नारायणी यातायात कार्यालयबाट ४ जना बिचौलिया पक्राउ 



वीरगन्ज : नारायणी यातायात व्यवस्था कार्यालय पर्साबाट चार जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार प्रहरीले विशेष सुचनाको आधारमा यातायात कार्यालयमा छापामारी मकवानपुर हेटौडा ५ पिप्लेका समर्थन न्यौपाने, पर्साको विन्दवासनी गाउँपालिका ३ का इटियाहीका राजकुमार साह, सोहि गाउँपालिकाको मधुवन ४ का अमलेश प्रसाद साह र बारा प्रसौनी गाउँपालिका ३ नौतनका सत्रुहन साहलाई पक्राउ गरेको हो।

पक्राउ परेका चार जनाबाट ८२ हजार रुपैयाँ र सम्बन्धित कागजपत्रहरू फेला पारेको प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए।

यातायात कार्यालयमा आउने सेवाग्राहीसँग लाइसेन्स लगायत अन्य कामकाज छिटो छरितो गराइदिने आश्वासन दिँदै बिचौलियाको काम गरी सेवाग्राहीलाई ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शर्माले बताए।

पक्राउ परेको चारैजनालाई पर्सा प्रहरीको हिरासतमा राखेर थप अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्