केन्याको लागूऔषध गिरोहमा नेपाली युवती



काठमाडौं : केन्याको एक संगठित र ठूलो लागूऔषध माफियाको गिरोहमा एक नेपाली युवतीसमेत संलग्न रहेको खुलेको छ । भारतीय मूलका विवादास्पद व्यापारी अली पुन्जानीको गिरोहमा नेपाली युवती सुस्मिता कार्कीको संलग्नता खुलेपछि उनीमाथि केन्या प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

मोम्बासा सहरमा रहेको पुन्जानीको घरबाट गत १३ अगस्टमा कार्कीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो । पर्याप्त प्रमाण नभएको भन्दै अदालतको आदेशमा उनी दुई दिनपछि छुटेकी छिन् । थप अनुसन्धान गरी उनीमाथि मुद्दा दायर हुने केन्या प्रहरीलाई उद्धृत गर्दै यहाँका सञ्चारमाध्यमले जनाएका छन् । पक्राउ परेपछि कार्कीले आफू पुन्जानीको श्रीमती भएको बताएकी छिन् । उनको घरबाट नेपाली युवक शिव बस्याल र भारतीय नागरिक राम मनोजसमेत पक्राउ परेका थिए । बस्याल र मनोज घरेलु कामदार हुन् । उनीहरू तीनैजना अदालतको आदेशमा छुटेका छन् । 

भारतीय मूलका व्यापारी पुञ्जानी फरार

केन्याको दोस्रो ठूलो सहर मोम्बासामा बस्दै आएका भारतीय मूलका व्यापारी पुञ्जानी हाल फरार छन् । लागुऔषध मुद्दामा केन्या प्रहरीले उनीमाथि वारेन्ट जारी गरिसकेको छ । उनीमाथि पहिलेदेखि नै अवैध गतिविधिमा संलग्न भएको आरोप लाग्दै आए पनि अहिलेसम्म लागुऔषध तस्करीको मुद्दा दायर भएको छैन । उनको अवैध धन्दामा राजनीतिक तथा प्रहरीको संरक्षण रहेको भन्दै कारबाहीका लागि यहाँको संसद्मा माग भएको थियो । 

केन्याको उच्च तहसँगको पहुँचका आधारमा उनले उन्मुक्ति पाउँदै आएको केन्याका सञ्चारमाध्यमले जनाएका छन् । उनका सहयोगीहरू पटक–पटक ठूलो मात्रामा कोकिन र हेरोइनसहित पक्राउ पर्दै आएका छन् । 

गत १३ अगस्तमा १२ घन्टा लगाएर प्रहरीले पुञ्जानीको घरमा छापा मारेको थियो । उनको घरमा ठूलो मात्रामा लागुऔषध रहेको आशंका छापा मारिएको थियो । तर, थोरै गाँजा मात्र भेटिएको थियो । तस्करीमा सघाएको आरोपमा कार्कीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएर अदालतमा पेस गरेकोमा लागुऔषध बरामद नभएपछि उनीहरू छुटेका हुन् । 

लागुऔषध कारोबारविरुद्ध केन्या सरकारले थालेको अभियानअन्तर्गत उनको घरमा छापा हानिएको थियो । तर, पुञ्जानीले प्रहरीबाट त्यसबारे पहिले नै सूचना पाएको र भारतमा भागेको केन्याका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सोही अभियोगमा मोम्बासाका केही उच्च प्रहरी अधिकारीको सरुवा गर्न लागिएको छ । मोम्बासा सहरकै सबैभन्दा धनाढ्यका रूपमा चिनिएका उनीमाथि नक्कली नोट कारोबारको आरोपसमेत लाग्दै आएको छ । 

पुञ्जानीको गिरोहमा कसरी पुगिन् नेपाली युवती ?

पुञ्जानीको गिरोहमा नेपाली युवती कसरी जोडिइन् भन्ने प्रस्ट हुन सकेको छैन । केन्याका एक गैरआवासीय नेपालीका अनुसार पुञ्जानी नेपाल गएका वेला मन पराएर उनले कार्कीलाई ल्याएको चर्चा छ । उनी डिपेन्डेन्ट भिसामा केन्यामा बस्दै आएकी छिन् । २४ वर्षीया कार्की पुञ्जानीकी तेस्री श्रीमती भएको चर्चा पनि छ । यसअघि पुञ्जानीले किम शर्मा नामक भारतीय अभिनेत्रीसँग बिहे गरेका थिए । 

आफ्नो पहुँच प्रयोग गरेर नै पुञ्जानीले कार्कीलगायतलाई छुटाएको आशंका गरिएको छ । प्रमाण संकलनका लागि समय नै नदिई अदालतले उनीहरूलाई छाडेको भन्दै यो प्रकरण विवादमा समेत तानिएको छ । छुटेलगत्तै उनीहरूलाई फेरि पक्राउ गर्न प्रहरी पुगे पनि उनीहरू असफल भएका थिए । थप अनुसन्धान गरी उनीहरूविरुद्ध मुद्दा चलाइने अनुसन्धान अधिकृतले बताएका छन् ।

पुञ्जानी अमेरिकामा समेत ‘वान्टेड’ व्यक्ति हुन् । अमेरिकामा बरामद भएको हेरोइन उनले पठाएको खुलेपछि चार वर्षअघि उनीविरुद्ध वारेन्ट जारी भएको हो । केन्यामा उनी निकै प्रभावशाली व्यक्ति हुन् । यहाँको राष्ट्रपति चुनावमा आफूनिकट व्यक्तिलाई जिताउन उनले करोडौँ लगानी गर्छन् । राजनीतिक तथा प्रहरी नेतृत्वसँग निकटतम सम्बन्ध भएकाले उनले संरक्षण पाउँदै आएका छन् । सन् २०१३ मा प्रहरीलाई उनले १० वटा भ्यान उपहार दिएका थिए । ती भ्यानमै लागुऔषध तस्करी हुने गरेको आरोप लागेको थियो । प्रहरीलाई प्रभावमा पारेकाले नै उनको बंगलाको सुरक्षामा एक दर्जनभन्दा बढी प्रहरी खटिएका थिए । 

गत वर्ष नेपाली युवतीहरू काम गर्ने केन्याका डान्स बारमा उनकै निर्देशनमा छापा हानिएको केन्याको डेली नेसन पत्रिकाले लेखेको छ । उसका अनुसार नेपाली युवतीहरू कार्यरत डान्स बारमा धेरै व्यापार भएपछि पुञ्जानीनिकट व्यवसायीहरूको डान्स बारको व्यापार खस्किएको थियो । सोही कारण उनले स्थानीय प्रहरीलाई प्रभावमा पारी छापा हान्न लगाएका थिए । त्यसवेला सातजना नेपाली युवती पक्राउ परेका थिए । पुञ्जानीलगायत विभिन्न माफिया समूहले चलाएका डान्स बारमा नेपाली युवतीको तस्करी हुने गरेको छ । पुञ्जानीले लागुऔषध ओसार–पसारमा पनि केही नेपालीलाई समेत प्रयोग गरेको आशंका गरिएको छ । नयाँपत्रिका दैनकबाट साभार

प्रतिक्रिया दिनुहोस्