डुम्रेधारापानीमा दूधकोशीको पानी निकाल्ने काम तीव्रगतिमा



खोटाङ : सुक्खाग्रस्त क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा दूधकोशीको पानी निकाल्न सुरु गरिएको ‘लिफ्टिङ’ प्रविधिको खानेपानी आयोजनाको काम तीव्रगतिमा भइरहेको छ।गत असार २२ गतेबाट सुरु गरिएको दूधकोशी खानेपानी लिफ्टिङ आयोजनाको काम डेढ महिनामै करीब २० प्रतिशत काम पूरा भएको ठेकेदार प्रकाश नाछिरिङले बताए।

डुम्रेधारापानीको कोटगढीमा एक लाख ५० हजार घनमिटर क्षमताको मुख्य ट्याङ्की निर्माणको काम पूरा भइसकेको जनाइएको छ। यस्तै, दूधकोशी र कोटगढीको बीचमा निर्माण गर्नुपर्ने ७० हजार लिटर क्षमताको तीनवटा ‘सप्लाइ’ ट्याङ्कीमध्ये एक वटाको पीसीसी ढलान सकिएको ठेकेदार नाछिरिङले बताए।

पिउने पानीको चरम अभावका कारण डुम्रेधारापानीमा वर्षेनी बसाइँ÷सराइ बढेपछि तीन किलोमिटर तल रहेको दूधकोशीको पानी निकाल्ने योजना सुरु गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताए। गाउँमै पिउने पानीको व्यवस्था गर्दै क्रमिकरूपमा बढ्दै गएको बसाइँ÷सराइ रोक्न प्रदेश सरकारको रु नौ करोड ११ लाख छ हजार लगानीमा आयोजनाको काम सुरु गरिएको हो। 

तीन वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ काम थालिएको लिफ्टिङ योजना गत असारमा कोटगढीमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य राजन राईले शिलान्यास गरेका हुन्। दूधकोशीको पानीलाई पहिलो रिजर्भ ट्याङ्की हुँदै डुम्रेधारापानीको कोटगढीमा निकालेर २५६ घरमा वितरण गर्ने लक्ष्य राखिएको छ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिकास्थित डुम्रेधारापानीमा लामो समयदेखि पिउने पानीको चरम अभाव छ। पानी अभावका कारण यसवर्ष मात्रै १६ घरका स्थानीयवासी बसाइँ सरेको गाउँपालिका अध्यक्ष निरौलाले बताए। धारापानीको नामले परिचित डुम्रेधारापानीमा गाउँ नजिक पानीको स्रोत नहुँदा सबैभन्दा बढी घरपालुवा गाई÷भैँसी तथा अन्य पशुपक्षीलाई बढी समस्या भएको छ। 

प्रतिक्रिया दिनुहोस्