मंकिपक्स : सतर्क रहन विज्ञको सुझाव



काठमाडौं । २५ जुलाई २०२२ मा अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले ३ हजार ४८७ जना मंकिपक्स सङ्क्रमित भएको जानकारी दिएको थियो । त्यसको २ दिनअघि मात्र विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो ।

डब्लूएचओले सावधानी र सतर्क गराउन गर्ने सबैभन्दा महत्वपूर्ण काम नै यो घोषणा हो । डब्लूएचओले यसअघि पोलियो र कोरोना भाइरसका कारण मात्र सङ्कटकालको घोषणा गरेको थियो । डब्लूएचओले सङ्कटकाल नै घोषणा गरे पनि नेपालमा आत्तिनुपर्ने अवस्था त छैन । नेपालमा अहिलेसम्म मंकिपक्सको सङ्क्रमण नदेखिए पनि सावधानी अपनाउन भने जरुरी छ । यसको मृत्युदर कम रहेका कारण धेरैले यसबारे चासो नदिए पनि सावधान हुनै पर्ने केही कारण छन् ।

यो रोग लागेको सुरुआती दिनमा ज्वरो आउने, टाउको दुख्ने, पसिना आउने, ढाड दुख्ने र मांसपेशी दुख्ने जस्ता समस्या आउने गर्छन् । ज्वरोपछि खटिरा पनि आउन थाल्छ । यस्तो खटिरा सुरुआती दिनमा अनुहारमा देखिन थाल्छ । बिस्तारै यो अन्यत्र पनि फैलन थाल्छ । यो हत्केलामा र पैतालामा धेरै देखिन सक्छ ।

यो खटिरा नरम र दुख्ने हुन्छ । पछि यो विभिन्न चरण पार गरेर ठिक भए पनि दाग बस्न सक्ने सम्भावना धेरै हुन्छ । सङ्क्रमण भने १४ देखि २१ दिनसम्म रहन्छ । सङ्क्रमित व्यक्तिको संसर्गका कारण यो भाइरस सर्न सक्छ । यो भाइरस यौन सम्पर्कबाट सरेको पुष्टि भइसकेको छैन । तथापि, सङ्क्रमित व्यक्तिलाई यौनसम्पर्क नगर्न चिकित्सकले सल्लाह दिएका छन् ।

धेरै ‘एलजीबीटीक्यू’मा यो रोगको सङ्क्रमण देखिन थालेपछि यो विषय धेरै अध्ययनको विषय भएको छ । ‘संसर्गबाट सर्ने भएपछि प्रोटोकलमा यौनसम्पर्क नगर्ने भनिएको छ’, जनस्वास्थ्यविद् डा. शेरबहादुर पुन भन्छन्, ‘सङ्क्रमित व्यक्तिको सास, थुक र प्रयोग गर्ने गरेको कपडा/ओछ्यानबाट समेत मंकिपक्स सर्न सक्छ ।

मंकिपक्सको भिन्न भ्याक्सिन तयार नभए पनि बिफरको भ्याक्सिन यसका लागि प्रभावकारी पुष्टि भइसकेको छ । एन्टिभाइरल ‘टिकोभिरामाट’लाई यस रोगमा प्रयोग गर्ने गरिएको छ । सामान्य व्यक्तिमा मृत्युदर कम भए पनि एचआईभी, रक्त क्यान्सर तथा अन्य कुनै पनि किसिमका क्यान्सर र ट्युमरको समस्या भएकामा यो सङ्क्रमण भएमा गम्भीर समस्या उत्पन्न हुन सक्ने बताइएको छ । साथै अङ्ग प्रत्यारोपण गरेकाहरूलाई धेरै सचेत हुन र बढी सावधानी अपनाउन भनिएको छ ।

डा. पुनकै भनाइमा प्रायले यसलाई गोप्य रूपमै राख्ने भएकाले कोही सङ्क्रमित भए पनि थाहा नभएको हुन सक्छ । निश्चित दिनपछि ठिक हुने भएकाले पनि थाहै नपाई यो रोग ठिक हुन सक्ने उनी बताउँछन् । उनका अनुसार अफ्रिकी महादेशबाहिर त्यति खराब अवस्था आएको छैन । ‘नगन्य मान्छेको ज्यान गएको तथा मृत्युदर कम भएका कारण आत्तिनुपर्ने अवस्था भने छैन । अफ्रिकामा र अन्यत्र भने फरक पनि हुन सक्छ,’ डा. पुनले भने ।

मंकिपक्सको उत्पत्ति भएको अफ्रिका महादेशबाहिर यस रोगबाट पहिलो मृत्यु हुने देश ब्राजिल र स्पेन छन् । ब्राजिलमा रक्त क्यान्सर भएका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ भने स्पेनमा २ जनाको ज्यान गइसकेको छ ।

ब्राजिलमा १ हजार २०० तथा स्पेनमा ४ हजार २०० भन्दा बढीमा सङ्क्रमण देखिएको छ । सबैभन्दा धेरै असर रहेको अफ्रिकामा यो सिजनमा ५ जनाको ज्यान गइसकेको छ । मंकिपक्स अन्तर्राष्ट्रिय क्षेत्रमा धेरै देखिएको यो नै पहिलो पटक भने होइन । यसअघि बेलायतमा सन् २०१८ र २०२१ मा धेरै मात्रामा मंकिपक्सका सङ्क्रमित भेटिएका थिए । अमेरिकामा सन् २०२१ मा अफ्रिकाबाट आएका मानिसबाट वा त्यहाँबाट ल्याइएका जनावरबाट मंकिपक्स सरेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्