‘इन्साअल्ला’को निर्माण स्थगित



एजेन्सी : सन् २०२० को इदमा रिलिज हुने भनिएको नायक सलमान खान र नायिका आलिया भट्टको चलचित्र ‘इन्साअल्ला’ प्रोजेक्टलाई निर्माणपक्षले स्थगित गरेको बताएको छ। सन् २०२० मा अब सलमानको चलचित्र ‘किक २’ रिलिज हुने बताइएको छ। भन्साली प्रोडक्शनले भारतीय मिडियामा बताएअनुसार, ‘इन्साअल्ला’को कामलाई स्थगित गरिएको छ र चाडै नै नयाँ प्रोजेक्टको घोषणा गरिनेछ।

योसँगै लामो समयदेखि चर्चामा रहेको यो चलचित्र किन स्थगित भयो भन्ने चर्चा सुरु भएको छ। केही भारतीय मिडियाले कलाकारहरुको उच्च पारिश्रमिक डिमाण्डका कारण पनि तत्काल चलचित्र बनाउन नसक्ने अवस्था आएको उल्लेख गरेका छन्। संजयलिला आफ्ना कलाकारहरुलाई प्रेम गर्छन् र उनीहरुको सुझावलाई ग्रहण गर्छन्।

तर, उनीहरुको हस्तक्षेप मन नपराउने भएका कारण पनि यो चलचित्र तत्काल नबन्ने अवस्था आएको बताइएको छ। संजयलिला र सलमानको यो प्रोजेक्ट स्थगित भएपनि उनीहरु मिल्ने साथी रहेको भारतीय मिडियाले उल्लेख गरेका छन्। अब, सन् २०२० को इदमा सलमान खानको चलचित्र ‘किक २’ र नायक अक्षय कुमारको चलचित्र ‘लक्ष्मी बम्ब’को भिडन्त हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्