स्वतन्त्र भन्नु र हुनुको वास्तविक अर्थ



  • दीपक खनाल

काठमाडौं । ‘स्व’ र ‘तन्त्र’ मिलेर स्वतन्त्र शब्द बनेको छ। नेपाली बृहत् शब्दकोशअनुसार ‘स्वतन्त्र’ भन्नाले ‘अरू कसैको बन्धन, दबाब, अधीन आदिमा नरही आफ्नै तन्त्र वा शासनमा रहने र त्यसै माध्यमले स्वयं सोचीबुझी काम गर्न सक्ने वा पाउने, स्वाधीन, अरूको अवलम्ब, आधार वा आश्रय केही नभएको, कुनै नियम, विधि वा प्रतिबन्धबाट मुक्त, अरू कसैसँगको सम्पर्क नभएको, अलग, भिन्न’ हो।

‘तन्त्र’ भनेको ‘शाक्त वा शैव मतका अनुसार देवदेवीहरूको उपासना गर्ने रहस्यमूलक शास्त्र, झारफुक गर्ने मन्त्र वा विद्या, कुनै शासन व्यवस्था वा पद्धति, धागो, डोरो, सूत्र’ आदि हो । अझ भन्दा ‘स्व’को अर्थ ‘निजी, आफ्नो, आफ्नो वर्ग वा जातको, आफन्त, आ–आफैँ हुने वा भएको, स्वयं, आफैँ’ भन्ने हुन्छ । यसलाई एकसाथ भन्दा आफैँ चल्नु नै स्वतन्त्र हुनु हो ।

कसैको दबाब, प्रभावमा नपर्नु, कसैप्रति आशक्त नहुनु वा नबाँधिनु नै स्वतन्त्र हुनु हो । एउटा व्यक्तिले आफूलाई स्वतन्त्र भन्न सक्छ, राष्ट्रले पनि अरूबाट स्वतन्त्र हुँ भन्न सक्छ । तर, यतिले मात्र स्वतन्त्रको परिभाषा पूर्ण हुँदैन । यसको गहिराइमा पुगेर मात्र धेरै अर्थ बुझ्न सकिन्छ।

अन्तर्यमा पुगेर विश्लेषण गर्दा भौतिकवादी आवरणमा कुरा गरेर कुनै भौतिकवादी व्यक्ति, समूह, पार्टी, सङ्गठन, परिवार, राष्ट्र कहिल्यै स्वतन्त्र हुन सक्दैन। सञ्चार तथा सूचना प्रविधिमा भएको तीब्र् विकास र विस्तारका कारण संसार एउटै गाउँ जस्तो भएको आजको विश्व परिवेशमा कसैले चाहेर मात्र स्वतन्त्र हुने अवस्था छैन।

यदि कसैले यस्तो चाहन्छ भने पनि त्यो कोरा आदर्श मात्र बन्छ। किनकि समूह, पार्टी, सङ्गठन, परिवार, राष्ट्र हुनासाथ कुनै न कुनै विचार वा वाद वा सिद्धान्तसँग नजिक वा टाढा भएको हुन्छ, हुनुपर्छ। कोही कसैले कसैको विचार, सिद्धान्त वा दर्शनमा चल्दिनँ भन्नु पनि एउटा छुट्टै सिद्धान्त हो।

एउटा पक्षधरता नै हो । एउटै मानिसमा त एउटा मात्र विचार हुँदैन । मानिसमा एक दिनमा राम्रा, नराम्रा ६० देखि ७० हजार विचारहरू जन्मन्छन् भनिन्छ । मानिस स्वयं मनोवाद, दुविधाको सिकार बन्दछ भने अरू समूह, पार्टी कसरी स्वतन्त्र हुन सक्छन् ? पार्टी खोल्छु, राजनीति गर्छु, सरकार चलाउँछु भनिसकेपछि कसरी स्वतन्त्र भइन्छ ? यो त अरूको ईष्र्याले जन्मेको अहङ्कार हो। यसबाट स्वतः सङ्कीर्णता जन्मन्छ। के सरकार एक्लैले चलाउने हो ? संसद् एउटा व्यक्तिको बन्ने हो ? राज्यका संयन्त्रमा यस्तो व्यक्तिको कुनै हात हुँदैन ?

वर्तमान विश्व परिवेशलाई हेर्दा पनि कोही स्वतन्त्र बस्ने स्थिति छैन । मानिस कुनै न कुनै रूपमा पूर्वाग्रही, आग्रही, अनुग्रही, भइहाल्छ, बनिहाल्छ । जस्तो रुस र युक्रेन युद्धमा यो वा ऊ देशको पक्षमा लाग्नै पर्ने स्थित बन्छ। चीन र अमेरिकाको शीतयुद्धमा के सबै मानिस स्वतन्त्र बस्न सक्छन् ?

