४ वर्षका घटनाले भन्छ, हरेक दिन ६ जना बलात्कृत



काठमाडौं । कंचननपुर महेन्द्रनगरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको ४ वर्ष पूरा भएको छ। १० साउन २०७५ मा किशोरी पन्तको बलात्कारपछि हत्या भए पनि ११ गते घर नजिकै रहेको उखुबारीमा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो ।

पोस्टमार्टम रिपोर्टले पन्तको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको थियो। घटना भएको ४ वर्ष पूरा हुँदा पनि यस अपराधमा संलग्न अपराधी भने पत्ता लाग्न सकेको छैन ।

यस अवधिमा नेपाल प्रहरीले धेरै जनशक्ति र धनराशि खर्च पनि गरेको छ। तर पनि यस अपराधको गुत्थी केलाउन प्रहरी असफल नै भएको छ। पन्तको बलात्कारपछि हत्या भएको ४ वर्षको बीचमा ९ हजार १२८ वटा बलात्कारको घटना भएको नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ।

किशोरी पन्तको बलात्कार र हत्यापछि बलात्कार भएका अन्य घटनाको प्रहरी तथ्याङ्क हेर्ने हो भने झनै कहालीलाग्दो अवस्था छ। देशको शान्ति सुरक्षाको अवस्था विशेषगरी महिला सुरक्षाका सम्बन्धमा सुरक्षा निकायको भूमिकामाथि नै प्रश्न उठाउनुपर्ने अवस्था छ।

पछिल्लो समय मिडियामा लागातार बलात्कारका घटनाका खबरहरू आइरहेका हुन्छन् । प्रहरीको तथ्याङ्कले पनि झनै बलात्कारका घटनाहरू बढिरहेका देखाउँछ। प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार दैनिक कम्तीमा ६ जनासम्म महिला, किशोरी तथा बालिकाहरू बलात्कारपीडित बन्ने गरेका छन्। यो प्रहरीमा आएको तथ्याङ्क मात्र हो।

कतिपय घटना प्रहरीकहाँ नआई गुपचुप हुने गरेकाले यो तथ्याङ्क अझ बढ्न सक्ने आँकलन गर्न सकिन्छ । विगत ५ वर्षमा बलात्कारका घटनामा कुनै कमी नआएको नेपाल प्रहरीको तथ्याङ्कले समेत पुष्टि गर्छ। केही समययता बलात्कार मात्र भएका छैनन्, बलात्कृत हुनेको बर्बर हत्यासमेत भएका छ।

यस्ता घटना सार्वजनिक हुन थालेकाले बलात्कारीले पीडितको हत्या गर्न थालेको प्रहरीको अनुमान छ। विगतमा पीडितहरूले समाजको डरले बलात्कारका घटना लुकाउने गरेका थिए। पछिल्लो ४ वर्षको ‘डाटा’ केलाउने क्रममा नेपालभर बलात्कारको घटना ९ हजार १२८ वटा भएका छन्, जसमध्ये प्रहरीले कति घटनाको सफल अनुसन्धान गरेर टुङ्ग्याइसकेको पनि छ भने कतिपय अनुसन्धानकै क्रममा छन् ।

प्रहरी प्रधान कार्यालयले द नेपालटपलाई उपलब्ध गराएको विवरणअनुसार कुन आर्थिक वर्षमा कति बलात्कारका घटना भए र कति प्रहरी कार्यालयमा दर्ता भए ? केलाऔँ ।

आर्थिक वर्ष २०७५/०७६
किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको साउन महिनामा मात्र देशभरमा २०३ बलात्कारका घटना भएका थिए, जसमध्ये प्रहरीले आधाको मात्र अनुसन्धान सकेको छ भने बाँकी घटनामा अझै अनुसन्धान जारी छ।

प्रहरीका अनुसार त्यस आ.व.मा २ हजार २५४ वटा बलात्कारका घटना भएको थिए, जसमध्ये २ हजार २३० जनाविरुद्ध मुद्दा दर्ता भएर अदालती प्रक्रिया अघि बढेको थियो। पन्तको घटनापछि बलात्कारमा कमी हुने अपेक्षा गरिए पनि अवस्था उस्तै कहालीलाग्दो नै छ। त्यस आ.व.मा १० वर्षमुनिका २९८ जना बालिका बलात्कारको सिकार भएका थिए, जसमध्ये प्रदेश १ मा ७९, मधेस प्रदेशमा ३८, बाग्मती प्रदेशमा ४४, गण्डकीमा २२, लुम्बिनीमा ६०, कर्णालीमा ९, सुदूरपश्चिममा २१ र काठमाडौं उपत्यकामा २५ जना थिए ।

