अर्जुननरसिंह केसी भन्छन् : पार्टीभित्र टिकट वितरणमा मनपरि नहोस्



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा न्यायोचित टिकट वितरण गर्न संस्थापक पक्षको ध्यानाकर्षण गराएका छन् ।

शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले दलभित्रको विविधतालाई बुझेर न्यायोचित टिकट वितरण गर्न आग्रह गरेका हुन् ।

केन्द्रीय सदस्य केसीले गठबन्धनमा मात्रै नभइ अहिले पार्टी भित्र पनि विविधता रहेको भन्दै संस्थापक पक्षले न्यायोचित रुपमा टिकट वितरण गर्ने विश्वास राखेको बताएका छन् । उनले एकातिर मापदण्ड र अर्कोतिर मन परेको व्यक्तिलाई टिकट वितरण नगर्न संस्थापक पक्षलाई आग्रह गरेका छन् । उनले यदि संस्थापक पक्षले मनपरि गरेर टिकट दिन थाले त्यसको परिणाम गम्भीर हुने चेतावनी दिएका छन् ।

केन्द्रीय सदस्य केसीले गठबन्धनका दलहरुले पनि गठबन्धन बाहिरका दलहरुसँग तालमेल गर्ने भन्ने कुरा नियम विपरीत हुने भएकोले यसबारेमा छलफल गर्नुपर्ने बताए ।

उनले गठबन्धनलाई सही बाटोमा लैजानका लागि र संविधानसम्मत अघि बढाउन जनतालाई र कार्यकर्तालाई केको आधारमा र कसरी गठबन्धनका दलबीच सिट बाँडफाँट भयो भन्ने कुरा स्पष्ट हुनुपर्ने बताएका छन् । केन्द्रीय सदस्य केसीले मनपरि टिकट वितरणले गठबन्धनको लक्ष्य पूरा नहुने र चुनावको परिणाममा पनि असर गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्