राष्ट्रिय वा निजी वा अन्नपानीको स्वार्थले कोही चीन पक्षधर त कोही अमेरिका पक्षधर हुनपर्ने अवस्था छैन र ? दक्षिण कोरिया र उत्तर कोरियाका विषयमा को स्वतन्त्र, को अस्वतन्त्र ? अतः विश्वको वा आन्तरिक राजनीतिकलगायत मुद्दामा कोही तटस्थ बन्नु एउटा कुरा हो, स्वतन्त्र हुन कोही सक्दैन ।

समय परिवर्तनशील छ। सबै वस्तुहरू अनित्य छन्। मानिसकै विचार छिनछिनमा बदलिरहन्छ किनकि विचार निर्माणमा खानपान जस्तै विभिन्न परिवेशको भूमिका हुन्छ। त्यसैले स्वतन्त्र भन्नु जनतालाई भ्रम छर्नु, देश दुनियाँलाई गुमराहमा राख्नु हो।
स्वतन्त्र बस्छु वा हुन्छु भन्नु नै एउटा विचार हो।

यो भौतिकवादी संसारमा, म, मेरो, हामी, हाम्रो भन्ने अहङ्कार रहेसम्म कोही स्वतन्त्र हुन्छु, बन्छु भन्नु मिथ्या कल्पना र संसारलाई छर्ने झूटको पुलिन्दा मात्र हो । लोभ, पाप, डर, झूट रहेसम्म कुनै मानिस स्वतन्त्र हुनै सक्दैन। आजको संसारका ९९ प्रतिशत मानिस लोभी छन्।

लोभ भएपछि मानिसले पापाचार, दुराचार, अनाचार, व्यभिचार, भ्रष्टाचार गर्छ। यस्तो गर्ने मानिस पापी हुन्छ। अनेक पाप गरेपछि उसको मनोबल कमजोर हुँदै जान्छ। त्यसैले उसमा डर पैदा हुन्छ। डर पैदा भएपछि उसले हरेक कुरा ढाँट्ने गर्छ। झूटो बोलेपछि उसको आँत गल्छ अनि ऊ आफ्नो संरक्षणका लागि यो वा त्योको पक्षमा लाग्न बाध्य हुन्छ।

ऊ आफूलाई जोगाउनेको पक्षमा खुलेर लाग्छ, अनि कसरी भयो ऊ स्वतन्त्र ? पार्टी खोल्छु, राज्यसत्ता चलाउँछु । शासनमा आफ्ना मान्छे लैजान्छु भन्नु कसरी स्वतन्त्र हुनु हो ? के छुवाछूत, विभेद, बलात्कार जस्ता घटनाप्रति स्वतन्त्र हुन सकिन्छ ? राम्रो र नराम्रोबीचमा स्वतन्त्र हुन सकिन्छ ? हाम्रो संस्कृति, संस्कारले स्वतन्त्र रहन दिन्छ ?

गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा कुनै पार्टीको टिकट नलिई एक्लै लडेका केही व्यक्तिले जितेपछि केही मानिसहरू स्वतन्त्र बन्न हौसिएका छन् । केही मानिसलाई स्वतन्त्र भएर पनि जितिने रहेछ भन्ने हौसला बढेको छ । त्यही भएर होला, केही मानिसले आफ्नो कर्म नै परिवर्तन गरेर स्वतन्त्र पार्टीबाट आगामी सङ्घीय चुनावमा लड्ने घोषणापत्र नै जारी गर्दै ‘योयो कुरा मान्छु, योयो मान्दिनँ’ भनेका छन् । यसले गर्दा कुनै पार्टीमा नलागेका वा लागेका मानिस स्वतन्त्रको जालमा अल्झिरहेका छन् ।

मानिसहरू यो पार्टीभन्दा स्वतन्त्र पार्टी नै ठिक भन्ने भ्रममा परेका छन् । कसैले राजनीति गर्नु उसको अधिकार हो तर यतिका वर्षसम्म राजनीतिक आन्दोलन, जनसङ्घर्ष, सशस्त्र युद्धले बदल्न नसकेको देशलाई एउटा व्यक्तिले रातारात बदल्न सक्छ वा बदल्छु, अरू कोही ठिक छैनन्, म मात्र ठिक छु भन्नु नै गलत चिन्तन हो ।

हो, भएका पार्टीका कुनै नेता ठिक भएनन् होला, तिनले राम्रो गर्न सकेनन् होला । यसो भन्दैमा इतिहास बोकेका सबै पार्टी, सङ्गठन, नेता, व्यक्ति खत्तम, म मात्र महानायक, रातारात देश बदल्ने वीर मै हुँ भनेर मानिसमा भ्रमजाल फ्याँक्नु एकलकाँटे, अलोकतान्त्रिक, निरङ्कुश प्रवृत्ति हो ।

