मैत्रीपूर्ण फुटबलका लागि राष्ट्रिय टोलीको घोषणा, को को परे ?



काठमाडौं : मलेसियाको सुपर लिग च्याम्पियन दारुल ता जिम फुटबल क्लबसँगको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली फुटबल घोषणा भएको छ।

मुख्य प्रशिक्षक योहान कालिनले शुक्रबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्। प्रशिक्षक कालिनले घोषणा गरेको टिममा स्ट्राइकर विमल घर्ती मगर, डिफेन्डर दिनेश राजवंशी र मिडफिल्डर हेमन गुरुङले पुनरागमन गरेका छन्।

नियमित सदस्य तथा कप्तान बिराज महर्जन, गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द टिममा अटाएका छैनन्। कप्तान बिराजको फिटनेसको समस्या देखिदा टिममा नपरेका हुन्। किरण जापानको जे लिग क्लबमा ट्रायलका लागि गएका छन्। रोहित इन्डोनेसियाको लिगमा व्यस्त रहेका छन्।

विश्वकप २०२२ को एसिया छनोटअन्तर्गत दोस्रो चरणको तयारीमा रहेको नेपालले त्यसैको अभ्यासका लागि यो मैत्रीपूर्ण खेल खेल्न लागेको हो। यही छनोट प्रतियोगिताबाट २०२३ मा हुने एएफसी एसिया कपको लागि पनि टिम छान्ने भएकाले नेपालले यसलाई महत्वपूर्ण रुपमा लिएको छ।

विश्वकप तथा एसिया कपको समेत छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले सेप्टेम्बर १० मा कुवेतको सामना गर्नेछ। छनोट प्रतियोगिताको अभ्यासका लागि हुन लागेको दारुल ता जिमविरुद्धको खेल मलेसियाको जोहरबारु शहरस्थित पासर गुडाङ रंगशालामा हुनेछ। 

नेपाली टोली

गोलकिपर : विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर : सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई

स्ट्राइकर : विमल घर्ती मगर, विमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्