‘राक्षस’को पञ्जाबाट नभागेको भए…



काठमाडौं । केही समययता बलात्कार मात्र भएका छैनन्, बलात्कृत हुनेको बर्बर हत्यासमेत भएका छन् । बलात्कारको प्रयास गर्दा नमानेको अवस्थामा समेत हत्या हुने गरेको छ । यस्ता घटना सार्वजनिक हुन थालेकाले बलात्कारीले पीडितको हत्या गर्न थालेको प्रहरीको अनुमान छ ।

बलात्कारपछि होस् या प्रयासपछि बलात्कृत हुनेको हत्या भइरहेको खबरहरू आइरहेको बेला रूपन्देहीकी एक किशोरीले भने नयाँ जीवन पाएकी छन् । बलात्कार प्रयासको सिकार भएकी ती १७ वर्षीया किशोरी २ जना ‘राक्षस’हरूको पञ्जाबाट भाग्न सफल भएकी छन् ।

गत ७ साउनमा ती किशोरीलाई २ जना युवाले करणीको प्रयास गरेका थिए । तर, उनी भाग्न सफल भइन् । सो दिन ती २ युवाले ब्ल्याकमेल गरेर ती किशोरीलाई योजनाबद्ध रूपमा एकान्त ठाउँमा भेट्न बोलाएर करणी गर्न खोजेका थिए । तर, कसो-कसो ती युवाहरूको पञ्जाबाट भागेर उनले आफ्नो ज्यान जोगाइन् ।

घटना यस्तो छ

ती २ जना युवाले करणी गर्ने उद्देश्यले नै ती किशोरीलाई योजनाबद्ध रूपमै ब्ल्याकमेल गरेर भेट्न बोलाएर कंचन गाउँपालिकाको हात्तीबजार लैजान्छन् । एउटी १७ वर्षकी किशोरीलाई एकान्त ठाउँमा लगेर उनीहरूले यौन सम्पर्कको प्रस्ताव गर्छन् । उनीहरू भन्छन्, ‘हामीलाई यौन सम्पर्क गर्न नदिएसम्म हामीले तिम्रा फोटोहरू डिलिट गर्दैनौँ । आफ्नो इज्जत बचाउने भए हामीसँग यौन सम्पर्क गर्नुपर्छ ।’

त्यसरी एक किशोरीमाथि गिद्दे नजर लगाउने ‘राक्षस’हरूले जबर्जस्ती भए पनि बलात्कार गर्न खोज्छन् । किशोरीमाथि झम्टिन्छन् । त्यति नै बेला लिएर गएको कन्डमको प्याकेट खोल्न थाल्छन् । यता, किशोरी डाको छाडेर रुन थाल्छिन् । तर, एकान्त ठाउँमा उनको आवाज कसले सुनोस् ?

किशोरीले हिम्मत हार्दिनन् । कसोकसो उनीहरूको पञ्जाबाट फुत्किन्छन् अनि नजिकै रहेको एउटा ढुङ्गा हातमा देखाउँदै नजिक नआउन भन्दै त्रास देखाउँछिन् । हातमा ढुङ्गा देखेपछि उनीहरू अलिक पछि हट्छन् । र, किशोरी रुँदै होहल्ला गर्दै भागेर त्यहीँको कलौनी-लुम्बिनी मूल बाटोमा निस्किन्छिन् । त्यसरी ती १७ वर्षीया किशोरी बलात्कारको सिकारबाट जोगिइन् । साँच्चै नै भन्नुपर्दा ती किशोरीले नयाँ जीवन पाएकी हुन् ।

ब्ल्याकमेल गर्ने युवाहरू पक्राउ

प्रहरीले ब्ल्याकमेल गरी किशोरीलाई जबर्जस्ती करणी गर्न खोज्ने २ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही गैडहवा गाउँपालिका-९ घर भएका २१ वर्षीय जगन्नाथ मल्लाह र अर्का १७ वर्षमुनिका किशोर छन् । उनीहरूले किङ नामको फेसबुक आईडीमार्फत २ साताअघिदेखि म्यासेज पठाई ‘तिम्रा विभिन्न निजी फोटोहरू मसँग छन् । सामाजिक सञ्जाल फेसबुकमा राखेर भाइरल गरिदिन्छु’ भनी सोही ठाउँकी किशोरीलाई ब्ल्याकमेल गरेर बलात्कारको प्रयास गरेका थिए ।

