सिन्धुपाल्चोकका अधिकांश फार्मेसी दर्ताविनै सञ्चालन



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका निजी मेडिकल तथा फार्मेसीहरू नियमअनुसार नचलेको पाइएको छ। प्रसासनको अनुगमनका क्रममा कतिपय फार्मेसी र मेडिकल त दर्ता र अनुमतिविनै सञ्चालन भइरहेको फेला परेका छन्। फार्मेसी सञ्चालकले औषधि पनि दाल चामल बेचे जसरी बेचिरहेको समेत फेला परेको छ। फार्मेसी पढेकाले मात्रै औषधि बेच्न पाउने भए पनि जोसुकैले बेचिरहेको समेत फेला परेको छ।

धेरैजसो निजी फार्मेसी र मेडिकल स्वास्थ्य संस्थामा काम गर्ने अहेब र अनमीले सञ्चालन गरे पनि उनीहरूले अरूलाई नै राख्ने गरेको पाइएको छ। मेलम्ची, चौतारा, खाडीचौर, बाह्रबिसे जस्ता मुख्य बजारमा समेत दर्ता नगरी र अर्काको अनुमतिपत्र भाडामा लिएर समेत औषधि पसल सञ्चालन भइरहेको पाइएको छ। यस्तो तथ्य फेला पर्दा समेत प्रसासनले कार्वाही नगरेको स्थानीयको आरोप छ। स्थानीय रिता सापकोटा भन्छिन्, ‘नियमविपरित सञ्चालनमा रहेका औषधि पसलहरू र अनुमतिपत्र भाडामा लगाउनेहरूलाई अनुगमनमा भेट्दा समेत प्रसासनले कारवाही गर्न सकेको छैन्।’

फार्मेसी व्यवसाय गर्ने व्यक्तिले नेपाल फार्मेसी परिषद्ले लिने लाइसेन्स परीक्षामा उत्तिर्ण गर्नुपर्छ। विनालाइसेन्स औषधि पसल सञ्चालन गरे औषधि ऐन ०३५ र नेपाल फार्मेसी परिषद् ऐन ०५७ ले गैरकानुनी ठहर गर्छ।

सिन्धुपाल्चोकका धेरैजसो फार्मेसीमा लाइसेन्सप्राप्त व्यक्ति नबसी आफन्त बस्ने गरेका छन्। जथाभावी वितरण हुने एन्टिबायोटिक र औषधिका कारण नागरिकको स्वास्थ्यमा खेलबाड भइरहे पनि स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकसँग कति निजी फार्मेसी र मेडिकल सञ्चालन छन् भन्ने यकिन तथ्याङ्क समेत छैन्।

स्थानीय तहका स्वास्थ्य शाखाले तथ्याङ्क सङ्कलन गरेका छैनन् भने कार्यालयले पनि खोजी नगरेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी सेवक नेपालले बताए। अवैधानिक मेडिकललाई आफूहरूले सचेत बनाउने काम गरेको नेपालको भनाइ छ।

बजार अनुगमन गर्दा हल्ला धेरै हुने तर कारबाही शून्यको अवस्था छ। मापदण्ड पूरा नगर्ने र अवैधानिक तवरले सञ्चालन गरिरहेका फार्मेसीले अनुगमन टोली पुगेको सूचना पाउने बित्तिकै सटर लगाएर भाग्ने गरेकाले यसलाई कडाइ गर्ने सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्