१० भदौदेखि निर्वाचनलक्षित देशव्यापी अभियान सञ्चालन गर्ने



काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गतेलाई तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित जनलहर सिर्जना गर्ने १५ दिने संगठन सुदृढिकरण अभियान सञ्चालन गर्ने भएको छ ।

शनिबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भदौ १० गतेदेखि २४ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिएका छन् ।

यसअघि स्थानीय तहको सम्मुखमा कांग्रेसले घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान सञ्चालन गरेको थियो, त्यस्तै प्रकृतिको अभियान फेरि सञ्चालन गर्ने निर्णय भएको उनले बताए । यसअघि भदौ २ देखि २४ गतेसम्म सञ्चालन गर्नेभन्ने केन्द्रीय समिति बैठकको तयारी भएपनि प्राविधिक कारणवश त्यसलाई स्थगित गरेर १० देखि २४ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।

बैठकले अभियानका लागि केन्द्रीय समितिबाट प्रतिनिधि तोक्ने समेत निर्णय गरेको छ । तर, कुन जिल्लामा कसलाई पठाउने भन्ने टुंगिएको छ ।

शनिबारको बैठकले आगामी निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ऐनबमोजिम दर्ता गर्ने निर्णय गरेको छ । बैठकले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई आयोगमा दल दर्ता गर्ने जिम्मेवारी दिएको छ ।

उनका अनुसार बैठकका साउन ३० र ३१ गते काठमाडौंमा गर्ने तयारी भएको स्थानीय तहका जनप्रतिनिधिहरुको राष्ट्रिय भेलाको तयारीका विषयमा समेत छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्