राजीनामा दिँदै एआईजी विश्वराज पोखरेल



काठमाडौं । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिने तयारी गरेका छन्।

धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा हालेका थिए। शुक्रबार रिट खारेज भएसँगै पोखरेलले राजीनामा दिने तयारी गरेका छन्। सम्भवतः आइतबार राजीनामा बुझाउने पोखरेल निकट स्रोतले बताएको छ।

सरकारले सिंहलाई आईजीपी बनाए लगतै पोखरेल विदामा बसेका थिए। तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनको एक महिने विदा स्वीकृत गरेका थिए। पुनः विदा माग गरेपछि आईजीपी सिंहले स्वीकार गरेनन्।

तर एआईजी पोखरेल कार्यालय गएका छैनन्। निरन्तर ४५ दिनसम्म कार्यालयमा नगए कारबाही पनि हुने भएकाले पोखरेलले राजीनामा दिने तयारी गरेका हुन्। उनको कार्यकाल यही साउन २० गतेसम्म मात्र छ।

प्रतिक्रिया दिनुहोस्