ला लिगा : १० खेलाडीमा समेटिएको रियलको सुखद सुरुवात



काठमाडौं : रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा विजयी सुरुवात गरेको छ। शनिबार राति भएको सिजनको पहिलो खेलमा सेल्टा भिगोमाथि ३–१ को जित निकाल्दै रियलले सुखद सुरुवात गरेको हो।

सेल्टाको घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिएको रियलले सहज जित हात पार्यो। रियलको जितमा करिम बेन्जेमा, टोनी क्रुस र लुकास भास्क्वेजले गोल गरे। सेल्टाका इकर लोसडाले एक गोल फर्काए।

खेलको १२औं मिनेटमा ग्यारेथ बेलको पासमा बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको रियल ५६ औं मिनेटमा १० खेलाडीमा समेटियो। डेनिस स्वारेजमाथि फाउल गरेपछि लुका मोड्रिच रातो कार्ड खादै मैदान बाहिरिदाँ रियल दबाबमा परेको थियो।

तर,१० खेलाडीमा सिमित भए पनि रियलले थप २ गोल गर्यो। टोनी क्रुसले ६१औं मिनेटमा २५ यार्डबाट कडा सटमा गोल गर्दै रियाललाई २–० को अग्रता दिलाए। त्यसपछि खेलको ८० औं मिनेटमा भास्क्वेजले गोल गर्दै रियललाई ३–० को अवस्थामा पुर्याए। इन्जुरी समयमा लोसडाले सेल्टाका लागि सान्त्वना गोल फर्काए पनि टोलीको हार टार्न सकेनन्।

जितसँगै रियलले ३ अंकबाट सिजनको सुरुवात गरेको छ। 

प्रतिक्रिया दिनुहोस्