विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि



काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८–०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएको बताएका छन्। शुक्रवार विभागमा वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७८–०७९ वार्षिक समीक्षा तथा छलफल कार्यक्रममा महानिर्देशक पौडेलले यस्तो बताएको हो।

उनले चालु आर्थिक वर्षमा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख २८ हजारभन्दा माथि पुगेको बताए। उनले चालु आर्थिक वर्षमा अहिलेसम्मकै धेरै श्रम स्वीकृति दिइएको बताए। उनले अहिले पनि अन्तर्राष्ट्रिय मुलुकमा वैदेशिक रोजगारी कोभिडभन्दा अगाडिको लयमा नआइसकेको भएपनि नेपालको वैदेशिक रोजगारको अवस्था पूर्णरुपमा लयमा फर्किएको बताए।

महानिर्देशक पौडेलले २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरेर यो वर्षसम्म ७१ लाख २० हजारभन्दा बढी श्रम स्वीकृत भएको बताए। उनले ७१ लाख श्रम स्वीकृतमा ६७ लाख पुरुष र ३ लाख महिलालाई श्रम स्वीकृत दिएको बताए।

महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा मात्रै गत आर्थिक वर्षको भन्दा ४ लाख ६१ हजार बढी रहेको बताए। उनले भने, ‘अहिलेसम्मको सबैभन्दा धेरै श्रम स्वीकृत यो आर्थिक वर्षमा भएको छ। अहिले अन्तर्राष्ट्रिय देशहरुको चिन्ता के छ भने वैदेशिक रोजगारी कोभिडभन्दा अगाडिको लयमा आउन सकेको छैन। २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरिरहेका छौं। अहिलेसम्म ७१ लाख २० हजारभन्दा बढी श्रम स्वीकृत भएको छ। यो भनेको रि इन्ट्रि समेतको गरेर हो। यसमा ६७ लाख पुरुष र ३ लाख महिला हुनुहुन्छ। श्रम स्वीकृति २०७३ देखि निरन्तर ओरालो लागि रहेको छ । अहिले २०७८ असारदेखि २०७९ असार ३० गतेसम्म गत वर्षभन्दा ४ लाख ६१ हजारले बढको देखिन्छ। यो वर्ष ६ लाख २८ हजार श्रम स्वीकृति पुगेको अवस्था छ। अहिले वैदेशिक रोजगारी सन्तोकजन रुपमा अगाडि बढेको देखिन्छ।’

त्यस्तै महानिर्देशक पौडेलले विभागले सबै प्रकारका श्रम स्वीकृति अनलाइन प्रणालीबाट सञ्चालन गरेकाले १ वर्षमा ४५ प्रतिशत कार्यालयमा भीडभाड कम गरिएको बताए। उनले सबै प्रकारका श्रम स्वीकृतिहरु अनलाइन भएकाले कर्मचारीदेखि सुशासनमा समेत सुधार भए सेवाग्राहीहरुको समय र लागत कम भएको दाबी गरे । महानिर्देशक पौडेलले विभागले सक्कली पीडित भन्दापनि नक्कली पीडित ३० प्रतिशत उजुरी लिएर आउनेगरेको बताए।

उनले अहिले नक्कली पीडितलाई विभागले निरुत्साहित गर्दै लगिएको बताए। उनले भने, ‘ २०७८ माघ २ गतेबाट पुनःश्रम स्वीकीर्तिलाई पूर्ण अनलाइन गरौं। जसबाट ४५ प्रतिशत वैदेशीक रोजगार विभागमा काम गर्ने भीडभाड कम भयो। अहिले सबै प्रकारका श्रम स्वीकृतिहरु अनलाइन भएको छ। यसले केही न केही कर्मचारीदेखि सुशासनमा समेत सुधार हुँदै आएको छ। सेवाग्राहीहरुको समय र लागत कम भएको छ। नक्कली पीडितहरुलाई निरुत्साहित गरिएको छ। वैदेशिक रोजगारी विभागमा उजुरी गर्ने आउने सबै पीडित हुन् सबै उजुरी सक्कली हुन्न भन्ने लाग्नसक्छ । तर हाम्रो अध्ययनले २५ देखि ३० प्रतिशत पीडितहरु नक्कली पीडितहरु हुन्। उनीहरु नक्कली पीडित भएको बहानामा कसैलाई फसाउनको लागि, हुँदै नभएको कारोबार वैदेशिक रोजगारमा ल्याएर जोडेर सेन्टीमेन्ट गर्न लगायतको लागि नक्कली पीडित आउने गरेका छन्। अहिले हामीले सक्कली पीडितको दुध र पानी छानेजस्तै नक्कली पीडितहरुलाई कारबाही गर्न काम गरेका छौं। सक्कली पीडित वैदेशीक रोजगारी विभागको समस्या होइन। सक्कली पीडितका समस्याहरु सजिलै समाधान हुन्छन्। अहिले १० लाख भन्दा बढीको कारोबार सम्पती सुदृढीकरणलाई बुझाउने गरेका छौं।’

महानिर्देशक पौडेलले नेपालको वैदेशिक दश गन्तव्य मुलुकमा सबैभन्दा पहिलो साउदी अरेबिया रहेको बताए। उनले साउदी अरेबियामा १ लाख ८० हजारभन्दा बढी श्रमिक गएको बताए । पौडेलले दोस्रोमा कतार, तेस्रोमा युएई र कुवेत, मलेसिया, बहराइन, रोमानिया, ओमान, जापान र क्रोएशिया रहेको बताए।

उनले पछिल्लो समय पुनः मलेसियाको जाने श्रमिकको सख्या बढ्न थालेको बताए। पौडेलले कात्तिक महिनादेखि यता दक्षिण कोरियाको एपीएस भाषा परीक्षामा पास भएका ५५ सय श्रमिक कोरिया गएको बताए। उनले अब १० हजार श्रमिक जाने तयारीमा रहेको भन्दै कोरिया सरकारले नेपाललाई १ नम्बरमा राखेर सबैभन्दा बढी कोटा दिएको बताए।

त्यस्तै महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा ८२.९ प्रतिशत भौतिक प्रगति गरेको र बेरुजु फर्स्योट ७० प्रतिशत भएको जानकारी दिए। उनले विभागलाई भौतिक पूर्वाधारमा समस्या रहेको भन्दै अहिले पनि भाडाको घरमा विभाग रहेको गुनासो गरे। उनले वैदेशिक रोजगार विभागलाई आफ्नै भवन बनाउन आवश्यक देखिएको बताए।

महानिर्देशक पौडेलले वैदेशिक रोजगार सम्बन्धि कानून कार्यविधिमा ठूलो समस्या रहेको बताए । उनले वैदेशिक रोजगार सम्बन्धि ठूलो समस्या छ भने त्यो वैदेशिक रोजगार ऐन,२०६४ रहेको दाबी गरे। महानिर्देशक पौडेलले ऐनमा व्यवस्था गरेको श्रम स्वीकृति शब्द नै गलत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्