त्यस्तै, प्रहरीको तथ्याङ्कअनुसार ११ देखि १६ वर्षसम्मका ८८९, १७ देखि १८ वर्षसम्मका २३३, १९ देखि २५ वर्षसम्मका ३८३, २६ देखि ३५ वर्षसम्मका २६३, ३६ देखि ४५ वर्षसम्मका ९९, ४६ देखि ५९ वर्षसम्मका ७९ र ६० वर्षभन्दा माथिका १० जना बलात्कारको सिकार भएका प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०७६/०७७
आर्थिक वर्ष २०७६/०७७ मा पनि बलात्कारको घटनामा कमी आएको देखिँदैन। त्यस आ.व.मा २ हजार १६७ बलात्कारका घटना भएको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ, जसमध्ये २ हजार १४४ वटा मुद्दा दर्ता भएका थिए।

त्यस आ.व.मा १० वर्षमुनिका २७३ जना बालिका बलात्कारको सिकार भएका छन्, जसमध्ये प्रदेश १ मा ५१, मधेस प्रदेशमा ३२, बाग्मती प्रदेशमा ३६, गण्डकीमा २२, लुम्बिनीमा ६७, कर्णालीमा १३, सुदूरपश्चिममा ९ र काठमाडौं उपत्यकामा ४२ जना थिए ।

त्यस्तै, प्रहरीको तथ्याङ्कअनुसार ११ देखि १६ वर्षसम्मका ८०१, १७ देखि १८ वर्षसम्मका ३१९, १९ देखि २५ वर्षसम्मका ३९२, २६ देखि ३५ वर्षसम्मका २१७, ३६ देखि ४५ वर्षसम्मका ८८, ४६ देखि ५९ वर्षसम्मका ४९ र ६० वर्षभन्दा माथिका २५ जना बलात्कारको सिकार भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/०७८
पछिल्लो ४ आर्थिक वर्षको तथ्याङ्कअनुसार सबैभन्दा बढी आर्थिक वर्ष २०७७/०७८ मा बलात्कारका घटना भएका देखिन्छ । उक्त आर्थिक वर्षमा २ हजार ५५४ वटा बलात्कारका उजुरी प्रहरीमा दर्ता भएका छन् भने २ हजार ५३२ जनाविरुद्ध मुद्दा चलेको छ।

२०७७/०७८ मा १० वर्षमुनिका ३०५ जना बालिका बलात्कारको सिकार भएका छन्, जसमध्ये प्रदेश १ मा ७१, मधेस प्रदेशमा २५, बाग्मती प्रदेशमा ३९, गण्डकीमा ३१, लुम्बिनीमा ७१, कर्णालीमा २०, सुदूरपश्चिममा १७ र काठमाडौं उपत्यकामा ३० जना थिए।

त्यस्तै, १० वर्षमुनिका १ जना बालकसमेत बलात्कारको सिकार भएका छन्। त्यस्तै, ११ देखि १६ वर्षसम्मका १ हजार १६, १७ देखि १८ वर्षसम्मका ३४४, १९ देखि २५ वर्षसम्मका ४१६, २६ देखि ३५ वर्षसम्मका २७५, ३६ देखि ४५ वर्षसम्मका ९६, ४६ देखि ५९ वर्षसम्मका ६३ र ६० वर्षभन्दा माथिका ३८ जना बलात्कारको सिकार भएका प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

आर्थिक वर्ष २०७८/०७९
२०७८/०७९ मा १० वर्षमुनिका २४५ जना बालिका बलात्कारको सिकार भएका छन्, जसमध्ये प्रदेश १ मा ६१, मधेस प्रदेशमा १९, बाग्मती प्रदेशमा ३७, गण्डकीमा ३३, लुम्बिनीमा ४५, कर्णालीमा १३, सुदूरपश्चिममा ११ र काठमाडौं उपत्यकामा २६ जना थिए।

