साफ यु–१५ च्याम्पियनसिप खेल्न नेपाली टोली भारत प्रस्थान



काठमाडौं : पाँचौं संस्करणको साफ यु–१५ फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली भारत प्रस्थान गरेको छ। यही असोज ४ बाट १४ सम्म भारतको कल्याणीमा हुने प्रतियोगितामा सहभागिता जनाउन नेपाली यु–१५ टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो।

नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले सुनसरीको इटहरीमा बिदाई गरे। नेपालले हालसम्म यु–१५ को उपाधि जित्न सकेको छैन। घरेलु मैदानमा सम्पन्न गत संस्करणमा नेपाल चौथो भएको थियो।

नेपाल सन् २०१३ र २०१७ मा दुई पटक उपविजेता बनेको थियो। तर, पाँचौ संस्करणमा भने नेपाल उपाधि घर ल्याउने योजनामा रहेको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले नेपालले साफ यु–१५ को उपाधि जित्ने लक्ष्यसहित तयारी गरिरहेको बताए। नेपाली टोलीले प्रदेश–१ को इटहरीमा तयारी गरेको थियो।

प्रतियोगितामा नेपालसहित साविक विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन्।  राउण्ड रोविनको आधारमा खेलाइने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन्। नेपालले आगामी बुधबार भारतको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै नेपालले शुक्रबार श्रीलंका, आइतबार बंगलादेश र अन्तिम खेलमा अर्को साताको बुधबार भुटानको सामना गर्नेछ।

नेपाली टिम :

गोलकिपर :  ईश्वर गुरुङ, मनोज दाहाल, जिनस केसी

डिफेन्डर : प्रज्ञान महर्जन, अभिषेक वाईवा, प्रमिश गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा

मिडफिल्डर : जन्मे जय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, विपिन तुम्सिङ मगर, अमिर हामिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौधरी

स्ट्राइकर : क्रिशन अधिकारी यादव, क्रिस सापकोटा, सुगन जिमी, शशांक बोहोरा

प्रतिक्रिया दिनुहोस्