यो संसारको सूक्ष्म अध्ययन गर्ने हो भने कोही पनि स्वतन्त्र छैन । प्राकृतिक खेल, इको सिस्टमलाई हेर्‍यौँ भने पनि यो संसार नै स्वतन्त्र देखिँदैन । यो संसार भनेकै विभिन्न तत्व मिलेर बनेको ब्रह्माण्डको रहस्य हो । मानिसहरू बस्ने पृथ्वी त स्वतन्त्र छैन। यसलाई बाढी, पहिरो, भूकम्प जस्ता प्रकोपले बारम्बार दुःख दिइरहन्छन् ।

पृथ्वीले सूर्यलाई नघुमी हुँदैन, चन्द्रमाले पृथ्वीलाई घुम्नै पर्छ । भनेपछि यही पृथ्वीबासी मानिस र यहाँका जीवात्मा कसरी स्वतन्त्र होलान् ? हुन सक्लान् ? हामीलाई जनावर त स्वतन्त्र जस्तो लाग्छ । के तिनीहरू स्वतन्त्र छन् ? के बाघ स्वतन्त्र हो ? के सिंह स्वतन्त्र छ ? के बाँदर स्वतन्त्र छ ? के चरा स्वतन्त्र छ ? के सर्प स्वतन्त्र हो ? के मुसो स्वतन्त्र छ ? के बिरालो स्वतन्त्र छ ? आदिआदि ।

के यिनीहरू कोही र केहीबिना एक्लै चल्न र जिउन सक्छन् ? सक्दैनन् । त्यसैले जनावरहरू पनि बाहिर भनिएजस्तो स्वतन्त्र छैनन् । देवी, देवताहरू त स्वतन्त्र हुन सकेनन् । देवी, देवता मात्र होइन, देवताका पनि देवता भगवान् स्वतन्त्र हुन सकेनन् । पक्ष, विपक्षमा लडिरहे । श्री रामचन्द्रलाई स्वतन्त्र भन्न सकिन्छ ?

उनी राक्षस रावणका विरुद्ध रणसङ्ग्राममा आफैँ उत्रिएका होइनन् । महाशक्तिवान् श्रीकृष्णलाई स्वतन्त्र भन्ने कसरी ? महाभारत युद्धका महानायक उनै होइनन् ? उनलाई पाण्डव पक्षको मात्र भगवान् मान्ने कि कौरव पक्षको पनि मान्ने ? बुद्धलाई स्वतन्त्र भन्ने कि निजी विचारको पक्षधर ? अनि, राम, कृष्ण, अल्लाह, जिसस क्राइस्ट, बुद्धका विचारका पक्षधरलाई अजात भन्ने कि ती विचारका बन्धक ?

यद्यपि, खास स्वतन्त्र हुन सक्ने ठाउँँ पनि छ । त्यो हो– आध्यात्मिक संसार । मानिस साँच्चैको आध्यात्मिक हुने हो भने उसमा कुनै लोभ उत्पन्न हुँदैन । जसलाई लोभ, लालच, डर, ईष्र्या, मोह, आशक्ति, दम्भ, आशा, घमण्ड हुँदैन, यस्तो मानिस मात्र स्वतन्त्र हुन्छ । कुनै लोभ नभएपछि उसले कुनै पापाचार, दुराचार, अनाचार, व्यभिचार, भ्रष्टाचार गर्न नपरेपछि, यी कुकार्य नगरेपछि उसमा कुनै डर उत्पन्न हुँदैन । कुनै डर उत्पन्न नभएपछि उसले झूटो बोल्दैन वा बोल्नुपर्दैन ।

झूटो नबोलेपछि उसको आत्मबल बलियो हुन्छ र ऊ स्वतन्त्र हुन सक्छ । तर, यसका लागि कडा साधना गर्नुपर्छ । ऊ स्वतन्त्र तब मात्र हुन्छ, जब गहिरो साधनामा लिप्त हुन्छ । यो जीवनमा परिवार, धन, यश, सत्ता आदि कुनै कुराको मोह हुँदैन । यसपछि मात्र व्यक्ति पूरापूर स्वतन्त्र हुन्छ । यो मुक्त व्यक्ति मात्र साँच्चैको स्वतन्त्र हो ।
(प्रेस काउन्सिल नेपालका प्रवक्ता लेखक स्वतन्त्र पत्रकार तथा अधिवक्तासमेत हुन् ।)

प्रतिक्रिया दिनुहोस्