त्यस्तै, प्रहरीको तथ्याङ्कअनुसार ११ देखि १६ वर्षसम्मका ८६९, १७ देखि १८ वर्षसम्मका ३००, १९ देखि २५ वर्षसम्मका ३४५, २६ देखि ३५ वर्षसम्मका २१८, ३६ देखि ४५ वर्षसम्मका ९४, ४६ देखि ५९ वर्षसम्मका ५६ र ६० वर्षभन्दा माथिका २५ जना बलात्कारको सिकार भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

यस आर्थिक वर्षमा २ हजार १५३ वटा बलात्कारका घटना भएका प्रहरीको दाबी छ, जसमध्ये २ हजार १३८ जनाविरुद्ध मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यो विवरण २०७९ जेठ महिनासम्मको मात्र हो । बलात्कारका घटनाको ग्राफलाई हेर्ने हो भने हरेक वर्ष बढ्दो छ ।

धेरै पीडित १६ वर्षमुनिका
नेपाल प्रहरीको तथ्याङ्कअनुसार बलात्कारबाट सबैभन्दा पीडित उमेर समूह ११ वर्षदेखि १६ वर्षसम्मको छ। आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७८/०७९ को जेठसम्ममा मात्र यो उमेर समूहका ३ हजार ५७५ जना बालिका बलात्कृत भएका छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा ८८९ जना, आर्थिक वर्ष २०७६/०७७ मा ८०१ जना, आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी १ हजार १६ जना र आर्थिक वर्ष २०७८/०७९ को जेठसम्म ८६९ जना गरी ३ हजार ५७५ जना बालिका बलात्कृत भएका हुन् ।

आर्थिक वर्ष २०७८/०७९ को असार महिनाको तथ्याङ्क आउन बाँकी नै रहेकाले यस आर्थिक वर्षको तथ्याङ्कसमेत बढ्ने देखिन्छ । आर्थिक वर्ष २०७८/०७९ को जेठसम्म भएका २ हजार १५३ बलात्कारका घटनामध्ये ८६९ वटा घटना ११ वर्षदेखि १६ वर्ष उमेर समूहका छन् ।

किन बढिरहेको छ बलात्कार ?
नेपाल प्रहरी अपराध अनुसन्धानमा अन्तर्राष्ट्रिय रूपमै अब्बल मानिन्छ । देशका गृहमन्त्री पनि नेपाल प्रहरी अन्तर्राष्ट्रिय रूपमै अब्बल भएको दाबी गर्न चुक्दैनन् । तर, पछिल्ला बलात्कारका घटनामा प्रहरीको असफलता देखेर आमजनता भने गृहमन्त्रीको दाबी मान्न तयार छैनन् ।

यता, पछिल्लो समय विशेषगरी बालिका र किशोरीमाथि हुने गरेका बलात्कारका घटनाले डरलाग्दो रूप लिन थालेको प्रहरी अधिकृतहरू नै बताउँछन् । तर, कुनै केसहरूमा राजनीतिक दबाब आउने हुनाले अनुसन्धान फितलो बनाउनुपर्ने उनीहरूको निरीहता छ।

नेपालमा पछिल्लो समय जति बलात्कारका घटना भएका छन्, अधिकांशमा आफन्त र छिमेकीहरूको संलग्नता रहेको प्रहरीको दाबी छ। अधिकांश बलात्कारका घटनामा चिनजानका व्यक्ति संलग्न रहने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं नायव महानिरीक्षक (डीआईजी) टेकप्रसाद राई बताउँछन्।

पछिल्ला ४ वर्षको तथ्याङ्कले पनि बलात्कारको घटनामा चिनजानकै मानिसको संलग्नता बढी देखिन्छ। प्रवक्ता राईका अनुसार आफन्तबाट बढी सुरक्षित भइने विश्वास, घरभित्रका कुरा बाहिर नजाने भन्ने मानसिकता, आर्थिक प्रलोभनलगायतका कारणबाट बढीजसो घटना भएका पाइएको हो।

