५ करोड घुस लिएकाे भन्दै डा.चौरासियालाई मन्त्रालयमा हाजिर हुन निर्देशन



काठमाडौं । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा.सुरेन्द्र चौरासियालाई आर्थिक अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको छ । ५ करोडभन्दा बढी घुस लिएको आरोप लागेपछि मंगलबार स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले पत्र लेखेर ५ बजेभित्र मन्त्रालय हाजिर हुन चौरासियालाई निर्देशन दिएका हुन्।

१० औं तहका डा.चौरासियाले १० अर्बको औषधी उपकरण खरिदमा व्यापक अनियमितता गरेको, ५० लाख रुपैयाँ लेनदेनमा सरुवा गरेको, ५ करोडभन्दा बढी घुस लिएको आरोप लागेको छ।

यसैगरी, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको र ०.५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको पत्र काटेर मन्त्रालयमा उपस्थित हुन निर्देशन दिइएको हो।

विगत लामो समयदेखि खरिद र आपूर्ति शाखामा रहँदै आएका डा.चौरासिया खरिदसँग जोडिएर पटक-पटक आर्थिक अनियमिततामा तानिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्