भक्तपुर । भक्तपुरको सूर्यविनायक गणेश मन्दिर परिसरमा प्रत्येक हप्ताको मंगलबार निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षण शिविर सञ्चालन गरिने भएको छ।
क्लिनिक वान भक्तपुर र सूर्यविनायक युथ क्लबको संयुक्त आयोजनामा शिविर सञ्चालन गर्ने भएको हो। मन्दिरमा प्रत्येक मंगलबार भक्तजनहरूको भीड लाग्छ। यही अवस्थालाई मध्यनजर गरी शिविर सञ्चालन गर्न लागेको हो।
भक्तजनहरूको चाप बढी हुने समयमा सञ्चालन गर्ने योजना गरिएको शिविर परीक्षणस्वरुप २४ साउन बिहान ८ देखि १० बजेसम्म २ घन्टा सञ्चालन गरिएको क्लिनिक वान भक्तपुरका प्रबन्ध निर्देशक सन्तोष पौडेलले जानकारी गराए।
पहिलोपटक मंगलबार सञ्चालित शिविरको सूर्यविनायक नगरपालिका-८ का वडाध्यक्ष पुष्पराज बस्नेत तथा सूर्यविनायक युथ क्लबका अध्यक्ष मजोज गिरीले रक्तचाप तथा रगत परीक्षण गराई शुभारम्भ गरिएको थियो। शिबिरमा विभिन्न उमेर समूहका ४० स्थानीयहरुले स्वास्थ्य परीक्षण गराएका थिए।