त्यसरी बाध्य पारेर भेट्न बोलाएर उनीहरूले जङ्गलको बीचमा किशोरीलाई लगेर बलात्कारको प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बलात्कारको प्रयास गर्दैगर्दा किशोरी उनीहरूको पञ्जाबाट भाग्न सफल भएकी थिइन् । भाग्दै गर्दा प्रहरीसँग उनको भेट भएपछि घटना बाहिर आएको हो ।

के भएको थियो त्यो रात ?

७ साउन रातको १०ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय सालझन्डी, रूपन्देहीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीसहितको प्रहरी गस्ती टोलीले सैनामैना नगरपालिकास्थित एकान्त ठाउँमा एक किशोरी भक्कानिएर रुँदै गरेको अवस्थामा फेला पार्छ । रातको साढे १० बजिसकेको समयमा एकान्त ठाउँमा यसरी किशोरी रुनुलाई प्रहरीले गम्भीर रूपमा लिएर सोधपुछ गर्छ ।

प्रहरीले सोधपुछ गर्ने क्रममा ती किशोरीले आफू ब्ल्याकमेलिङमा परेको कुरा प्रहरीलाई बताउँछिन् । एक-डेढ वर्ष पहिला आफ्नो मोबाइलमा खिचेका निजी तस्बीरहरू ‘किङ’ नामको फेसबुक आईडी चलाउने अपरिचित व्यक्तिले फेला पारेको सुनाउँछिन् ।

उक्त अपरिचित व्यक्तिले उक्त फोटोहरू किशोरीकी बहिनी नाता पर्नेलाई केही दिनअघिदेखि नै पठाएर ‘तेरो दिदीको बेइज्जत गरिदिन्छु, फोटो भाइरल गराइदिन्छु, यदि इज्जत बचाउने हो भने मैले भनेको मान्नुपर्छ’ भन्छ । किशोरीले आफ्नो इज्जत जाने डरले ती अपरिचित व्यक्तिलाई आफ्नो नम्बर दिन्छिन् । ती अपरिचित व्यक्तिले पटकपटक फोन गरी ‘भेट्न आउने भए आऊ नत्र फोटो भाइरल गराइदिन्छु’ भनी डर देखाई धम्की दिएपछि किशोरी ७ साउन साँझ भेट्न जान बाध्य हुन्छिन् ।

यहीबीचमा हाल प्रहरीले पक्राउ गरेका दुवै जनाले सैनामैना कलौनीमा रहेको मेडिकलबाट करिब साढे ६ बजेतिर नै ३ प्याकेट (१२ पिस) कन्डम किनेर किशोरीको प्रतीक्षामा सैनामैना नगरपालिकाको कलौनी भन्ने ठाउँमा बस्छन् । साँझको पौने ८ बजेको आसपासमा बारम्बार ब्याकमेल गर्ने उनै अपरिचित अनुहारका २ जना भेटिन्छन् । फोटो डिलिट गरिदिन किशोरीले बारम्बार अनुरोध गर्छिन् । तर, उनीहरूले ‘यहाँभन्दा केही तल आमी भन्ने ठाउँमा एउटा खाली घर छ, त्यहीँ जाऔँ अनि त्यहीँ बसेर तिम्रा फोटोहरू डिलिट गरिदिउँला’ भनी करिब रातको ९ बजेको समयमा अटोमा चढाई करिब २ किलोमिटर तल कंचन गाउँपालिकाको हात्तीबजार भन्ने ठाउँमा लैजान्छन् ।

