मिथिला नाट्यकला परिषद्को ४० वर्षको अविस्मरणीय यात्रा, कसले के भने ?



जनकपुरधाम : नेपालकै पुरानो मध्येको एक नाट्य संस्था मिथिला नाट्यकला परिषद् (मिनाप)जनकपुरले शनिबार आफ्नो चार दशक (४० वर्ष) पूरा गरेको छ।

४० औं साधारण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस प्रदेश–२ का संसदीय दलका नेता राम सरोज यादवले मिनाप जनकपुरधाम र मिथिला मैथिलीको पर्यायवाची रहेको बताए। मिनाप आफ्नो कला संस्कृतिको माध्यमबाट आफ्नो पहिचान जोगाउन लागि परेको प्रति खुसी व्यक्त गर्दै उनले आफ्नो पार्टी र व्यक्तिगत रुपमा मिनापलाई प्रत्येक क्षण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

आफूहरू प्रदेश–२ मा प्रतिपक्षको भूमिकाले सशक्त भूमिका निर्वाह गर्दै आएको जिकिर गर्दै उनले आवश्यक परेको बेला मिथिला र मैथिलीको लागि सरकारसँग आर्थिक सहयोग माग्न समेत पछि नपर्ने उनले बताए। यादवले मिनाप जस्तो संस्थाको आर्थिक अवस्था कमजोर भएको सुनेर आफू दुखी रहेको तर्क गरे।

साहित्यकार रोशन जनकपुरीले आफू मिथिला नाट्यकला परिषद् (मिनाप)सँग धेरै पहिले देखी नजिक रहेको स्मरण गरे। उनले मिनापा नाटकलाई निरन्तरता दिन चुकेको भान भइरहेको बताए। उनले परिवर्तनको लागि नाटक मिनापले गर्न सक्नुपर्ने तर्क गरे।

गीतकार र कवि समेत रहेका जनकपुरीले मिनापको आर्थिक प्रतिवेदनबारे टिप्पणी गर्दै मिनपाले घाटाको बजेट बनाएको बताए। जनकपुरिले मिथिला र मैथिलीको लागि प्रदेश–२ को नामकरण र भाषाको लागि मिनापलाई खुलेर आउन सुझाव दिए।

यस्तै मैथिली विकास कोषका अध्यक्ष जिबनाथ चौधरीले नेपालकै सबैभन्दा पुराणो संस्था मिथिला नाट्यकला परिषद् (मिनाप) जनकपुरमा हुनु यस क्षेत्रको लागि गौरवको विषय रहेको बताए। मिनापले आफ्नै नाटक घर बनाउन लागेकोमा खुसी व्यक्त गर्दै चौधरीले अब आउने दिनमा निरन्तर नाट्य मंचन हुनेमा आफू विश्वस्त रहेको बताए।

कार्यक्रममा मिनापका सल्लाहकार कामेश्वर मल्लीकले पंचायतकालमा पनि मिनापले आफ्नो मैथिली भाषामा नाटक र गीत संगीत प्रस्तुत गरेको स्मरण गर्दै मिनापले भाषा प्रतिको लगावलाई जीवन्त राखेकोमा खुसी व्यक्त गरे।

जनकपुरको राम चौकस्थित कार्यालय परिषरमा साधारण सभालाई सम्बोधन गर्दै मिनापका सल्लाहकार प्रमोद चौधरीले मिथिला र मैथिलीको विकासका लागि मिनापको भूमिका महत्वपूर्ण भएको बताए। उनले आफ्नो प्रस्तुति दिँदा भेष भुषा र पहिरनमा विशेष ध्यान दिन सुझाव दिए। चौधरीले मिनापका कलाकारलाई रोजागरीको वातारवण निर्माण गर्न प्रदेश सरकारलाई ध्यान दिन समेत आग्रह गरे।

मैथिली साहित्यकार सभाका अध्यक्ष प्रेम विदेह लालनले मिथिलाको गौरवमय इतिहास कायम गर्न मिनापले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। मिनापले स्थापना काल (२०३६ साल) देखि निरन्तर मैथिली भाषाको क्षेत्रमा कार्य गर्दै आएको मिनापका पूर्व अध्यक्ष सुनील मल्लीकले बताए। उनले मिनापले भाषा, साहित्य र कला तीन क्षेत्रमा काम गर्दै आएको जानकारी दिए।

कार्यक्रममा मिनापकी कोषाध्यक्ष अनिता रानी मण्डलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दा महासचिबको सांगठनिक प्रतिवेदन शैलेन्द्र मल्लीकले प्रस्तुत गरे।

प्रतिक्रिया दिनुहोस्