तीन महिनादेखि अपडेट छैन सामान्य प्रशासन मन्त्रालयको वेबसाइट 



काठमाडौं : एक लाखको हाराहारीमा रहेका निजामती कर्मचारीको अभिलेख राख्ने संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको वेबसाइट तीन महिनादेखि अपडेट भएको छैन्। अहिलेको युग विज्ञान तथा प्रविधिको युग हो भनेर सरकारका मन्त्रीहरू नै भन्छन्।

विज्ञान प्रविधिको क्षेत्रलाई प्राथमिकता दिने सरकारी नीति तथा योजना पनि छ। तर, देशको मुख्य प्रशासनिक क्षेत्रको अवस्था दयनीय छ। एक लाखको हाराहारीमा रहेका निजामती कर्मचारीहरूकै अभिलेख मन्त्रालयको वेबसाइटमा छैन्। 

प्रवक्ता फेरिए, फेरिएन नाम

मन्त्रालयका सहसचिव तथा प्रवक्ता सुरेश अधिकारी प्रदेश–१ मा  प्रमुख सचिव भएर सरुवा भएको तीन महिना भयो। तर, मन्त्रालयको वेबसाइटमा भने अझै पनि प्रवक्तामा अधिकारीकै नाम र फोटो छ।

हाल भुपाल बराललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको छ। सबै मन्त्रालयले वेबसाइटमा प्रवक्ताहरूको नाम, फोन नम्बर राख्छ। तर, सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा प्रवक्ता परिवर्तन भएको तीन महिनासम्म अपडेट भएको छैन्। 

मन्त्रालयको धज्जी

ई–गभर्मेन्स र डिजिटल डेमोक्रेसीमा पिएचडी गरेका मुकुल शर्माले सरकारी वेबसाइट होर्डिङ बोर्ड जस्तो भएको बताए। सरकारले ईन्टरनेटको औचित्य नै थाहा पाउन नसकेको टिप्पणी उनले गरे।

निजामती कर्मचारीहरूको सरुवा गर्ने मन्त्रालयको रूपमा चिनिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइट हेर्दा सम्बन्धित निकाय कत्तिको जिम्मेवार छ, भन्ने सजिलै बुझ्न सकिन्छ। प्रविधिको द्रुत विकास भइरहँदा नेपालको मुख्य प्रशासनिक क्षेत्र भने अझै प्रविधिसँग भिजेको छैन्।

तर, अन्य देशहरूमा भइरहेका कामहरू पनि प्रत्यक्ष प्रसारण र अपडेट भइरहँदा समेत तीन महिनासम्म पनि सामान्य मन्त्रालयको साइट अपडेट नहुनुले प्रविधिको प्रयोग कसरी भइरहेको छ भन्ने छर्लङ्ङ देखिएको छ। 

फोन उठेन 

सामान्य प्रसाशन मन्त्रालयको वेबसाइटमा दिइएको फोन नम्बरमा सम्पर्क गर्दा फोन उठेन। देशकै प्रमुख प्रशासनिक केन्द्रको फोन नउठ्नु निकै गम्भीर विषय हो। यसरी मुख्य ठाउँकै फोन नउठ्दा सिंहदरबार बाहिरका सरकारी कार्यालयहरूको हालत के होला  सजिलै अनुमान लगाउन सकिन्छ। 

प्रतिक्रिया दिनुहोस्