प्रहरीका अनुसार बलात्कार र बलात्कार प्रयाससम्बन्धी ८२ प्रतिशतभन्दा बढी अपराध आफन्त, नातेदार, छिमेकी तथा अन्य चिनेजानेकैबाट हुने गरेको छ, जसका कारण कतिपय केस प्रहरी अनुसन्धानमा नआई गुपचुप मिलाउने गरेको पनि देखिन्छ।

प्रहरी प्रवक्ता राईका अनुसार फौजदारी अपराध ढाकछोप गर्ने तथा प्रहरीमा उजुरी दिन रोक्नेलाई पक्राउ गरेर मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ। स्थानीय तहका न्यायिक समितिले पनि घटना मिलाउन खोजे संलग्नलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न देशभरका प्रहरी युनिटलाई परिपत्र गरेको छ।

कानुनमा के छ ?
कतिपयले हालै जारी गरिएको एसिड अपराधविरुद्धको कानुन जस्तै बलात्कारका घटनामा पनि कठोर सजायको व्यवस्था हुनुपर्ने माग उठाएका छन्। सामाजिक सञ्जालदेखि सडकसम्म बलात्कारीविरुद्ध कानुन कमजोर भएकाले फासीको माग नगरेका होइनन् । तर, नेपालमा भएका कानुन कडाइका साथ पालना गर्न भने धेरैको नजर पुगेको देखिँदैन।

भएका कानुनको पालना र तल्लो तहसम्म जनचेतना फैलाए बलात्कार र यसका प्रयाससम्बन्धी अपराध नियन्त्रणमा सघाउ पुग्ने प्रवक्ता राई बताउँछन् । मुलुकी अपराध संहिता, २०७४ मा जबर्जस्ती करणीसम्बन्धी अपराध गर्नेविरुद्ध कडा सजायको प्रावधान छ, जसमा कुनै पनि प्रकारको करकाप, प्रलोभन, धम्की, करणी गरेमा घटनाको प्रकृतिअनुसार सजायको व्यवस्था छ।

करणी कसुरमा उमेर र अवस्था तथा घटनाको प्रकृतिअनुसार ५ वर्षदेखि २० वर्षसम्म कैद सजाय हुन सक्छ । दोषीलाई सजाय माफी/मिनाह पनि हुँदैन। १० वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरेमा १६–२० वर्ष, १०–१४ वर्ष उमेर समूहका बालिकाको हकमा १४–१६ वर्ष, १४–१६ वर्ष उमेर समूहका बालिकाको हकमा १२–१४ वर्ष, १६ देखि १८ वर्षसम्मका बालिकाको हकमा १०–१२ वर्ष र १८ वर्षदेखि माथि उमेरका युवती र महिलाको हकमा १० वर्ष सजाय तोकिएको छ ।

यता, संहिताको दफा २१९ मा विवाहित श्रीमतीसँग करकापमा शारीरिक सम्पर्क राख्नसमेत नपाइने उल्लेख छ। करकारपमा सम्बन्ध राखे श्रीमान्लाई ५ वर्षसम्म कैद सजाय हुन सक्छ।

सामूहिक बलात्कारको अवस्था पनि डरलाग्दो
प्रहरी अधिकारीहरू पनि पहिलाको तुलनामा अहिले सामूहिक बलात्कारका घटनाहरू बढ्न थालेका बताउँछन्। यस्ता घटनाहरू प्रायः नशा (मदिरा/लागुऔषध सेवन)को बेलामा हुने गरेका पाइएको प्रवक्ता राई बताउँछन्।

गत असार दोस्रो साता सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेस्थित सुकुटे बिच एडभेन्चर क्याम्प रिसोर्टमा रमाइलो गर्न गएकी युवती सामूहिक बलात्कारको सिकार भइन्। त्यस्तै, गत १२ पुसमा राजधानी काठमाडौंमै ९ जना युवाहरूले गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रको एक गेस्ट हाउसमा लगेर एक महिलामाथि सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको थियो।

उनीहरूले ती महिलालाई २ दिनस्म्म होटलमा राखेर बलात्कार गरेका थिए। प्रहरीका अनुसार गोंगबु घटनामा पनि मदिरा सेवन गरेर सामूहिक बलात्कार भएको पाइएको थियो। त्यस्तै, सुकुटेमा भएको सामूहिक बलात्कार घटना पनि मदिरापछि भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्