमा भित्रिएका फ्रेन्की डी जोङलाई मैदान उतार्ने सम्भावना छ।

उनले सार्वजनिक गरेको प्रारम्भिक खेलाडीको सूचीमा डी जोङलाई पनि राखिएको छ। उनका अलाबा उम्टिटी, फिलिप्पे कौटिन्हो, इभान राकिटिक, जेरार्ड पिके, सर्जियो रोबर्टोलगायतका खेलाडीलाई टोलीमा राखिएको छ। बिल्बाओको टिममा चर्चित अनुहार छैन तर, टिम निकै सन्तुलित रहेको छ। यस्तै बिल्बाओलाई घरेलु समर्थकको साथ रहनेछ।

प्रतिक्रिया दिनुहोस्