पार्टी एकताको ‘च्याप्टर’ बन्द : महेन्द्र यादव



जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित ९ जनालाई पदमुक्त गरेको छ । अब तपाईहरूको रणनीति के हुन्छ ?

उपेन्द्र यादव पक्षले हामीमाथि गरेको कारबाही वक्तव्य जारी गरेर खारेज गरिसकेका छौं । अब पार्टी पुनर्गठन गर्छौ । यसको तयारी पनि गरिसकेका छौं । साथै, थप छलफललाई पनि सँगै लगिरहेका छौं । हाम्रो पार्टीको विस्तारित बैठकले पार्टीको सम्पूर्ण निर्णय गर्ने जिम्मेवारी कार्यकारीलाई दिएको छ । कार्यकारीले परिस्थिति अध्ययन गरेर ठोस निर्णय लिने छ ।

पार्टीको कार्यकारी भनेको को ? बाबुराम भट्टराई ?

उहाँ मात्रै होइन । हामी ८–९ जना छौं ।

नयाँ पार्टी गठनको बारेमा पनि छलफल अघि बढेको हो ?

त्यो प्रक्रिया पनि अगाडि बढ्न सक्छ । बढ्नु पनि पर्छ । पुनर्गठनको परिस्थिति हेरेर अघि बढ्छौँ । अहिले त हामी छलफलकै चरणमा छौं । हामीलाई पनि निर्वाचनमा जानु नै छ । यसका लागि एउटा पार्टी नबनाई त सम्भव नै भएन नी ।

तपाईहरूलाई उपेन्द्र यादवले पार्टीबाट मुक्त गर्ने तर सांसद पद भने यथावत रहने भनिरहेका छन् नी ?

उहाँले कहाँ के गरे, कसो गरे त्यो उहाँकै विषय हो । उहाँका सबै निर्णयलाई हामीले खारेज गरिसकेका छौं । हामीले जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कमिटीको छुट्टै बैठक बसेर पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाइसकेका छौं ।

तपाईहरूलाई वीरगंज बैठकको निम्तो आएन ?

निम्तो आयो आएन ठूलो कुरा होइन । वीरगंज बैठकअघि नै पार्टीको बैठकमा पनि हामीलाई बोलाइएको थिएन । संसदीय दलको बैठकबारे पनि हामीलाई कुनै जानकारी गराइएन । यसरी लगातार बैठकमा नबोलाउनुबाट के देखिन्छ भने पार्टीको विधि विधानभन्दा फरक र गलत भइरहेको छ । यही क्रममा वीरगंज बैठक पनि भयो । यसबारेमा हामीसँग कुनै छलफल भएको थिएन । हामीलाई बोलाइएको पनि थिएन ।

वीरगंज बैठक अघि पार्टीको मुख्यालयमा ३ जनाबीच छलफल हुनुपर्ने थियो त्यो भएन । दोस्रो, बैठक बसे पनि हामीलाई जानकारी दिइएन् । संसदीय दलको बैठकमा पनि कुनै जानकारी गराइएन् । यसरी एउटा समूहले एकपक्षीय ढंगले अघि बढेपछि हामी जाने अवस्था नै भएन । त्यसैको परिणाम स्वरुप हामीले पार्टीको विस्तारित बैठक बोलाएका हौँ ।

तपाईहरूले यता बैठक बोलाए पनि पार्टीको बहुमत केन्द्रीय सदस्य त वीरगंज गए नी ?

बहुमत सदस्य जता गए पनि उनीहरूले दिएको सन्देश महत्वपूर्ण छ । उनीहरु सबैको माग अझै पनि पार्टी एकताका लागि छलफल, वार्ता, पार्टी पुनर्संरचना भन्ने हो । यो माग महत्वपूर्ण कुरा हो । संख्या ठूलो कुरा होइन ।

तपाईहरूले यता बैठक नबढेको भए वातावरण अर्कौ बन्न पनि सक्थ्यो होइन ?

अनि वीरगंज बैठकमा नबोलाएका हामी केन्द्रीय सदस्यहरु कहाँ जाने त ? पार्टीबाट हामीलाई कुनै जानकारी नआएका साथीहरू एक ठाउँमा भेला हुनु त प¥यो । यही कारण जडिबुटी बैठक आह्वान गरिएको हो ।

भनेपछि उपेन्द्र यादवसँग मिलेर अघि बढ्ने ‘च्याप्टर क्लोज’ नै भइसकेको हो ?

हाम्रो तर्फबाट यो पार्टीलाई बचाउन म र साथीहरूले बैठकबाटै आह्वान गरेका छौं । पहिला पनि पार्टी बचाउन धेरै नै प्रयास गरेकै हौ । यसरी पार्टी बचाउनुको एक मात्रै उदेश्य के थियो भने हामी जसपालाई एउटा वैकल्पिक शक्तिका रूपमा बनाउछौं भन्ने नै थियो । तर, उहाँहरूले पार्टी कमजोर बनाउन विभाजनको बाटोतर्फ लैजाने काम गर्नुभयो ।

तपाईले यत्रो काम गर्दा गर्दै पनि तपाईहरूलाई साथ दिइरहेका साथीहरू वीरगंज बैठकमा गए नी ?

हामी अहिले पनि एउटै दलमा छौं । साथीहरू कहाँ गए कता गए ठूलो कुरा होइन । उहाँहरूसँग अहिले पनि मेरो नियमित कुराकानी भइरहेको छ ।

पार्टी एकताको बारेमा उपेन्द्र यादवसँगै अहिले पनि कुरा हुन्छ ?

होइन । पार्टी एकताको च्याप्टर त उहाँहरूले बन्द गरिसक्नु भएको छ । हामीले बैठकबाट पार्टी एकताको लागि आह्वान गर्दा उहाँले बैठकबाट त्यसतर्फ अघि बढ्ने निर्णय गर्नुपथ्र्यो । त्यो भएन । उहाँले गर्नु भएको कामबाट नै हामीले नयाँ बाटो लिएका हौँ ।

समावेशी लोकतान्त्रिक पार्टी भनेर नयाँ दल गठन गर्दै हुनुहुन्छ रे हो ?

यो पार्टी त स्थानीय तह निर्वाचन ताका नै दर्ता भइसकेको छ । यसमा अहिलेसम्म कुनै प्रकारको छलफल भएको छैन । तर साउनको दोस्रो हप्तासम्ममा नयाँ घोषणा चाहि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्