अपहरण गरेर १४ वर्ष जेल, छुटेपछि बलात्कार



काठमाडौं । अपहरण तथा ज्यान मार्ने मुद्दामा १४ वर्ष कैद भुक्तान गरेका दाङ तुलसीपुरका १ व्यक्तिलाई बलात्कारको आरोप लागेको छ।
नेकपा (माओवादी केन्द्र) तुलसीपुर उपमहानगर– ३ का वडा सचिव ३८ वर्षीय सुनिल भन्ने विष्णु शर्मालाई बलात्कार आरोप लागेको हो।

तुलसीपुर उपमहानगरपालिका– ३ घर भई हाल तुलसीपुर– ९ बेलुवा बस्दै आएका शर्मामाथि तनहुँको ब्यास नगरपालिका– २ निवासी २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले बताए ।

उनी अपहरण तथा ज्यान मार्ने मुद्दामा १४ वर्ष जेल जीवन बिताएर केही वर्षअघि मात्र कैदमुक्त भएका व्यक्ति हुन् । बलात्कार आरोप घटनाबारे थप अनुसन्धान भइरहको एसपी काफ्लेले बताए ।

के थियो घटना ?
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार बाँके कारागारको थुनामा रहेका नासिर खानले ती युवतीलाई तनहुँबाट बाँके बोलाएर पुनः तुलसीपुर पठाएका थिए । तुलसीपुरमा सुनिल उर्फ विष्णुलाई भेट्न पठाएपछि उनी त्यहाँबाट भेट्न तुलसीपुर गइन् ।

तुलसीपुर गएपछि विष्णुले तुलसीपुर– ५ स्थित कालीमाटी होटल एन्ड लजमा राखी बलात्कार गरेको प्रहरीले बताएको छ । ती युवतीले इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी दिएकी छन् । तर, विष्णु हाल फरार छन् ।

विष्णुले स्थानीय नेता भएका कारण आफूले प्रहरीलाई चिनेको भन्दै प्रेमीलाई छुटाइदिन्छु भनेर होटलमा लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनका प्रेमी चितवन कारागारमा बन्दी जीवन बिताइरहेका छन् । लागुऔषध मुद्दामा दोषी ठहर भएपछि बन्दी जीवन बिताइरहेका उनका प्रेमी सुमन शाही ठकुरीलाई छुटाउनका लागि ती युवतीले दौडधुप गरेकी हुन् ।

बाँके कारागारमा रहेका नासिर खान र सुमन शाही ठकुरी वीरगञ्ज कारागारमा सँगै बसेका थिए । ती युवतीलाई नासिर खानसँग प्रेमी ठकुरीले चिनजान गराइदिएका हुन् । चिनजानपछि युवती र नासिरको बेलाबेला फोन सम्पर्क हुन्थ्यो।

त्यहीबीचमा १० साउनमा नासिरले युवतीलाई नेपालगञ्ज बोलाएका थिए। प्रेमी छुट्ने आशमै उनी नेपालगञ्ज पुगिन्। जुन दिन नासिरले बोलाएका थिए, त्यही दिन तनहुँबाट हिँडेकी उनी रातको समयमा नेपालगञ्ज पुगिन्। त्यस दिन एउटा होटलमा बास बसेपछि ११ गते नासिरलाई भेट्न कारागार गइन्।

नासिरले भारत उत्तराखण्डका जमिल अहमदको आधार कार्ड उपलब्ध गराएर तुलसीपुरमा रहेका विष्णु शर्मा उर्फ सुनिललाई भेट्न पठाए। उनले भनेका थिए, ‘एक जना साथी दाङमा छ, त्यसले सबै काम गर्छ’, युवतीको बयानलाई उद्धृत गर्दै प्रहरी भन्छ।

नासिरले पहिले नै युवतीको नम्बर पठाएकाले केही समयपछि तुलसीपुरका विष्णुले ती युवतीलाई फोन गर्छन् । फोनपछि युवती अपराह्न ४ बजे नेपालगञ्जबाट तुलसीपुरका लागि हिँडिन्। त्यस दिन राति ९ बजेतिर बसपार्क पुगिन् उनी । बसपार्कमा विष्णुले उनलाई ‘रिसिभ’ गरेर होटलमा राखे।

विष्णुले युवतीलाई आफू इलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी भएको भनी भ्रममा पारेर प्रेमीलाई छुटाइदिने आश्वासन पनि दिए। त्यसपछि त्यस दिन उनीहरूबीच सम्पर्क हुँदैन । अर्को दिन १२ साउनमा विष्णुले युवतीलाई अघिल्लो दिन बसेको भन्दा फरक होटलमा लगे । त्यहाँ लग्नुभन्दा पहिले विष्णुले भारतका जमिल अहमदको नाममा फर्जी बस टिकट बनाएका थिए ।

जमिलको आधार कार्ड बाँके कारागारमा रहेका नासिरले ती युवतीलाई उपलब्ध गराएका थिए भने विष्णुले जमिल तुलसीपुर आएको भनी एउटा फर्जी बस टिकट पनि बनाएको देख्दा युवती आश्चर्यमा परिन् । होटलमा पनि विष्णुले आफ्नो नाम जमिल अहमद नै ‘इन्ट्री’ गराए।

त्यसपछि साँझको खाना खाएपछि विष्णुले जबर्जस्ती करणी गर्न खोजे । तर, युवतीले प्रतिकार गर्न थालेपछि विष्णुले जमिललाई जबर्जस्ती करणी मुद्दामा फसाएपछि मात्र कारागारमा रहेको प्रेमीलाई छुटाउन सहज हुने भन्दै त्यसका लागि स्वास्थ्य रिपोर्टमा बलात्कार भएको देखाउन यस्तो गर्न लागेको भनी भ्रममा पारे ।

उनले रातभर जबर्जस्ती करणी गरेपछि शुक्रबार (आफैँ) जमिललाई बलात्कार मुद्दामा किटानी जाहेर दिन इलाका प्रहरी कार्यालय तुलसीपुर पुगे। त्यहाँ पुग्दा इन्स्पेक्टर शाही कार्यालयमा थिए।

जमिलविरुद्ध जबर्जस्ती करणीको किटानी जाहेरी दिने र त्यसको साक्षी आफू बस्ने भनेपछि शाहीले ती युवतीमाथि सोधपुछ गर्न थाले। सोधपुछका क्रममा युवतीले सबै कुरा भन्न थालेपछि विष्णु बाहिर निस्केर सम्पर्कविहीन भए।

यहीबीचमा पनि उनले प्रहरी, राजनीतिक दलका नेतासँग पनि आफूलाई फसाउन खोजिएको भन्दै दबाब दिन लगाए। युवतीले सबै बयान दिएपछि अहिले विष्णुविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता भएको छ। तर, उनी फरार छन्। उनको खोजी भइरहेको निरीक्षक शाहीले बताए।

प्रतिक्रिया दिनुहोस्