त्यहाँ पुग्नेबित्तिकै हाल पक्राउ परेका युवकहरूले ‘हामीलाई यौन सम्पर्क गर्न नदिएसम्म हामीले तिम्रा फोटोहरू डिलिट गर्दैनौँ । आफ्नो इज्जत बचाउने भए हामीसँग शारिरीक सम्पर्क गर्नुपर्छ’ भनेपछि ती किशोरी त्यहीँ डाको छाडेर रुन थाल्छिन् ।
उनीहरूले निज किशोरीलाई करणीको प्रयाससमेत गर्छन् । तुरुन्तै किशोरी रुँदै होहल्ला गर्दै भागेर त्यहीँको कलौनी–लुम्बिनी मूल बाटोमा निस्किन्छिन् ।

किशोरी भागेर घर जान लाग्दा पुनः उनै व्यक्तिले फोन गरी ‘आउने भए आइज नत्र भोलि बिहान फेसबुक हेर्नू’ भनी तर्साएपछि जिउनु न मर्नुको अवस्थामा पुगेकी किशोरी एकान्त ठाउँमा रुँदै बसिरहेकी हुन्छिन् । त्यतिबेला घडीले रातको पौने ११ बजाइसकेको हुन्छ ।

यतिकैमा ती किशोरीको भेट इलाका प्रहरी कार्यालय सालझन्डीको प्रहरी टोलीसँग हुन्छ । तत्कालै उनले इन्स्पेक्टर मरासिनीलाई आफू ब्ल्याकमेलिङमा परेकाले आफूलाई बचाउन अनुरोध गर्छिन् । लगत्तै प्रहरी ती किशोरीलाई बलात्कार उद्योग गर्ने युवाहरूको खोजीमा लाग्छ ।

त्यतिबेलासम्म रातको करिब ११ बजिसकेको हुन्छ । त्यसपछि प्रहरीले अनुसन्धानको क्रममा भागिरहेका गैडहवा गाउँपालिकाका वर्ष १७ का एक किशोर र गैडहवा गाउँपालिक-९ वस्ने वर्ष २१ को जगन्नाथ मल्लाहलाई रातको १ बजे सैनामैना नगरपालिका-७ देउवापारबाट पक्राउ गर्न सफल हुन्छ ।

उनीहरूबाट ब्ल्याकमेलिङमा प्रयोग भएको रेडमी स्मार्टफोन र थ्रिल कम्पनीको १२ थान कन्डम इलाका प्रहरी कार्यालय सालझन्डीले बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई जबर्जस्ती करणी उद्योग कसुरअन्तर्गत म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मरासिनीले बताए ।

किन बढिरहेका छन् बलात्कारका घटना ?

बलात्कारका घटना न्यूनीकरणको प्रयास भइरहेको प्रहरी प्रवक्ता एवं नायव महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले बताए । प्रहरीले अवलम्बन गरिरहेको समुदाय-प्रहरी साझेदारी कार्यक्रमले पनि यस्ता विकृति न्यूनीकरण गर्ने प्रयास गरिरहेको उनको भनाइ छ । ‘मानवीय मूल्य र मान्यतासँगै नैतिकतामा पनि ह्रास आएकाले बलात्कारका घटना बढेको देखिन्छ’, उनले भने, ‘सामाजिक सञ्जालको बढ्दो दुरूपयोग पनि यसको कारक बनेको छ ।’ माथिको घटना पनि सामाजिक सञ्जालसँग जोडिएको उनले सुनाए ।

बलात्कारका घटना घर परिवारकै सदस्यसँग जोडिएको राई बताउँछन् । राईका अनुसार नेपालमा पछिल्लो समय जति बलात्कारका घटना भएका छन्, अधिकांशमा आफन्त र छिमेकीहरूको संलग्नता देखिएको उनको भनाइ छ । ‘बाहिरबाट आएर कसैले बलात्कार गर्छ भने त्यो सुरक्षा चुनौती हो तर छरछिमेक र आफन्तबाटै नाबालिकाहरू बलात्कारको सिकार हुने गरेका छन्, यसलाई कसरी सुरक्षा चुनौती भन्ने ?’, उनको प्रश्न छ ।

विकट गाउँमा गरिब र विपन्नहरू सबैभन्दा धेरै बलात्कारबाट पीडित भएका राई बताउँछन् । शहरमा भने पश्चिमा संस्कृतिको प्रभावका कारण बलात्कार धेरै हुने गरेको राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्