सुकुमवासीका पीडा : हिउँदमा ढल, बर्खामा बाढी (फोटोफिचर)



काठमाडौं । राजधानीका बागमती, विष्णुमति, मनहरा र गोदावरी नदी किनारका खाली जमिनमा टहरा बनाएर घरविहीनहरू बसेका छन्। नदी किनारमा रहेका यी बस्तीका व्यथा अनेक छन्। वर्षा याममा बाढी पस्ने त्रासले रातभर अनिँदो बस्छन् सुकुमवासीहरू। अहिले वर्षायाम छ।

नदीमा पानीको बहाव झनै उच्च हुन्छ। नदी छेउमा भएकै कारण कहिले बस्तीमा बाढी पस्छ पत्तो हुँदैन। वर्षायाम अरू समयभन्दा चिन्ताको विषय बन्छ उनीहरूलाई। गन्हाएर त्यस्तै हैरान बनाउँछ। सुकुमवारीलाई व्यवस्थित गरेर राख्न नसक्दा उनीहरूले दुःख त पाएका छन् नै, सरकारको पनि खिल्ली उड्ने गरेको छ। सरकारले ढल, फोहोरलगायत बस्ती व्यवस्थापन गर्न नसक्दा झनै समस्या परेको छ। बहाव क्षेत्रमा पर्खाल लगाउन पनि बस्ती व्यवस्थित नगरी सहज छैन।

सुकुमवासी बस्ती छेउका सडक हिलाम्मे छन्। वरपर वन, बुट्यान र झाडी रहेकाले सर्पलगायतको त्रास पनि त्यत्तिकै छ। ससाना झुपडी र टहराबाट वर्षौंअघि सुरु भएको यहाँको बस्ती हिजोआज धेरै ठाँउमा पक्की घरमा परिणत भएको देख्न सकिन्छ।

कतिपय ठाँउमा महँगो रकम लिएर सटर र कोठा भाडामा लगाउने प्रचलन पनि सुरु भइसकेको छ। सरकारले सुकुमवासी र अव्यवस्थित बसोवासीहरूको व्यवस्थापनका लागि आयोग नै बनाएर काम सुरु गरेसँगै धेरै घरविहीनहरू खुसी छन्। तर सरकारले सुकुमवासीहरूलाई व्यवस्थित गर्न नसक्दा कहिले ठाउँ छाडेर हिँड्नुपर्छ भन्ने चिन्ता पनि त्यत्तिकै छ।

कहीँकतै घर नहुने र लामो समयदेखि झुपडीमा बस्ने बेसहाराहरूका लागि पछिल्लो समय सुकुमवासी बस्ती आशाको सञ्चार भएको छ।

 

प्रतिक्रिया दिनुहोस्